रुस र युक्रेनबीच वार्ता सुरु, युक्रेनी राष्ट्रपतिले रुसी सैनिकलाई ‘ज्यान बचाएर जाऊ’ भने
काठमाडौं। ५ दिनदेखि जारी रुस र युक्रेनको युद्धका बीच आजदेखि दुई देशबीच वार्ता सुरु भएको छ । युक्रेनको सीमा नजिकै बेलारुसमा रुस र युक्रेनबीच वार्ता सुरु भएको हो । रुस र युक्रेनको प्रतिनिधिमण्डल वार्ताका लागि बेलारुस पुगेका हुन् । युक्रेनको राष्ट्रपति कार्यालयका अनुसार रुससँग उसको वार्ताको मुख्य लक्ष्य तत्काल युद्धविराम र रुसी सैनिक फिर्ता पठाउनु हो ।
वार्ता सुरु हुनुभन्दा पहिले युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले आफ्नो ट्वीटर ह्याण्डलबाट केही ट्वीट गरेका छन् । उनले ट्वीटमा रुसी सैनिकहरुलाई आफ्नो ज्यान बचाएर फर्केर जान भनेका छन् । उनले अगाडि लेखेका छन् ‘जब म राष्ट्रपति पदको चुनाब लडिरहेको थिएँ त्यतिबेला भनेको थिएँ हामी सबै राष्ट्रपति हुनेछौं किनकि देशप्रति हामी सबैको जिम्मेवारी छ । अहिले त्यस्तै भएको छ । हामी सबै योद्धाजस्तै छौं ।’
⚡️??????In Belarus, everything is ready to host Russia-Ukraine negotiations. Waiting for delegations to arrive pic.twitter.com/WSnPMyChwg
— Belarus MFA ?? (@BelarusMFA) February 28, 2022
केही घण्टाअघि बेलारुसको विदेश मन्त्रालयले एक फोटो ट्वीट गर्दै रुस र युक्रेनबीच वार्ता गराउनको लागि मञ्च तयार गरिसकिएको र केवल दुई पक्षका प्रतिनिधिमण्डलको प्रतिक्षा भइरहेको बताएको थियो । यद्यपि बेलारुसमाथि विश्वास गर्नु युक्रेनको लागि सजिलो छैन । अहिलेसम्म बेलारुसले युद्धमा रुसलाई साथ दिइरहेको छ र बेलारुसका राष्ट्रपति अलेक्जेण्डर लुकाशेंकोले रुसको तर्फबाट लड्न आफ्नो सेना पठाउन सक्ने बताइसकेका छन् ।
अहिलेसम्म बेलारुस प्रत्यक्ष युद्धमा सहभागी भएको छैन तर आज बिहान रुसले युक्रेनको झितोमिर विमानस्थलमा आक्रमण गर्दा इस्कान्देर मिसाइल हानेको थियो र यो मिसाइल बेलारुसबाट हानिएको थियो । बेलारुसले पहिले आफ्नो जमिन रुसलाई एयर स्ट्राइकको लागि प्रयोग गर्न नदिने बताएको थियो तर पछिल्लो आक्रमण रुसले बेलारुसकै जमिनबाट गरेको छ ।
अमेरिकी खुफिया अधिकारीहरुले वार्ता सही दिशामा नगए बेलारुस पनि यो युद्धमा प्रत्यक्ष सहभागी हुन सक्ने आशंका गरेका छन् । अहिलेसम्मको स्थितिअनुसार रुसले यो लडाइँ जति सजिलो ठानिरहेको थियो त्यति सजिलो देखिएको छैन । युक्रेनले रुसी सेनालाई कडा टक्कर दिइरहेको छ । युक्रेनको राजधानी किभमा रुसले अहिलेसम्म नियन्त्रण गर्न सकेको छैन ।







डिसी नेपाल







Facebook Comment