सबैभन्दा धेरै फर्जी कागजात बुझाइएपछि अस्ट्रेलियामा नेपालीलाई व्यवसायिक विद्यार्थी भिसा ठप्प
काठमाडौं। अस्ट्रेलियामा व्यवसायिक विद्यार्थी भिसामा जाने नेपाली विद्यार्थीहरुले फर्जी कागजात प्रयोग गरेर भिसा आवेदन गर्ने र अस्ट्रेलिया जानुपर्ने उचित कारणबिना नै भिसा आवेदन गर्ने गरेको भन्दै चिन्ता व्यक्त गरिएसँगै अस्ट्रेलियामा नेपाली विद्यार्थीका लागि व्यवसायिक विद्यार्थी भिसा लगभग ठप्पजस्तै भएको छ ।
अध्यागमन विज्ञ अबुल रिजवीले बताएअनुसार गएको अप्रिलमा नेपाली विद्यार्थीका लागि व्यवसायिक विद्यार्थी भिसा स्वीकृति दर ८५ प्रतिशत थियो । तर, यो स्वीकृति दर गएको जूनमा ३० प्रतिशतमा झरेको थियो र जुलाइमा यो दर ७ प्रतिशतमा झर्यो । ‘यो केवल भेटेरीनरी क्षेत्र हो । मलाई लाग्छ गृह विभागले उच्च शिक्षाको क्षेत्रमा पनि कडाइ गरेको छ तर व्यवसायिक क्षेत्रमा जति कडाइ छैन’ रिजवीले अस्ट्रेलियन फाइनान्सियल रिभ्यूसँग भने ‘उनीहरुले विद्यार्थी भिसालाई श्रमिक भिसाको रुपमा प्रयोग गरिरहेका छन् ।’
अस्ट्रेलियन फाइनान्सियल रिभ्यूले आफ्नो अध्ययनमा अस्ट्रेलियामा विद्यार्थी भिसाका लागि आवेदन गर्ने विद्यार्थीमध्ये ६० प्रतिशतले फर्जी दस्तावेज पेश गर्ने पाएको बताएको छ । यो कुनै देशबाट सबैभन्दा धेरै फर्जी कागजात पेश गरिएकोमा पहिलो हो । फर्जी कागजात धेरै पेश गर्ने देशको सूचीमा दोस्रो स्थानमा थाइल्याण्ड छ ।
गएको डिसेम्बरमा तत्कालीन स्कट मोरिसन सरकारले विद्यार्थीले काम गर्ने समयको सीमा हटाएर विद्यार्थीले जतिसुकै समय काम गर्न पाउने बनाएपछि विद्यार्थी भिसामा आवेदनको बाढी आएको भन्दै चिन्ता व्यक्त गरिएको थियो । अन्तर्राष्ट्रिय शिक्षा संघ अस्ट्रेलियाका प्रमुख कार्यकारी फिल हनीउडले नयाँ टिमले यस्ता प्रवृत्तिलाई नजिकबाट अध्ययन गर्नुपर्ने बताए ।
अन्तर्राष्ट्रिय विद्यार्थी परिषदका अध्यक्ष ओस्कार ओंगले धेरै विद्यार्थीहरु आफ्नो परिवारबाट सकेसम्म धेरै समय काम गरेर घरमा पैसा पठाउनको लागि दबाबमा हुन सक्ने बताए । नेपाल सरकारको रेकर्डअनुसार विदेशमा अध्ययनका लागि विद्यार्थी भिसाको स्वीकृति पाउनेमध्ये ६० प्रतिशत अस्ट्रेलियाका लागि आवेदन गर्नेहरु छन् ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment