रुसको मामिलामा भारत झुक्न तयार छैन

डिसी नेपाल
१८ जेठ २०७९ १४:२२
7.0k
Shares

काठमाडौं । रुसबाट भारतको तेल आयात निरन्तर बढिरहेको छ । अर्कोतर्फ पश्चिमा राष्ट्रहरूले रुसमाथिको नाकाबन्दीलाई निरन्तरता दिइरहेका छन् । वित्तीय बजार र पूर्वाधारसँग सम्बन्धित डाटा उपलब्ध गराउने अमेरिकी-ब्रिटिश प्रदायक रेफिनिटिवको अनुमानअनुसार मे महिनामा रुसबाट भारतको कच्चा तेल आयात ३०.३६ लाख मेट्रिक टन पुग्ने छ।

यो गत वर्ष रुसबाट भारत आएको मासिक औसत ३८२,५०० मेट्रिक टन कच्चा तेलभन्दा नौ गुणा बढी हो। युक्रेनमा भएको आक्रमणपछि भारतले रुसबाट ४०.८ लाख मेट्रिक टन तेल लिएको रेफिनिटिभले जनाएको छ । रुसको युराल्स आयलले हाल करिब ९५ डलर प्रति ब्यारेलमा तेल बिक्री गरिरहेको छ । अर्कोतर्फ अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य प्रतिब्यारेल ११९ डलर रहेको छ ।

पश्चिमी देशको प्रतिबन्धका कारण रुसले सस्तो मूल्यमा तेल बिक्री गरिरहेको छ । सोमबार, युरोपेली संघले यस वर्षको अन्त्यसम्म रुसी तेल आयातमा ९० प्रतिशत प्रतिबन्ध लगाउने सहमति गरेको छ ।

यसबाहेक अमेरिका, क्यानडा, बेलायत, अष्ट्रेलिया र जापानले यसअघि नै प्रतिबन्ध लगाएका छन् । युरोप रुसी तेलको सबैभन्दा ठूलो खरिदकर्ता हो र युक्रेन आक्रमणका कारण प्रतिबन्ध लगाएर रुसी अर्थतन्त्रलाई दबाब दिन खोजिरहेको छ । रुस नयाँ तेल खरिदकर्ताको खोजीमा छ र यस्तो अवस्थामा भारतलाई राम्रो विकल्प मानिएको छ ।

भारतले आफ्नो तेलको ८० प्रतिशत आयात गर्छ र रुसबाट दुईदेखि तीन प्रतिशत मात्र लिन्छ। यो वर्ष तेलको मूल्य लगातार बढिरहेको छ । यस्तो अवस्थामा भारतले आयात बिल घटाउन रुसबाट सहुलियतमा तेल खरिद बढाइरहेको छ ।

रिफिनिटिवका अनुसार भारतले अप्रिलमा रुसबाट १०.०१ लाख मेट्रिक टन तेल किनेको थियो। भारत सरकारले मे महिनामा भारतले धेरै देशबाट पेट्रोलियम र प्राकृतिक ग्यास आयात गरिरहेको बताएको थियो। यसमा अमेरिका पनि परेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *