तेस्रो पटक सांसद जितेका मोदी सामान्य प्रशासनमन्त्री, यस्तो छ राजनीतिक यात्रा

डिसी नेपाल
३ माघ २०७९ १८:३६
320
Shares

काठमाडौं । मोरङ क्षेत्र नं ४ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका अमनलाल मोदी सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री बनेका छन् ।

तेस्रो पटक सांसद बनेका मन्त्री मोदीले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरी मन्त्रालयमा पुगेर पदभार ग्रहण गरेका छन् । मोरङको बूढीगङ्गा गाउँपालिका–६ मा २०४२ असोज ५ गते स्व पवनलाल मोदीको सन्तानका रुपमा जन्मिएका नवनियुक्त मन्त्री मोदीले स्नातकसम्म अध्ययन गरेका छन् । उनका श्रीमती र दुई छोरा छन् ।

विसं २०५६ मा अखिल क्रान्तिकारीको एकाइ सदस्य हुँदै विद्यार्थी राजनीतिमा आबद्ध हुनुभएका मन्त्री मोदीले अनेरास्ववियु (क्रान्तिकारी) को मोरङ जिल्ला अध्यक्ष भएर काम गरेका थिए । नेकपा (एमाले) बाट राजनीति सुरु गरेका मन्त्री मोदी पछि नेकपा (माओवादी) मा आबद्ध भएर काम गरे ।

मन्त्री मोदीले २०५८ सालमा थारु राष्ट्रिय मुक्ति मोर्चाको जिल्ला सदस्य तथा जिल्ला र केन्द्रमा विभिन्न सङ्गठनमा काम गरिसकेका छन् । उनी नेकपा (माओवादी केन्द्र) को नेता हुन् । मन्त्री मोदी २०७० मा समानुपातिकबाट संविधानसभा सदस्य निर्वाचित भएका थिए । उनले संविधान लेखनको मस्यौदा समितिमा रहेर कामसमेत गरेका छन् ।

कृषि र विकासमा विशेष रुचि राख्ने मन्त्री मोदीले २०६० सालमा पक्राउ परी दुई वर्ष तीन महिना जेल जीवन बिताएका थिए । राजनीतिक आन्दोलनका क्रममा उनी पटकपटक हिरासतमा बसेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.