नवौँ राष्ट्रिय खेलकुद : महिला क्रिकेटको कास्य बागमतीलाई
काठमाडौँ। गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुदअन्तर्गत महिला क्रिकेटको कास्य पदक बागमती प्रदेशले प्राप्त गरेको छ। पोखरा रंगशालामा आज भएको खेलमा बागमतीले लुम्बिनी प्रदेशलाई सात विकेटले पराजित गरेको हो।
टस हारेर पहिला ब्याटिङ गरेको लुम्बिनी प्रदेशले निर्धारित २० ओभरको खेलमा नौ विकेट गुमाएर ८७ रन बनायो। अठासी रनको विजय लक्ष्य बागमतीले १६ दशमलव एक ओभरमा तीन विकेट गुमाएर पूरा गर्यो। बागमतीका लागि सुमन खतिवडाले अविजित ४१ रनको योगदान दिइन्। उनले २१ बलमा एक छक्का र छ चौका प्रहार गरिन्। यस्तै अस्मिता खरेलले २०, अनिशा मजाकोटीले अविजित १० तथा कञ्चन श्रेष्ठले १० रन बनाइन्। बलिङतर्फ लुम्बिनीका लागि कृतिका मरासिनीले दुई तथा सुस्मिता भुषालले एक विकेट लिइन्।
यसअघि लुम्बिनीका लागि ब्याटिङ गर्ने क्रममा सरस्वती जीएमले ३० रन बनाइन्। अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् । बलिङतर्फ बागमतीका लागि विपिशा शाहीले चार, खुसी डङ्गोलले तीन तथा सोनी पाख्रिनले दुई विकेट लिइन्। अहिले स्वर्ण पदकका लागि नेपाल पुलिस क्लब र एपिएफ क्लबबीच पोखरा रंगशालामा खेल हुँदैछ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment