चीनमा ३ मिनेटको फरकमा २ वटा शक्तिशाली भूकम्प, कम्तीमा ४ जनाको मृत्यु

डिसी नेपाल
१९ जेठ २०७९ ११:०२
648
Shares

काठमाडौं । चीनको दक्षिणपश्चिम सिचुआन प्रान्तको याआन सहरमा बुधबार दुईवटा भूकम्प जाँदा कम्तीमा चार जनाको मृत्यु हुनुका साथै अन्य १४ जना घाइते भएका छन् । भूकम्पले रेल लाइन अवरुद्ध हुनुका साथै घरमा क्षति पुगेको छ ।

चीनको सरकारी मिडिया चाइना ग्लोबल टेलिभिजन नेटवर्कका अनुसार लुसान काउन्टीमा साँझ ५ बजे ६.१ म्याग्निच्युडको भूकम्प गएको थियो भने त्यसको तीन मिनेटपछि सहर नजिकैको बाओक्सिङ काउन्टीमा ४.५ म्याग्निच्युडको भूकम्प गएको थियो ।

शक्तिशाली भूकम्पको धक्का सिचुआनको राजधानी सहर चेङ्दु र चोङकिङ नगरपालिकासम्म महसुस गरिएको केही चिनियाँ सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले अनलाइनमा भनेका छन्।

सिचुआन फायर डिपार्टमेन्टले लुसान काउन्टीका केही घरहरू आंशिक रूपमा क्षतिग्रस्त भएको र विभाग प्रभावित भएका सम्बन्धित काउन्टीहरू र शहरहरूसँग सम्पर्कमा रहेको बताएको छ।

चीनको रेलवे प्राधिकरणले तुरुन्तै रेल लाइनको प्रभावित भागहरू रोकेको छ।

सिचुआन प्रान्तीय भूगर्भीय प्रकोप व्यवस्थापन कार्यालयले बुधबार राति चेतावनी दिँदै आगामी २४ घण्टामा यानका पाँच र चेङ्दुका दुई लगायतका सातवटा काउन्टी-स्तरीय क्षेत्रहरू भौगोलिक विपद्को अपेक्षाकृत उच्च जोखिमको सामना गर्ने बताएको छ ।

सिचुआन भूकम्प विभागका अनुसार लुसानमा गएको भूकम्प सन् २०१३ मा यस क्षेत्रमा गएको ७.० म्याग्निच्युडको भूकम्पको परकम्प थियो । २०१३ को भूकम्पमा १९६ जनाको ज्यान गएको थियो भने ११ हजारभन्दा बढी घाइते भएका थिए ।

१७ किलोमिटर गहिराईमा रहेको लुसानमा गएको भूकम्पको केन्द्रविन्दु ३०.३७ डिग्री उत्तर अक्षांश र १०२.९४ डिग्री पूर्वी देशान्तरमा रहेको चाइना भूकम्प नेटवर्क सेन्टरले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *