व्यंग्य : उताको ताबेदारी, यताको दाबेदारी

डिसी नेपाल
११ भदौ २०७९ ८:२८

आफ्ना बिरोधीहरु सबैलाई लत्याउने र दक्षिणी छिमेकीको अगाडि लम्पसार तरिकाले पसारो परेर सकेसम्म लामो समयसम्म यताको सत्ता हत्याउने जे जस्तो तरिका अपनाएपनि पत्याउने हामी सोझासिधा जनतालाई जे भनि दिए पनि केही फरक परेन।

यही सिलसिलामा गठबन्धनको अति संबैधानिक र प्रजातान्त्रिक प्रयोगलाई दक्षिणको लाल मोहर लगाएर टिकाउने र उतैको आशिर्वादमा बहुुदलीय ब्यबस्थामा निर्दलीय गठबन्धन बिकाउने अनि संसारभरी हदैसम्मको गाइजात्रा देखाउँदै प्रजातन्त्र लोकतन्त्र गणतन्त्र र अरु केके जाति तन्त्रका बारेमा संसारलाई सिकाउने ज्यादै राम्रो अभ्यास भएकोमा जनता आनन्दित छन्।

उताका माइबापहरुलाई रिझाउने र यताका केही बिरोध गर्न नसक्ने निरीह जनतालाई कुुनै गिन्तिमै नराखी मजाले हेपेर बिझाउने पवित्र उद्देश्यका साथ भ्रष्टाचारीहरुका माझ अत्यन्त लोकप्रिय सरकार प्रधानकी अर्धांगिनी र सबै भ्रष्टाचारिहरुका संरक्षक र प्रबद्र्धक स्वघोषित महान नेताका नामबाट प्रख्यात खुमलटारे कामरेड दिल्ली दौडाहामा गएर फर्कनासाथ निकै लामो समयदेखि बिवादित नागरिकता बिधेयक संसदबाट फास्टट्रयाक बिधि लगाएर पारित गर्नाले उता गएर खासखास मान्छेलाई भेट्नु र विधेयक हतार हतारमा पारित गर्न मरिमेट्नुु सारै राम्रो संयोग भएको पाइयो।

स्वघोषित महान नेताले दक्षिणका सरकार प्रधानको फाटक अगाडि पुुगेर लम्पसार पर्न निकै कोशिश गर्दापनि भेट नपाएको नाटक देखाएर सबैलाई बेवकुफ बनाउन खोज्दा आफू बेवकुफ बनेको र जनताले निकै तल्लो स्तरमा गनेको थाहा पाएरपनि उतैको आदेशात्मक निर्देशनमा नागरिकता विधेयक जसरी पनि पारित गर्न भनेको अनि यो काम गरिदिए बापत देशै दाउमा राख्न समेत पछि नपर्ने बाचासहित निकै बल लगाएर कनेको भन्ने जनताले चाल पाउने कुरै भएन।

यिनीहरुको ताबेदारी उत्तर, दक्षिण र सात समुन्द्र पारिदेखि युरोपसम्म मजाले फैलिएको कारणले यिनीहरुको दिल र दिमाग देश र जनता प्रति पूरै मैलिएको छ। अहिले नागरिकता बिधेयकको सम्बन्धमा चाहिँ दक्षिणी छिमेक वा पारि वा उताका बिदेशी प्रभुको दह्रो ताबेदारी गर्न सके आउने चुनावमा नोट र भोट दुबै प्राप्त गर्दै वारि वा यता सत्ताको दाबेदारी कायम राख्न सकिन्छ भन्ने सोचाइमा जनताले समर्थन र सहयोग गर्नु बाहेक अर्को उपाय देखिँदैन।

अदालतको आशिर्वादमा पाएको र अत्यन्त कम संख्यामा आफ्ना संसद सदस्यहरु भएपनि बालुवाटारमा बसेर खाएको कुर्सी हातबाट फुस्किन्छ कि भन्ने बाहेक अरु कुनै बिषयमा चिन्ता र चासो नभएका बुढानिलकण्ठे सभापतिलाई तर्साउने धम्काउने थर्काउने, आफ्नो अनुकुलका बिषयहरुलाई आवश्यकता अनुुसार चर्काउने अनि जताबाट फाइदा उठाउन सकिन्छ त्यतै आँखा मर्काउने गजबको राजनीतिक चरित्र भएका नेताहरुले सरकार प्रधानलाई हैरान पारे रे भन्ने हल्लामा कसैको बिश्वास छैन।

सरकार प्रधान, उनकी अर्धांगिनी, उनका एकाघरका बिचौलिया, दलमा भएका नजिकका मतियार प्रयोग गरेर गठबन्धनका सहयात्रीका त्यस्तै खाले हतियार निकम्मा बनाउन हदैसम्मको प्रयास भइरहेको देखिन्छ। चुनावनजिकै आइसक्दा र कसरी बढी भन्दा बढी उम्मेदवारी पाउने भन्ने चिन्ताले खाइसक्दा समेत गठबन्धनको सिट बाँडफाँट झन्झन् पेचिलो बनेको अनि मुुखले चाहिँ कुुरा मिल्नै लाग्यो भनेर भनेको सुुन्दा जनताले अझ निकै दिनसम्म निशुल्क मनोरन्जनको अवसार पाइने हो कि जस्तो छ।

बुढानिलकण्ठे सभापतिलाई सकेसम्म बढी कोटा चाहिने, स्वघोषित महान नेतालाई सकेसम्म धेरै कोटा चाहिने, स्वघोषित नैतिकवान नेता भनेर समेत चिनिने कोटेश्वरे कामरेडलाई सकेसम्म ज्यादा कोटा चाहिने, मधेशको नाममा राजनीति गरेर जनता भड्काउने र सरकारमा जान जतापनि टाङ अड्काउने बाहेक अरु काम नगर्ने जसपा नामक दललाई पनि बहुुत कोटा चाहिने, संघीय प्रणालीको बिरोध गर्दे त्यही प्रणालीको सरकारमा बसेर तर् मार्ने जनमोर्चालाई पनि प्रशस्त सिटको कोटा चाहिने भएपछि सिट बाँडफाँट धेरै छिटै टुंगोमा पुग्ला जस्तो छ।

चुनावमा जितेर देश र जनताको लागि केके गर्ने र जनताको समस्याहरुलाई कसरी हर्ने अनि केके गर्दा देशमा भएका बेथितीहरु टर्ने भन्ने बिषयहरुमा त चुनाव सकिँदा समेत कुनै सरोकार होला जस्तो देखिँदैन। खाली कसरी गठबन्धनलाई टिकाउने र जसरी हुन्छ आफू र आफ्नाहरुको खानपानको उद्देश्यलाई कसरी बिकाउने भन्ने चिन्ताले दिमाग तताएको अनि नेताहरुले देखाएको ब्यबहारले त्यही मात्रै बताएको हुनाले देश र जनतालाई नराम्ररी सताएको भन्नेमा जनताको केही भन्नु छैन। जनताले भनेछन् नै भनेपनि सुनिदिने कोही नभएपछि भनेर के मतलव भयो र?

सरकारी पक्षको गठबन्धनको घोर बिरोध गरेर उनीहरुलाई चोर साबित गर्न कस्सिएका बालकोटे कामरेडपनि अरु बचेखुुचेका दलहरुसित गठबन्धन गर्न त्यसलाई भजाएर भोटमा चर्न सकेमा समस्या टर्न जानेमा बिश्वस्त देखिन्छन्। बुुढानिलकण्ठे सभापति र स्वघोषित महान नेताले जसरी दक्षिणतिर लम्पसार नपरे जस्तो देखाउन खोजेपनि बिरोध मै अघि सरौँ र जेजे पर्ला त्यहि गरौँ भन्नेमा यिनी पनि छैनन्।

आखिर सबैको तिर्थ एउटै भएकोले आफूले जानेको र सकेको बिधिबाट पूजा गरेर तिर्थका ईश्वरलाई मानेको आधारमा फल पाइने हुनाले सबै दल त्यसमा आआफ्नै तरिकाबाट लागेकै छन्। यसमा बालकोटे कामरेड पनि पछि पर्ने कुरै आउँदैन। बातैपिच्छे मधेशलाई भजाउने, मधेशको नाम लिँदै भ्रष्टाचार गरेर आफ्नै ढुकुटी सजाउने र मधेशका जनताको नाम जपेर भेटेसम्म नगद बजाउने मधेशवादी नेताहरु पनि आफ्नो क्षमता भन्दापनि ढाँट छल र दक्षिणकै आशिर्वादमा बढी से बढी सिट पड्काउने आशामा रहेका छन्।

अरु साना र झिना मसिना दल पनि ठूला दलहरुसित गाँसिने र लाभदायक तरिकाले टाँसिने काम बेलैमा गर्न नसकिने अबस्था आएमा भबिष्य नै नासिने भयले ग्रसित भएर गठबन्धनको मौका खोज्दै हिँडेका देखिन्छन्। यसो हेर्दा साना ठूला जे भने पनि सबै दलहरु एक्लाएक्लै चुनावमा जान र आफ्नो बलबुुतामा चुनाव लडेर खान नसक्ने अबस्था आएको देख्दा बहुदलीय ब्यबस्था भने पनि निर्दलीय ब्यबहार देखाएकोमा उनीहरु आफैं पश्चगामी बाटोतिर लम्केका हुन् कि भन्नेहरुको स्वर अलि ठूलो हुँदै गएको देखिए पनि कसैले पत्याउने अबस्था छैन।

आउँदो चुुनावमा दक्षिणको आर्थिक सहयोगलगायत अन्य खालका आशिर्वाद प्राप्त गरेर र अनेक खालका भ्रम छरेर भएपनि चुुनावको बैतरणी तरेर फेरि ढुक्क परेर खानपिन गर्ने प्रबल इच्छा पूरा हुने आशासहित नागरिकता बिधेयक पास गर्ने सुुकर्म गर्न भ्याएका हुुन्। नागरिकता पाउनै पर्नेलाई नागरिकता दिने भन्दापनि यताकासित बिहे गरेर आउने बुहारीहरुलाई सिन्दुर हालेकै दिनमा नागरिकता दिएर उताको स्याबासी लिने कुरामा हानथाप भएको देखिन्छ।

यसमा सत्तापक्ष वा प्रतिपक्ष भनेर छुट्याइ राख्नै पर्दैन र कसैलेपनि दक्षिणको आशिर्वाद पाउने कुरामा भेदभाव गर्दैन। यस्ता बिषयहरुमा मतदान गर्ने अबस्था आएमा सत्तापक्षले मतदान गर्ने र बिपक्षले अनुपस्थित भएर सहयोगको लागि अघि सर्ने काम गरेर पारित हुनेमा ढुक्क पर्ने चलन धेरै अघि देखि हुँदै आएको छ। यस्ता कार्यहरुबाट सत्तापक्ष र प्रतिपक्ष मिलेर र यसको फाइदा बराबर निलेर संसदीय प्रजातन्त्रको यति सुन्दर नमुना देखाउन सक्नु नै अहिलेको सबैभन्दा सुन्दर पक्ष हो भन्ने जनताले ठानेका छन्।

राष्ट्र प्रधानले राम्ररी बिचार गर्नुु भनेर फिर्ता बिधेयकको साथमा पठाएका अति सान्दर्भिक र महत्वपूूर्ण टिप्पणीहरुलाई पूर्ण बेवास्ता गरेर नागरिकता बिधेयक तुरुन्ता तुरुन्तै हुबहु पास नगरे धेरै ठूलो नाश हुने जस्तो जनताले बुझे। दक्षिणतिर लम्पसार पर्दै आज्ञा शिरोपर छ भनेर उताका बिदेशी प्रभुहरुलाई सलाम ठोकेर र उताकाले थर्काएर बोकाएको गरुगों भारी सकिनसकि बोकेर आएपछि यताका राष्ट्र प्रधानले रोकेर केही हुुँदैन भन्ने यिनीहरुको धारणा रहेको देखिन्छ। कुरा ठिकै पनि हो।

जिन्दगीभरि उताको ताबेदारी गरेर यताको सत्तामा दाबेदारी गर्दै गुुजारा चलाएका र उतैको इशारामा र सहयोगमा यताका जनता मारेर आफू र आफन्तका लागि नगदको फसल फलाएका चोट्टाहरुले यो बाहेक अरु के नै जानेका होलान् र? एक्लै निर्धक्कसँग चुनावमा समेत भाग लिन नसकेर एकअर्काको बैशाखीको सहारा नलिए आफ्नो आहारा समेत जुटाउन नसक्ने अबस्थामा पुगेपछि राजनैतिक स्वार्थको लागि देशै लुटाउन समेत पछि नपर्ने चरित्रवालाहरुलाई फुटाउन खासै गाह्र्रो पनि नपर्ला।

आफ्नो राष्ट्र प्रधानले उठाएका बिषयहरु बारे दुई शब्द बोल्न समेत नहुुने जस्तो गरेर उताको स्वार्थमा सबैथोक खोल्न खोज्ने चरित्रधारीहरु नै राजनीतिमा सफल हुुने रहेछन् भनेर सबैले बुझिसकेका छन्।

जे गर्दा आफू र आफ्नो दलको स्वार्थ पुूरा हुुन्छ त्यही नै बास्तविक लोकतन्त्र हो कि प्रजातन्त्र हो भन्ने ज्यादै राम्रो सिद्धान्त स्थापित हुन सकेको हुनाले यिनीहरुलाई कसैले छुन नसकेको जस्तो देखिएपनि यही कारणले कुनै दिन छुट्टै बसेर धुरुधुरु रुन पर्ला भनेर सराप्नेहरुलाई यिनीहरुले सबैभन्दा ठूलो शत्रु मान्नुु ठिकै हो। बिदेशी प्रभुहरुको लिला अपरम्पार भएकोले उनिहरुको इशारामा नाँच्न ढिला गर्न हुँदैन।

जनताको भोटले चुनिएर आइ संबिधानले कल्पना समेत नगरेको गठबन्धन वा अदालतको परमादेशीय कृपाबाट सत्तामा पुुग्दापनि राजधानीबासीको फोहर ब्यबस्थापन कार्यमा भाँजो हाल्दै आतंककारीमा दाँजो गर्न मिल्ने काम गर्न सक्ने सत्तापक्षका शिर्ष नेताहरुलाई उनिहरुको अल्प वा निम्न बुद्धिको लागि सराहना गर्नै पर्छ।

डम्पिङ साइटका आफ्ना झोलेहरुलाई असहयोगको लागि नगद खाना आदिको पूरा ब्यबस्थासहित पम्पिङ गर्दै मासुभातसहितको मेस संचालन गर्न लगाएर फोहर बोक्ने गाडीका चालक र आज्ञा पालक मजदुरहरुलाई गुलेली र ढुंगा हान्न लगाएर ठूलो पुण्यको कार्य गरेको सुन्दा जनता धेरै खुसी भएका छन्।

त्यसैगरी राजनैतिक दलका ठूला नेताहरुको संरक्षणमा फुटपाथ, बाटो,सार्वजनिक जग्गा मिचेर र जनताको आवाजलाई उनीहरुकै आडमा थिचेर मोजमस्ति गरिरहेका महानुुभावहरुलाई फाइदा दिलाउन नियम कानुुनलाई किचेर सुबिधा दिइरहेकाहरुको पोल खुल्ने भयले महानगरका मेयरलाई यसरी डोजर लिएर डुल्ने काम बन्द गर्न धम्की दिँदै नभए उनको काममा अरु नयाँ नयाँ सम्स्याहरु हुल्ने कुरा उठाएर आफ्नो कर्तब्य भुल्ने शिर्ष लगायतका नेताहरुलाई जनताले यो चुनावमा पनि जिताउनै पर्छ।

जनताको काम गर्ने र स्वतन्त्र उम्मेदवारमा पर्ने ब्यक्तिहरुलाई कुुनै हालतमा जिताउन हुुँदैन भन्ने शिर्ष नेताहरुको भनाइ मानेर र त्यो सही कुरा हो भन्ने जानेर भोट हाल्दा अहिलेको भन्दा पनि गएगुज्रेको स्थिति आउँछ भन्ने जनतालाई थाहा पत्तो नै छैन भनेर सोच्ने नेताहरुको सोचाइमा जनताको पनि समर्थन छ। यस्तै भ्रमहरु छरेर र अनेक खाले जालझेल गरेर भोट पाएपछि नोट कमाउने अनि राज्यका मुख्यमुख्य ठाउँमा यसरी नै खुट्टा जमाउने र मैखाउँ मैलाउँ भनेर रमाउने सुकर्म फेरि पनि निरन्तर गर्नै पर्छ भन्ने नेताहरुको धारणा अति उत्तम हो।

खाने पाउने र राज्य दोहन गर्न सकिने ठाउँमा आफू बाहेक अरु कसैको अस्तित्व स्विकार गर्न नसक्ने अति उदार प्रजातान्त्रिक दल र नेताहरुले राष्ट्र प्रधानलाई समेत आफ्नो रबर छाप बाहेक केही होइन भनेझैं गरेर आफूले जे लेखेर पठाएको छ त्यसमा हेर्दै नहेरी ठिक देखेर प्रमाणित गर्ने बाहेक कुुनै अस्तित्व छैन भन्ने मानेर ब्यहार गर्नुु उनिहरुको लोकतन्त्र हो कि प्रजातन्त्रमा ठिकै होला।

यो जान्दाजान्दै पनि नागरिकता बिधेयकमा सच्याउन पर्ने बुुँदाहरु टिप्पणी गरेर संसदमै फिर्ता पठाउन संबैधानिक राष्ट्र प्रधानले मिल्ने कुुरै होइन भन्दै यसमा ज्यादै नकारात्मक धारणा राख्दै त्यसलाई हेर्न बुझ्न पढ्न बिचार बिमर्श गर्न छलफल गर्न कुनै आश्यकता नै रहेनछ। राष्ट्र प्रधानको कुुर्सीमा बसेको ब्यक्तिले देश र जनताको हित वा फाइदा र दीर्घकालीन असर पर्ने नागरिकता जस्तो बिधेयकमा केही संशोधनको प्रयास गर्नु त ठूलो अपराध पो रहेछ भन्ने जनताले राम्ररी बुझ्न पर्छ।

दक्षिणको ताबेदारीमा यस्तो दाबेदारी गर्ने सरकार प्रधान, स्वघोषित महान नेता, कोटेश्वरे कामरेड, मधेशवादी अवसरवादीहरु, संघीयताको घोर बिरोध गर्दै त्यसैको दानापानीमा रमाउने र बिरोध गर्दै खानपिनमा रमाउने जनमोर्चा नामक दलका शिर्षहरुको उत्कृष्ट प्रजातान्त्रिक सोच र चिन्तनलाई सबैले सराहना गर्नै पर्छ अनि यिनीहरुबाट देश र जनताको ठूलो हित हुन्छ भनेर ढुक्क पर्नै पर्छ।

हुनत यिनीहरुको ताबेदारी उत्तर, दक्षिण र सात समुन्द्र पारिदेखि युरोपसम्म मजाले फैलिएको कारणले यिनीहरुको दिल र दिमाग देश र जनता प्रति पूरै मैलिएको छ। अहिले नागरिकता बिधेयकको सम्बन्धमा चाहिँ दक्षिणी छिमेक वा पारि वा उताका बिदेशी प्रभुको दह्रो ताबेदारी गर्न सके आउने चुुनावमा नोट र भोट दुबै प्राप्त गर्दै वारि वा यता सत्ताको दाबेदारी कायम राख्न सकिन्छ भन्ने सोचाइमा जनताले समर्थन र सहयोग गर्नुु बाहेक अर्को उपाय देखिँदैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *