भरतपुरमा मतदाता प्रभावित पार्न बाँडियो भूमिको निस्सा, आचारसंहिता उल्लंघनकाे उजुरी दिने तयारी
चितवन। निर्वाचन आचारसंहिता–२०७८ को उल्लघंन गर्दै भरतपुरमा भूमिको निस्सा बाँडिएको छ। नेकपा माओवादी केन्द्रनिकटका भूमि आयोगका उपाध्यक्ष नहेन्द्र खड्का र बद्री तिमिल्सिनाले शुक्रबार सुकुम्बासी तथा भूमिहीनलाई भूमिको निस्सा बाँडेका हुन्।
निर्वाचन आचारसंहिताविपरीत मतदातालाई प्रत्यक्ष प्रभावित पार्न उनीहरूले भरतपुर–११ गणेशस्थानमा भूमिको निस्सा बाँडेका हुन्। जिल्ला निर्वाचन कार्यालय भरतपुरका प्रमुख भीमसेन कार्कीले आचारसंहिताविपरीत मतदातालाई प्रभावित पार्न भूमिको निस्सा बाँड्न नपाइने बताए। उजुरी आए कारबाही गर्न सकिने उनले जानकारी दिए।
‘निर्वाचनको बेलामा भूमिहीन सुकुमबासीलाई भूमिको निस्सा बाँड्न पाइँदैन’, उनले भने, ‘हाम्रो कार्यालयमा उजुरी आयो भने हामीले सम्बन्धितलाई स्पष्टीकरण सोध्छौँ । आवश्यक परे थप कारबाही पनि हुनसक्छ।’
भूमि आयोग चितवनका अध्यक्ष बद्री तिमिल्सिनाले भूमिहीनलाई निस्सा बाँडेको स्वीकार गरे। लालपुर्जा बाँड्दा मात्रै आचारसंहिता लाग्ने तर भूमिको निस्सा बाँड्दा आचारसंहिता नलाग्ने उनले दाबी गरे। ‘मैले बाँड्न सुरुवात गरेर हिँडेको हो। कति जनालाई बाँडे थाहा भएन’, उनले भने, ‘मैले लालपुर्जा बाँड्न पाउँदिन । निस्सा बाँड्ने काम, जग्गा नाप्ने काम भइराख्ने रहेछ।’
शुक्रबार फेसबुकमा एक स्टाटस राख्दै उनले भूमिहीन सुकुम्बासीले मेयरमा रेणु दाहाल र उपमेयरमा चित्रसेन अधिकारीलाई विजयी गराउन प्रतिबद्धता जनाएको बताएका छन्। मतदातालाई प्रभावित पार्न निस्सा बाँडिएको कार्यक्रममा साझा उम्मेदवारलाई जिताउने प्रतिबद्धता आएको उनले दाबी गरेका छन्।
मतदाता प्रभावित पार्न भूमिको निस्सा बाँड्ने व्यक्तिहरू विरुद्ध अधिवक्ता सुनिता अधिकारीले उजुरी हाल्ने तयारी गरेकी छन् । उनले मुख्य निर्वाचन अधिकृतको कार्यालय भरतपुरमा उजुरी हाल्न लागेको जानकारी दिइन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment