मछिन्द्र नयाँ शक्तिको रूपमा उदाउँदा च्यासल र बीबीसीको हैसियत गुम्यो

डिसी नेपाल
१५ फागुन २०७८ १२:५७
48
Shares

काठमाडौं। मछिन्द्र फुटबल क्लबले आफ्नो ११औं खेलको क्लिन सिट गुमाउँदा विभागीय एपीएफ फुटबल क्लबसँग २-१ अन्तरले विजयी रहँदै सहिद स्मारक ‘ए’ डिभिजन लिग-२०७८ को उपाधि चुम्यो। १३ खेलमा अपराजित रहँदै उपाधि जित्दा मछिन्द्र नेपाली फुटबलको उदाउँदो शक्तिको रुपमा अगाडि आयो।

अन्तिम खेलमा निकै नै दबाबका बीच एपीएफविरुद्ध जित निकालेको मछिन्द्रले दोस्रो स्थानको त्रिभुवन आर्मी फुटबल क्लबभन्दा नौ अंकले अग्रता बनायो । लगातार ११ खेलको ‘क्लिन सिट’ गुमाएको मछिन्द्रले लगातार शीर्ष डिभिजनमा आफ्नो हैसियत प्रस्ट पार्‍याे।

आधा दर्जनभन्दा बढी राष्ट्रिय टोलीका नियमित सदस्य अनुबन्धन गरेको मछिन्द्रले आफू नेपाली फुटबलको नयाँ शक्ति रहेको जनायो। अपराजित यात्रा कायम रहँदा मछिन्द्रको प्रदर्शनसमेत अन्य टोलीको तुलनामा उच्च रह्यो । १३ खेलमा ११ जित र २ बराबर गरेको मछिन्द्रले शीर्षस्थानमा ३२ अंक जोड्यो।

अन्तिम खेलमा मनाङ मर्स्याङ्दी क्लबविरुद्ध १-१ गाेल अन्तरको बराबरी खेल्दै आर्मी दोस्रो स्थानमा रहन सफल भयो। गत वर्ष-२०७६ मा समेत अन्तिम खेलमा आएर विजेता बन्नबाट चुकेको आर्मी यस सिजनमा समेत अन्तिम खेलमा आएर उपविजेता बन्यो । आर्मीले १३ खेलमा पाँच जित, आठ बराबरीसहित २३ अंक जोड्यो र हेड टू हेडमा एनआरटी फुटबल टिमलाई पछाडि पार्‍याे।

अन्तिम खेलमा विदेशी खेलाडी मेसोउके ओलोमोउको ह्याटिक प्रेरित एनआरटीले नेपाल पुलिस क्लबलाई ३-१ अन्तरले पराजित गरे पनि आर्मीसँग १-० ले पराजित हुँदाको घाटा तेस्रो स्थानमा चित्त बुझाउनु पर्‍याे।

यता, ‘जायन्ट क्लियर’ को रुपमा चिनिएको नवप्रवेशी सातदोबाटोले आशालाग्दो प्रदर्शनसँगै शीर्ष डिभिजन लिगमा आफ्नो बलियो उपस्थिति जनायो । उनले मनाङ, पुलिस र थ्री स्टार क्लब जस्ता बलियो टिमलाई पराजित गर्‍याे । ६ जित, तीन बराबर र चार हार व्यहोर्दै चौथो स्थानमा रहँदै सुखद् अन्त्य गर्‍याे । सातदोबाटो लिगको ‘फेयर प्ले टिम’समेत घोषित भयो ।

यता, मनाङ भने पछिल्लो समय पहिलेको मनाङ रहेन । खराब प्रदर्शन गर्दै पछिल्लो दशक मनाङको स्वरुप पहिले जस्तो नरहेको जनायो । कीर्तिमानी आठौं पटक लिगको उपाधि जितेको मनाङले यस सिजन छ जित, तीन बराबरी र चार खेलमा हार बेहोर्दा २१ अंकसहित पाँचौ स्थानमा लिग टुंग्यायो ।

यता, थ्री स्टार र संकटासमेत खराब स्थितिमा रहे । दुबै टोलीले सोचअनुसार प्रदर्शन गर्न सकेनन् । थ्री स्टार क्लब १९ अंकसहित छैटौं स्थानमा रह्यो भने १६ अंकको संकटा क्लब सातौँ स्थानमा चित्त बुझायो ।

यता, पाँचौं चरणसम्म रेलिगेसन क्षेत्रमा रहेको एपीएफ अन्तिम खेलसम्म लगातार संघर्ष गर्दै आठौं स्थानमा लिग टुंग्यायो । यता, जावलाखेल युथ क्लबसमेत सुधारिएको प्रदर्शन गर्दा नवौं स्थानमा रह्यो । हिमालयन शेर्पाले सन्तुलित प्रदर्शन गर्दा १० औं स्थानमा बनायो । यता, राष्ट्रिय टोलीका सदस्यसमेत रहेको पुलिसले समेत आफ्नो खराब प्रदर्शनलाई निरन्तरता दियो ।

उसले दुई मात्र जित दर्ता गराउँदा ६ बराबर र पाँच खेलमा हार व्यहाेर्‍याे र ११औं स्थानमा चित्त बुझायो । आधुनिक फुटबलको लिगमा ह्याट्रिक उपाधि चुमेको पुलिस यस सिजन भने आफ्नो स्तर अनुसारको प्रदर्शन दिन असक्षम देखियो । फ्रेन्डस् भने निकै संघर्ष गर्दै ए डिभिजन लिगको हैसियत कायम राख्यो । ११ अंक बनाएको फ्रेन्ड्स १२औं स्थानमा रह्यो ।

यता, अखिल नेपाल फुटबल संघ (एन्फा)को नियमअनुसार च्यासल युथ क्लब र ब्रिगेड ब्वाइज क्लब (बीबीसी) दोस्रो डिभिजनमा घटुवा भए । यस सिजन सुरुवातबाटै लय समात्न नसकेको दुबै क्लबले शीर्ष डिभिजनका हैसियत गुमाए । अब, दुबै टोलीले आगामी वर्ष ‘बी’ डिभजिन लिग खेल्नुपर्नेछ । च्यासल ६ अंकसहित पुछारमा रह्यो भने बीबीसी आठ अंकसहित १३औं स्थानमा रह्यो ।

सिंगल राउण्ड रोबिनको आधारमा भएको लिगमा कूल ९१ खेल भएका थिए । जहाँ १९० गोल हुँदा औसत दुई दशमलब ०८ गोल भए । लिगमा तीन ह्याट्रिक हुँदा सबै ह्याट्रिक विदेशी खेलाडीको नाममा रह्यो । सातदोबोटोका अजयी मार्टिन्स, मनाङका आफिज ओलावाले र एनआरटीका मेसुओके ओलेमोउले ह्याटिङ पुरा गरे ।

समान सात गोल पुर्‍याएपछि मेसुओकेलाई पछि पार्दै फ्रेन्ड्सका जामोउल एन्थोनी फ्रान्कोइस् लिगको कम खेल खेलेका कारण सर्वाधिक गोलकर्ता चुनिए । यस्तै ११ क्लिन सिट राखेका मछिन्द्रका गोलरक्षक विशाल श्रेष्ठले उत्कृष्ट गोलरक्षक प्राप्त गर्दा प्रतियोगिताकै सर्वाेत्कृष्ट खेलाडी मछिन्द्रकै सुनील बल घोषित भए । प्रतियोगिताको राईजिङ प्लेयर भने आर्मीका दिनेश राजवंशी चुनिए ।

मछिन्द्र फुटबल क्लबका प्रशिक्षक प्रवेश कटुवालले लगातार उपाधि जितेपछि सहज उपाधिको रुपमा लिए । ‘लिगको सुरुवातदेखि सात खेलसम्म हामीलाई केही गाह्रो भयो । तर, नवौं खेलपछि सहज हुँदै गयो । खेल जित्दै गएपछि विपक्षीसँग दूरी बढाउँदै गयौं र सहज रुपमा लिग जित्याैँ ।’ लगातार शीर्ष डिभिजन लिग उपाधि र मछिन्द्रलाई पहिलो पटक एएफसी कपमा छनोट गराएका कटुवालले भने ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *