पुटिनले परमाणु हतियार तयार राख्न निर्देशन किन दिए ?

डिसी नेपाल
१६ फागुन २०७८ १७:३०
444
Shares

मस्को (बीबीसी) । राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी सेनालाई रणनीतिक महत्त्वका परमाणुअस्त्रहरू विशेष सतर्कतासहित तयारी अवस्थामा राख्न निर्देशन दिएका छन्।

क्रेम्लिनमा सुरक्षानिकायका प्रमुखहरूसँग गरेको एउटा बैठकमा उनले पश्चिमा राष्ट्रहरूले रुसप्रति अमित्रतवत् कार्य गरेको टिप्पणी गरे।

युक्रेनमा आक्रमण गरेपछि पश्चिमा देशहरूले रुसमाथि लगाएको आर्थिक प्रतिबन्धतर्फ इङ्गित गर्दै पुटिनले त्यसलाई गैरकानुनी भनेका थिए।

नेटोका शीर्ष अधिकारीहरूले रुसविरुद्ध “चर्को टिप्पणी” गर्न मान्यता दिएका कारण पारमाणविक अस्त्रहरू उच्च सतर्क अवस्थामा राखिने उनले बताए।

उनले परमाणुअस्त्र प्रतिरोधात्मक बललाई युद्धका लागि विशेष भूमिकामा सक्रिय अवस्थामा राख्न रुसी रक्षामन्त्री र सेनाप्रमुखलाई आदेश दिएका छन्।

आफ्नो पारमाणविक बललाई “विशेष सतर्क अवस्थामा”मा राखिएको रुसको घोषणा पश्चिमा देशहरूले रुसविरुद्ध लगाएका प्रतिबन्धप्रति राष्ट्रपति पुटिनको आक्रोश र नेटोबाट रुसलाई खतरा रहेको भन्ने उनको डरका कारण सिर्जित अवस्थाको सङ्केत हो।

उनको यस कदमले निश्चय नै पश्चिमा राष्ट्रको ध्यानाकर्षित भएको छ।

यस प्रकारको गम्भीर अवस्था नेटोका सैन्य योजनाकारहरूका लागि चिन्ताको विषय थियो। त्यसैले उक्त सैन्य गठबन्धनले बारम्बार रुसी सैनिकहरूलाई हटाउन युक्रेनलाई सहयोग गर्न सैनिक नपठाउने बताउँदै आएको छ।

तर रुसी आक्रमण योजनाअनुसार हुन सकेको छैन। युक्रेनमा आक्रमण थालेको चौथो दिन रुसको नियन्त्रणमा एउटा मुख्य सहर पनि पर्न सकेन। धेरै सङ्ख्यामा रुसीहरू हताहत भएका छन्।

यसबाट कारण मस्कोमा केही निराशा र अस्थिरता निम्तिनेछ। त्यस्तै बेलारुसमा प्रस्तावित शान्तिवार्तामा बस्न मस्को र किएभ दुवैका लागि कठिन छ।

पुटिन युक्रेनलाई पूर्ण रूपमा आफ्नो प्रभावक्षेत्रमा फर्काउन चाहन्छन्। जेलेन्स्की सरकारको इच्छा देशको स्वतन्त्रता हो।

यस किसिमको विभाजनले सम्झौताका लागि निकै कम ठाउँ दिएको छ।

पश्चिमा देशहरूलाई पछि हट्न आइतवार दिइएको चेतावनीसँगसँगै आगामी दिनहरूमा युक्रेनमा रुसले युक्रेनमा आक्रमण अझ सघन बनाउन सक्छ।

त्यसो गर्दा गैरसैनिक नागरिकहरू हताहत हुने कुरालाई रुसले अझ बेवास्ता गर्न सक्छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *