बोक्सीको आरोपमा दुई वृद्धा महिलामाथि कुटपिट

डिसी नेपाल
२९ जेठ २०७९ ७:३६

महोत्तरी। महोत्तरीमा बोक्सीको आरोपमा दुई वृद्धा महिलालाई निर्घात कुटपिट गरिएको छ। जलेश्वर नगरपालिका-६ धवौलीका कालीदेवी महतो र दुलरिया महतोलाई बोक्सीको आरोपमा छिमेकीले निर्घात कुटपिट गरेको पीडित पक्षले बताएको छ।

छिमेकी भुलन रामचमारले आफ्नी बुहारीलाई टुनामुना लगाएर बिरामी बनाएको भन्दै उनीहरूलाई कुटपिट गरिएको बताइएको छ। कुटपिटका क्रममा दुवैजनाको मुख, घाँटी र ढाडमा चोट लागेको छ । अहिले कालोदेविको जानकी हेल्थ केयर जनकपुरमा उपचार भइइरहेको छ।

के भएको थियो ?

२६ जेठमा भुलन रामचमारको घरमा विवाहको रौनक थियो । भुलनको घरमा जमघट र रमाइलो चलिरहेका बेला उनकी बुहारी सोमारीदेवी एक्कासी बिरामी भइन् । सोही समयमा सोमारीदेवी देवता चढेको भन्दै बक्न थालिन् । सोमारीदेवीले कालीदेवी बोक्सी लागेको र उनलाई घरमा ल्याउन निर्देशन दिइन्।

त्यसपछि तुरुन्तै सोमारीदेवीका कान्छा ससुरा भुलन रामचमार कालीदेवदीका घरमा पुगे र उनलाई लिएर आफ्नो घरमा आए। झुक्याएर घरमा ल्याएका कालीदेवीलाई आगनमा पुर्‍याएपछि बुहारीमाथि बोक्सी लगाएको भन्दै कपडा समेत खोलेर नाङ्गेझार बनाइ निर्घात कुटपिट गरिएको दाबी छ।

कालीदेवीको नाम लिइरहेकी सोमारीले दुलहरिया देवीलाई पनि तुरुन्त ल्याउन निर्देशन दिइन्।

भुलनसहित उनका परिवार दुलहरियालाई खोज्दै जाँदा खेतमा फेला पारे । पीडित पक्षका दुलहरियाको चुल्ठोमा समातेर लडाइयो र कपडा खोलेर नजिकै रहेको पोखरीमा डुबाइयो । अहिले दुलरिया देवीको गाउँमा नै घरेलु उपचार भइइरहेको छ ।

५२ र ५३ वर्षीया दुवै महिलालाई मलमुत्र खुवाउने प्रयाससमेत भएको पीडित पक्षको भनाइ छ।

प्रहरी के गर्दै छ ?

पीडित कालीदेववीका छोरा अमित महतो र दुलहरीदेवीका नाती रामजीवनले प्रहरीमा किटानी जाहेरी दिएका छन् ।

२७ जेठमा नै प्रहरीले कुटपिट गरी ज्यान मार्ने उद्योगमा उजुरी दर्ता गरिसकेको छ । घटनामा संलग्न भएको आरोप लागेका रामभुलन र सोमारीदेवीलाई प्रहरीले पक्राउ गरिसकेको छ । घटनामा संलग्न अन्य फरार रहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

फरारको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सरोज राइले जानकारी दिए । पक्राउ परेकालाई म्याद थप्ने प्रक्रिया अगाडि बढाएर अनुसन्धान भइरहेको उनले बताए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *