नेपाल शेख रसेल कप चेसको सुपर लिगमा श्रीलंकासँग पराजित

डिसी नेपाल
३ कार्तिक २०७९ ७:०६
72
Shares

काठमाडौं। नेपाल शेख रसेल कप अन्तर्राष्ट्रिय आमन्त्रण टिम चेस च्याम्पियनशीपको सुपर लिगमा श्रीलंकासँग ३-१ ले पराजित भएको छ। बंगलादेशको राजधानी ढाकामा जारी च्याम्पियनशीप अन्तर्गत बुधबार सम्पन्न सुपर लिगको दोस्रो खेलमा नेपालका लागि सिंगेश्वर दासले मात्र जीत हात पारे।

नेपाली टिमका लागि तेस्रो बोर्डमा प्रतिष्पर्धा गरिरहेका दासले श्रीलंकाविरुद्ध दुबै चरणका खेलमा लगातार व्यक्तिगत स्कोर गरेका हुन्। आफूभन्दा उच्च वरियताका श्रीलंकाली खेलाडी कालुआराचि अचिन्था सामेन विरुद्ध लिग चरणको खेलमा बराबरीको नतिजा निकालेका सिंगेश्वर सुपर लिगमा जित हासिल गर्न सफल भए।

नेपालका लागि पहिलो बोर्डमा प्रतिष्पर्धा गरेका फिडेमास्टर रिजेन्द्र राजभण्डारी श्रीलंकाली ईन्टरनेशनल मास्टर डि सिल्भा एलएमएसटीसँग पराजित भए। दोस्रो बोर्डको खेलमा नेपाली फिडेमास्टर विलमलाल श्रेष्ठले श्रीलंकाली फिडेमास्टर रनिन्दु दिलसान लियानागेसँग हार व्यहोरे भने चौथो बोर्ड खेलमा राजेन्द्र बज्राचार्यले श्रीलंकाली लिसरा समाधिथ तेनाकुनसँग हार व्यहोरे।

मंगलबारबाट शुरु भएको सुपर लिगको पहिलो खेलमा बंगलादेशलाई २-२ को बराबरीमा रोक्न सफल श्रीलंका टोली दुई खेलबाट ३ अंक जोड्दै अंकतालिकाको शिर्ष स्थानमा उक्लेको छ।

त्यसैगरी बंगलादेश १ अंकका साथ दोश्रो स्थानमा रहेको छ भने अंकविहिन नेपाल तेश्रो स्थानमा रहेको छ। सुपर लिगको तेश्रो खेलमा बिहिबार नेपालले बंगलादेशको सामना गर्नेछ।

नेपाल र बंगलादेशको नतिजाले च्याम्पियनशीपको विजेता टुंगो लगाउनेछ। नेपाल र बंगलादेश बिचको खेल बराबरीमा टुंगीए श्रीलंका च्याम्पियन हुनेछ। तीन ग्राण्डमास्टर तथा दुई ईन्टरनेशनलमास्टर सम्मिलित आयोजक बंगलादेशले यसअघि लिग चरणको अन्तिम खेलमा नेपाललाई ४–० ले पराजित गरेको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *