स्थानीय तह निर्वाचन : गठबन्धनमा बागीको त्रास

सम्भव सिंह ठकुरी
१३ वैशाख २०७९ १२:३८

काठमाडौं। बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि आइतबार र सोमबार उम्मेदवार मनोनयन प्रक्रिया सकिएसँगै अब चुनावी जोडघटाउ सुरु भएको छ।

सत्तारुढ गठबन्धनले देशका अधिकांक्ष स्थानीय तहमा गठबन्धन गरेको छ भने प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पनि लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) सँग चुनावी तालमेल गरेर केही स्थानीय तहमा उम्मेदवार मनोनयन गरेको छ।

यसरी देश चुनावमय बन्दै गर्दा राजनीतिक दलहरुलाई बागी उम्मेदवारको त्रास पनि उत्तिकै बढेको छ।सबैभन्दा बागी उम्मेदवार नेपाली कांग्रेसको तर्फबाट देखिएको छ।

कांग्रेसभित्र डा.शेखर कोइराला, महामन्त्री गगन थापा कुनैपनि हालतमा कम्युनिष्टहरुसँग गठबन्धन गर्न नहुने मत राख्दै आएका थिए। तर सभापति शेरबहादुर देउवाको केन्द्रीय कार्यसमितिमा बहुमत रहेकाले देउवाको निर्णय नै कांग्रेस र गठबन्धनका लागि निर्णायक बन्न पुग्यो।

तर आइतबार र सोमबार भएको उम्मेदवार मनोनयमा अधिकांक्ष स्थानीय तहमा कांग्रेसको बागी उम्मेदवारी परेको छ। गठबन्धनको तर्फबाट चितवनको भरतपुर महानगरपालिकाको मेयर माओवादीलाई दिएपछि कांग्रेसका जगन्नाथ पौडेलले मेयरमा बागी उम्मेदवारी दिएका छन्।

पूर्वसांसद समेत रहेका पौडेलले पार्टीको झण्डा, चुनाव चिन्ह रहेको झण्डा सहित सयौँ कार्यकर्ताका साथ आफ्नो उम्मेदवारी दर्ता गरेका छन्।
त्यस्तै लेखनाथ पोखरा महानगरपालिकामा पनि कांग्रेसका तर्फबाट ३ जना नेताले बागी उम्मेदवारी दिएका छन्।

पोखराको मेयरमा गठबन्धनको तर्फबाट नेकपा (एकीकृत समाजवादी)ले पाएपछि कांग्रेसका विमलबहादुर कार्की, ऋषि सापकोटा, नन्दुप्रसाद तिवारीले मेयरमा उम्मेदवारी मनोनयन दर्ता गरेका छन्।

ललितपुर महानगरपालिका कांग्रेसले मेयर पाएपनि उपमेयर माओवादीले पाएपछि उपमेयरमा कांग्रेस सुबिनकुमार शाक्यले स्वतन्त्र उम्मेदवारी मनोनयन गरेका छन्।

जनकपुर उपमहागरपालिकामा पनि कांग्रेस कै बागी उम्मेदवारी दर्ता भएको छ।गठबधनको तर्फबाट जनता समाजवादी पार्टी (जसपा)लाई मेयर दिने निर्णय भएलगत्तै कांग्रेसको नगरसभापति समेत रहेका मनोजकुमार साहले पार्टीबाट राजिनामा दिएर मेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन्।

गठबन्धनको निर्णय विरुद्धको बागी उम्मेदवार कांग्रेसमा मात्र नभएर जसपाको पनि दर्ता भएको छ। बिराटनगर महानगरपालिकाको मेयर कांग्रेसले पाएपछि जसपाका उमेश यादवले मेयरमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन्। यसरी देशका विभिन्न ठाउँहरुमा गठबन्धन विरुद्ध बागी उम्मेदवारी भएपछि चुनावी परिणाम गठबन्धन अनुकूल नहुने हो कि भन्ने विश्लेषण भइरहेको छ।

राजनीतिक विश्लेषक पुरञ्जन आचार्य पनि अहिलेको अवस्थामै उम्मेदवारहरुले आफ्नो उम्मेदवारी फिर्ता गरेनन् भने परिमाण गठबन्धन अनुकूल नहुने बताउँछन्।

उनका अनुसार अहिले असन्तुष्ट पक्षले उम्मेदवारी मनोनयन दर्ता गरेपनि आउँदो १६ गते उम्मेदवारी फिर्ता गर्न मिल्ने भएकाले त्यो समयसम्म कति जनाले फिर्ता लिन्छन् त्यो कुराले मात्र चुनावी परिमाणको पूर्वानुमान गर्न सकिन्छ।

उनी भन्छन्, ‘यो गठबन्धनले समग्रमा कांग्रेसको त हित देख्दिन। कांग्रेस गठबन्धन बिना निर्वाचनमा जाँदा नै सबैभन्दा राम्रो परिमाण आउँथ्यो। अहिले गठबन्धन भयो र बागी उम्मेदवारी पनि कांग्रेसको भागमा नपरेको ठाउँहरुमा मात्र देखिन्छ। त्यसकारण १६ गतेसम्म आफ्नो उम्मेदवारी फिर्ता गर्न पाउने प्रावधान रहेकाले त्यो दिनसम्म कति जनाले आफ्नो उम्मेदवारी फिर्ता लिनुहुन्छ त्यसमा भर पर्ने कुरा हो।’

यदि बागी उम्मेदवारहरुले फिर्ता लिन चाहेनन् भने यसको प्रत्यक्ष फाइदा एमालेलाई हुने उनको विश्लेषण रहेको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *