६ वर्षदेखि सानीभेरी नदीको गाराघाट पुल अलपत्र

डिसी नेपाल
१८ माघ २०७९ १२:५०
36
Shares

सुर्खेत। रुकुम पश्चिमको मुसीकोट नगरपालिका–१ र बाँफीकोट गाउँपालिका–१० जोड्ने सानीभेरी नदीको गाराघाट पक्की पुल ६ वर्षदेखि अलपत्र परेको छ।

तीन वर्षभित्र निर्माण कार्य सम्पन्न गर्ने उद्देश्यका साथ काम थालिएको गाराघाट पक्की पुल ६ वर्षसम्म अलपत्र परेको हो। सडक डिभिजन चौरजहारीले उक्त पुलको ठेक्का खोलेको इन्जिनियर प्रज्वल सुनारले जानकारी दिए। फाउन्डेसनको डिजाइन परिवर्तन गरिएपछि काममा ढिला भएको उनले बताए। हालसम्म ५० प्रतिशत मात्र कामको प्रगति भएको उनले बताए।

संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयअन्तर्गत सडक डिभिजन कार्यालय चौरजहारीमार्फत आर्थिक वर्ष २०७२÷७३ मा गाराघाट पुल निर्माणको टेन्डर खोल्दा नागार्जुन कन्स्ट्रक्सन प्राइभेट लिमिटेडले २०७३ मा पुलको ठेक्का लिएको थियो ।

निर्माणका लागि नौ करोड ६१ लाख रुपैयाँमा पुल निर्माण गर्ने सम्झौता गरिएको थियो। नागार्जुन कन्स्ट्रक्सन प्राइभेट लिमिटेडका प्रतिनिधि पतिराम केसीले असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने गरी कामलाई तीव्र पारिएको बताए। तीन वर्षभित्र सबै काम सक्ने पहिलो सम्झौता गरिएको भए पनि विभिन्न समस्याले गर्दा ढिलाइ भएको केसीको भनाइ छ।

पुल निर्माणको काम लामो समयसम्म सम्पन्न नहुँदा यातायात सञ्चालनमा कठिनाइ हुने गरेको छ। विशेष गरेर वर्षायाममा सर्वसाधारणलाई आउजाउ र दैनिक उपभोग्य सामग्री ढुवानीमा समस्या भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *