काठमाडौंका सडक सुनसान, पासविनाका सवारी दिनभर ‘होल्ड’

डिसी नेपाल
३० वैशाख २०७९ ८:३२
104
Shares

काठमाडौं। मतदानको दिन सवारी साधन सञ्चालनमा रोक लागेको छ। जसले गर्दा निकै व्यस्त काठमाडौंका सडक यतिबेला भने सुनसान देखिएका छन्। सधै व्यस्त हुने काठमाडौंका सडक आज भने सुनसान देखिएका छन्।

आज बिहान सात बजेदेखि बेलुका मतदान नसकिँदासम्म पासविनाका सवारी साधन चलाउन पाइँदैन। यो बीचमा पासविनाका सवारी चलाएको खण्डमा दिनभर होल्ड गरेर राखिनेछ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार बिहानैदेखि पास विनाका सवारी साधन होल्ड गरेर राखिएको छ। मुख्य सडकमा ट्राफिक प्रहरी, जनपद प्रहरी र म्यादी प्रहरीले सवारी चेकजाँच गरिरहेका छन्। पासविना चलाइएका सवारीलाई त्यही होल्ड गरेर राखिएको छ।

आपतलीन प्रयोजनमा प्रयोग हुने एम्बुलेन्स, खानेपानीको ट्याङ्कर, दुध बोक्ने सवारी साधन, दमकल, दूरसञ्चार तथा केबल सेवा, शववाहन, अस्पतालका स्वास्थ्यकर्मीले प्रयोग गर्ने गाडी निर्वाध रुपमा चलिरहेका छन्।

त्यस्तै अस्पतालमा कार्यरत परिचयपत्र प्राप्त चिकित्सकले प्रयोग गर्ने सवारी साधन, फोहोरमैला ओसारपसार गर्ने सवारी साधन, तरकारी फलफूल तथा विद्युत सेवा जस्ता अत्यावश्यक सेवा र नम्बर प्लेटमा सिडी उल्लेख भएको कुटनीतिक नियोगका सवारी साधनको हकमा सवारी अनुमतिपत्र लिनु पर्दैन ।

अन्य अत्यावश्यक सेवाका सवारीसाधनका लागि सवारी पासको व्यवस्था गरिएको छ । नेपाल सरकार वा प्रदेश सरकारको आधिकारिक निकायबाट जारी भएको प्रेस पास भएका सञ्चारकर्मी र उनीहरूेले प्रयोग गर्ने सवारी साधनका लागि सवारी अनुमतिपत्र आवश्यक पर्दैन । तर, प्रेस पास नभएका सञ्चारकर्मीले भने जिल्ला प्रशासन कार्यालयबाट पास लिनुपर्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.