माधव नारायण व्रतालु शेषनारायणमा

डिसी नेपाल
८ माघ २०७९ १४:२२
40
Shares

काठमाडौं। पौष शुक्ल पूर्णिमादेखि एक महिने माधवनारायण व्रत गरिरहेका व्रतालुले आइतबार फर्किङस्थीत शेषनारायण मन्दिरमा पूजा आराधनासहित दर्शन गरेका छन्।

सो अवसरमा माधवनारायणलाई शेषनारायणमुनिको सूर्यकुण्डमा स्नान गराइएको थियो। माधवनारायणलाई स्नान गराइसकेपछि सूर्यकुण्डबाट शेषनारायणसम्म व्रतालुले जल चढाउने प्राचीनकालदेखिको विधि रहेको छ।

प्रत्येक वर्ष माघ शुक्ल प्रतिपदाका दिन माधवनारायणका व्रतालुले शेषनारायणमा पूजा आराधना गर्ने प्रचलन रहेको छ। शेषनारायणमा पूजा आराधनाका लागि माघकृष्ण औँसीकै बेलुकी शनिबार व्रतालु त्यहाँ पुगेका थिए।

माघशुक्ल प्रतिपदाका दिन शेषनारायण मन्दिरमा माधवनारायणलाई राखेर पूजा आराधना गरिन्छ। तीर्थयात्राका लागि व्रतालु शुक्रबार शालीनदीबाट हिँडेका थिए । उनीहरु त्यसरात पशुपतिमा नै बसेका थिए। दोस्रो रात शेषनारायणमा बास बसेपछि तेस्रो रात बास बस्न शालीनदी पुग्ने परम्परा छ।

पौष शुक्ल पूर्णिमादेखि सुरु भएको माधवनारायण व्रत माघ शुक्ल पूर्णिमासम्म चल्छ। माघ महिनामा माधवनारायणको व्रत गरेमा मनोकाङ्क्षा पूरा हुने, विवाहित महिलाले अटल सौभाग्य एवं सुख शान्ति र अविवाहित महिलाले चिताएको बर पाउने धार्मिक विश्वास छ।

हिमालय पुत्री पार्वतीले महादेव स्वामी पाऊँ भनी सर्वप्रथम माधवनारायण एवं श्री स्वस्थानीको व्रत गरेको स्कन्द पुराणमा उल्लेख छ। त्यसबेलादेखि नै माधव नारायण र श्री स्वस्थानीको व्रत बस्ने परम्परा सुरु भएको विश्वास गरिन्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *