टिम हार्न लागेपछि प्रशंशक भड्किँदा १२९ जना मारिएको लिगमा नेपाली खेलाडी रोहित चन्द खेल्छन्

डिसी नेपाल
१६ असोज २०७९ १०:०९

काठमाडौं । इन्डोनेसियामा शनिबार एक फुटबल खेलमा भागदौड मच्चिँदा कम्तीमा १२९ जनाको मृत्यु भएको छ भने ठूलो संख्यामा मानिस घाइते भएका छन् । खेल हारेको टोलीका फ्यानहरु आक्रोशित भएर मैदानमा आएपछि हिंसा भड्कियो ।

खेल पूर्वी जाभा प्रान्तको अरेमा एफसी र पर्सेबाया सुराबाया बिच चलिरहेको थियो । अरेमा एफसी हारेको देखेर फ्यानहरु मैदान प्रवेश गर्न थाले । भीडलाई नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरिएको थियो । यस अराजकतामा स्टेडियममा भागदौड मच्चिएको थियो ।

समाचार एजेन्सी एएफपीका अनुसार इन्डोनेसियाको पूर्वी जाभा प्रान्तका प्रहरी प्रमुख निको अफिन्टाले आफ्नो टोलीले खेल हारेको देखेर केही मानिसहरू फुटबल मैदानतर्फ दौडे र उनीहरूलाई रोक्न खोज्दा स्थिति अनियन्त्रित भएको बताए।

उनले भने, ‘रङ्गशालामा झगडा र अराजकता भएको थियो । ३४ जनाको रंगशालामा र बाँकीको अस्पतालमा मृत्यु भएको थियो । मृत्यु हुनेमा दुई प्रहरी पनि छन् । यो घटनाका धेरै भिडियोहरु सामाजिक सञ्जालमा शेयर भएका छन् ।

यो हिंसा इन्डोनेसियाको ए डिभिजन लिग प्रतियोगिता बीआरआई लिगा अन्तर्गतको खेलमा भएको हो । यो लिगमा नेपाली खेलाडी रोहित चन्द पनि खेल्छन् । रोहित पर्सिक केदिरी टिममा आबद्ध छन् । यद्यपि यो हिंसा रोहित आबद्ध टिमको खेलमा भने भएको होइन । रोहितले पछिल्लो खेल सेप्टेम्बर १७ मा खेलेका थिए ।

इन्डोनेसियाको फुटबल संघ (पीएसएसआइ) ले शनिबार राति विज्ञप्ति जारी गर्दै घटनाप्रति दुःख व्यक्त गर्दै सम्पूर्ण विषयमा छानबिन गर्न टोली मलङ पठाइएको जनाएको छ ।

कथनका अनुसार, “पीएसएसआइलाई कान्जरुहान स्टेडियममा अरेमाका समर्थकहरूले के गरे त्यसमा पश्चाताप छ। यस घटनामा ज्यान गुमाउनेहरूका परिवार र पीडितहरूप्रति हामी क्षमाप्रार्थी छौं। पीएसआईले तत्काल छानबिन गर्न टोली बनाएर मलङ प्रस्थान गरेको छ ।”

दंगाजस्तो अवस्थालाई मध्यनजर गर्दै फुटबल लिगले एक साताका लागि खेल स्थगित गरेको छ । यस घटनामा १८० जना घाइते भएको बताइएको छ । अरेमा एफसीलाई यो सिजन प्रतिबन्ध लगाइएको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार जैनुद्दीन अमालीले शनिबार भने कि फुटबल खेलको समयमा सुरक्षा व्यवस्थाको समीक्षा गर्न अधिकारीहरूलाई आदेश दिइएको छ। अहिले दर्शकलाई खेल स्थलमा जान दिइँदैन ।

इन्डोनेसियाली फुटबल संघले पनि यस विषयमा अनुसन्धान सुरु गरेको जनाएको छ । उसले भनेको छ, ‘यो घटनाले इन्डोनेसियाको फुटबलको छवि धमिलो पारेको छ ।

यसैबीच, इन्डोनेसियाली फुटबलको शीर्ष लिग बीआरआई लिगा एक साताका लागि स्थगित भएको छ।

इन्डोनेसियामा यसअघि पनि फुटबल खेलका क्रममा विभिन्न क्लबका समर्थकबीच हिंसात्मक झडप भएको थियो । यहाँ फुटबल प्रतिद्वन्द्वीताले कहिलेकाहीं हिंसात्मक रूप लिन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *