उपसचिवलाई घुस दिने बीबी एयरवेजका सीईओविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका एक उपसचिवलाई २२ लाख ५० हजार रुपियाँ घुस दिएको आरोपमा बीबी एयरवेजका सीईओविरुद्ध भ्रष्टाचारको मुद्धा दर्ता भएको छ ।
मन्त्रालयका उपसचिव प्रमोद नेपाललाई घुस दिने बीबी एयरवेजका कार्यकारी अधिकृत हरिभक्त श्रेष्ठविरुद्ध मुद्दा दर्ता भएको हो। आज आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्धा दर्ता गरेको हो ।
प्याराग्लाइडिङ सञ्चालन गर्ने अनुमति दिने प्रयोजनका लागि सेवाग्राहीसँग ६ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा अख्तियारको टोलीले उनलाई पक्राउ गरेको थियो । अख्तियारको टोलीले उनको कारको खानतलासी गर्दा थप १६ लाख ५० हजार रुपैयाँ बरामद गरेको थियो ।
कारमा भेटिएको उक्त रकम नेपालले श्रेष्ठसँग सापटी लिएको बयान दिएका थिए । त्यसका आधारमा थप अनुसन्धान गर्दा श्रेष्ठले नेपाललाई घुसबापत उक्त रकम दिएको देखिएको अख्तियारले जनाएको छ ।
अख्तियारले बीबी एयरवेज प्रालिका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठलाई पनि मतियार बनाएर मुद्दा दर्ता गरेको हो । उपसचिव नेपाललाई इजाजत नवीकरण सम्बन्धी कार्यसम्पादन गरेको भन्दै १६ लाख ५० हजार रुपैयाँ सापटी दिएर मतियारको भूमिका निर्वाह गरेको भन्दै उनीविरुद्ध पनि मुद्दा दर्ता गरिएको अख्तियारले जनाएको छ ।







डिसी नेपाल








Facebook Comment