साउदी अरेबियाको एउटा घोषणाले पूरै विश्वमा खल्बली

डिसी नेपाल
१४ जेठ २०७९ १४:३०
34.2k
Shares

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण विश्वका सबै देश महंगीको चपेटामा परेका छन् । अमेरिकामा पनि महंगी बढ्दै गएको छ तर तेलका ठूला निर्यातकहरू कच्चा तेलको उत्पादन बढाउन कुनै पनि हालतमा सहमत छैनन् ।

विश्वको सबैभन्दा ठूलो तेल उत्पादक देश साउदी अरेबियाले तेलको मूल्य वृद्धि रोक्न कुनै कदम नचाल्ने स्पष्ट पारेको छ । साउदीका विदेशमन्त्री राजकुमार फैसल बिन फरहानले तेलको अभाव नभएकोले कच्चा तेलको उत्पादन कुन आधारमा बढाउने भन्ने प्रश्न गरेका छन् ।

बिजनेश इनसाइडरको एक रिपोर्टका अनुसार राजकुमार फैसल बिन फरहानले मंगलबार डाभोसमा भएको वर्ल्ड इकोनोमिक फोरमलाई भने, ‘जहाँसम्म हामीलाई थाहा छ, तेलको कुनै कमी छैन। यो मामिलामा साउदी अरेबियाले जे गर्न सक्थ्यो, त्यो गरिसकेको छ।

अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) का अनुसार साउदी अरब विश्वको सबैभन्दा ठूलो कच्चा तेल निर्यातक हो। मार्चमा आईईएले बढ्दो तेलको मूल्यलाई रोक्ने प्रयासमा स्टकबाट थप तेल रिलिज गर्न १० बुँदे योजना तयार गर्यो।

विश्वभर तेलको मूल्य बढ्नुमा रुस–युक्रेन युद्ध प्रमुख कारण हो । रुस विश्वको सबैभन्दा ठूलो तेल उत्पादन गर्ने देश हो। युक्रेनमाथिको आक्रमणका कारण रुसी तेलमाथि कडा प्रतिबन्ध लगाइएको थियो, जसले गर्दा विश्व बजारमा तेलको अभाव भएको थियो ।

गत वर्षको तुलनामा कच्चा तेलको मूल्य ७० प्रतिशतले बढेको छ । रुस युक्रेन युद्धपछि प्रति ब्यारेल ११० डलर रहेको कच्चा तेल अहिले २० प्रतिशतले बढेको छ ।

साउदी विदेशमन्त्रीले विश्व आर्थिक मञ्चमा आफ्नो देशले कुनै पनि हालतमा कच्चा तेलको उत्पादन नबढाउने स्पष्ट पारेका छन् । “हाम्रो मूल्याङ्कन यो हो कि तेल आपूर्ति वास्तवमा अहिले तुलनात्मक रूपमा सन्तुलित छ,” उनले भने ‘तर हामीले सामना गरिरहेको समस्या कच्चा तेल बजारमा ल्याउनु भन्दा धेरै गाह्रो छ।’

तेलको मूल्यमा भएको वृद्धिले भारत, अमेरिकालगायत देशमा महंगी बढाएको छ । अमेरिकामा अप्रिल महिनामा महंगी दर ८.३ प्रतिशत थियो । त्यस्तै, अप्रिल महिनामा भारतमा महंगी दर ७.८ प्रतिशत थियो । यो महंगीको अवस्था पछि थप गम्भीर हुन सक्छ।

आईईएका कार्यकारी निर्देशक फातिह बिरोलले पनि गर्मीमा तेलको माग बढेमा विश्वव्यापी मन्दी आउन सक्ने चेतावनी दिएका छन् ।

सोमबार ब्लूमबर्ग टिभीसँग कुरा गर्दै बिरोलले भने, ‘यो गर्मी कठिन हुनेछ किनभने गर्मीमा तेलको माग सामान्यतया बढ्छ। विश्व ऊर्जा बजारमा तेलको मूल्य नियन्त्रण गर्न हरेक देशले योगदान गर्नुपर्छ ।’

तर प्रिन्स फैसलले कच्चा तेलको आपूर्ति बढाएर होइन तर तेल प्रशोधन कारखानामा थप लगानी गरेर ऊर्जाको बढ्दो मूल्यलाई नियन्त्रण गर्न सकिने तर्क गर्छन्। उनले भने, ‘वास्तविक समस्या प्रशोधित तेलको हो । पछिल्लो डेढ दुई वर्षमा रिफाइनरीको क्षमता वृद्धिमा निकै कम लगानी भएको छ ।’

साउदी अरेबियाले पेट्रोलियम निर्यात गर्ने देशहरूको संगठन ओपेक+ को नेतृत्व गर्छ। संस्थाले रुस, ओमान र काजाकस्तान जस्ता साझेदार देशहरूसँग मिलेर कोभिडका कारण मागमा आएको गिरावटलाई सम्बोधन गर्न अप्रिल २०२० देखि कच्चा तेलको उत्पादन वृद्धिमा प्रतिबन्ध लगाएको थियो। यो सम्झौता तीन महिनामा समाप्त हुन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *