आम निर्वाचन–२०७८

सत्ता गठबन्धन भर्सेज विपक्षी गठबन्धन

डिसी नेपाल
२३ असोज २०७९ ७:२३
16
Shares

काठमाडौं। आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि उम्मेदवारी दर्ता गर्ने समय आज (आइतबार) का लागि तोकिएको छ।

उम्मेदवारी मनोनयन गर्ने दिन भन्दा अघिल्लो रातसम्म दलहरुबीच चुनावी तालमेलका विभिन्न स्वरुप देखिएका छन्। पाँच दलीय गठबन्धनमा आवद्ध जनता समाजवादी पार्टीले प्रमुख प्रतिपक्ष नेकपा एमालेसँग चुनावी तालमेल गरेको छ भने यसअघि एमालेसँग तालमेलको प्रयास गरेको लोकतान्त्रिक समाजवादी पार्टीले सत्ता गठबन्धनसँग चुनावी तालमेल गरेको छ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले मुलुकभर केन्द्रबाट तालमेल नगर्ने नीति लिएको भएपनि मधेसमा उसले जसपासँग चुनावी तालमेल गरेको छ। त्यस बाहेक उसले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई मक्वानपुर-१ बाट सूर्य चिन्ह लिएर उठ्न दिने निर्णय गरेको छ भने केही स्थानमा राप्रपासँगसमेत एमालेले तालमेल गरेको छ।

यसले झापा–३, रुपन्देहीलगायतका तीन क्षेत्रमा तालमेल गर्ने सहमति भएको छ। एमालेले समानुपातिकको बन्द सुचीमा खस आर्यबाट नेपाल परिवार दलका अध्यक्ष एकनाथ ढकाललाई प्राथमिकतामा राखेको छ।

तत्कालीन प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेदेखि सत्ता गठबन्धनमा सहभागी भएको जसपाले चुनावको मुखमा सत्ता गठबन्धनलाई छोडेर एमालेसँग तालमेल गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

यी दुई दलबीच १४ जिल्लाका ५२ प्रतिनिधिसभा र ११२ प्रदेशसभा निर्वाचन क्षेत्रमा चुनावी तालमेल गर्ने सहमति भएको छ। एमालेसँग निकट भएको भनिएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) भने सत्ता गठबन्धनसँग तालमेल गर्न सहमत भएको छ।

उता सत्ता गठबन्धनमा आवद्ध दल नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रय जनमोर्चाबीच चुनावी तालमेल भइसकेको छ। त्यसमा लोसपा पनि थपिएको छ।

जस अनुसार प्रतिनिधिसभातर्फका १६५ निर्वाचन क्षेत्रमध्ये नेपाली कांग्रेसले ९०, माओवादी केन्द्रले ४७, एकीकृत समाजवादीले १९, लोसपाले ७ र राष्ट्रिय जनमोर्चाले दुई सिट लिनेगरी सहमति भएको छ।

 

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.