अमेरिकाका २ वैज्ञानिक मस्कोमा रुसको क्याप्सुलमा कैद, बाहिर भीषण युद्ध भएको थाहै छैन
काठमाडौं। विश्व तेस्रो विश्वयुद्ध हुनसक्ने त्रासको छायाँमा छ । युक्रेनमा रुसको आक्रमणले विश्व झस्किएको छ । तर, यही समयमा अमेरिकाका २ जना वैज्ञानिक भने रुसको राजधानी मस्कोमा एउटा क्याप्सुलमा बन्द छन् । यी दुई स्पेस इन्जिनियरलाई बाहिर युद्ध भइसकेको थाहा नभएको मानिएको छ । यी वैज्ञानिकहरु नासाको ८ महिना लामो स्पेस एक्सपेरिमेन्टमा सहभागी छन् । एकातिर अमेरिकी नागरिक सक्दो छिटो रुस छाड्ने प्रयासमा छन् । अर्कोतिर यी दुईलाई स्थितिको गम्भीरताको कुनै जानकारी छैन ।
खासमा नासाले एउटा एक्सपेरिमेन्ट गरिरहेको छ । यसको नाम सिरियस २१ हो । यसको उद्देश्य अन्तरिक्ष यात्रीहरुको वास्तविक अनुभव जान्नु हो । यो एक्सपेरिमेन्टमा सहभागी ६ जना वैज्ञानिक यो क्याप्सुलमा बन्द छन् । यीमध्ये २ जना अमेरिकी वैज्ञानिक विलियम ब्राउन र एशले कोभाल्स्की हुन् । यिनीहरुसँग ३ जना रुसी नागरिक र एक जना युएइका नागरिक पनि क्याप्सुलमा बन्द छन् ।
नासाको एक मिशनअनुसार यी वैज्ञानिक नोभेम्बरमा क्याप्सुलभित्र गएका थिए । यिनीहरु आगामी जुलाइसम्म क्याप्सुलभित्रै रहनेछन् । उनीहरुसँग बाहिरी संसारसँग सम्पर्क गर्ने एउटा मात्र माध्यम छ, इलेक्ट्रोनिक पत्रको माध्यमबाट । एक्सपेरिमेन्टमा सहभागी एक कोअर्डिनेटरद्वारा यी पत्र एक सुरक्षित सर्भरमा अपलोड गरिन्छ ।

विलियम ब्राउनका एक साथीले डेलीमेलसँग कुरा गर्दै युक्रेनमा रुसले आक्रमण गर्नुभन्दा पहिले नै उनले आफ्ना साथीसँग कुरा गरेको बताए । उनले ब्राउनलाई युद्धको बारेमा जानकारी छ कि छैन भन्ने आफूलाई थाहा नभएको बताए । आफ्ना साथी ब्राउनको लागि चिन्ता व्यक्त गर्दै उनले भने ‘मलाई यो पनि थाहा छैन कि युद्ध सुरु भएपछि उनलाई कुनै जानकारी दिइयो वा दिइएन ।’ उनका अनुसार ती दुईलाई युद्धबारे जानकारीछ कि छैन भन्ने विषयमा नासाले पनि कुनै जानकारी दिइरहेको छैन ।
नासाले यो एक्सपेरिमेन्ट जारी राख्ने वा बन्द गर्ने योजनाबारे पनि केही बताएको छैन । यतिबेला अमेरिकाले रुसी विमानका लागि आफ्नो एयरस्पेस पनि बन्द गरिदिएको छ जसका कारण कुनै रुसी विमान अमेरिका जान पनि पाउँदैनन् । पुटिनले अहिलेसम्म यसको जवाफ दिएका छैनन् । यदि जवाफमा पुटिने अमेरिकी विमानका लागि रुसी एयसस्पेस बन्द गरिदिए भने रुस छाडेर जान चाहेका अमेरिकी नागरिक संकटमा पर्नेछन् ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment