भेदभाव तथा छुवाछूतका घटनामा पीडितको न्यायमा पहुँच सुनिश्चित गर्न आग्रह

डिसी नेपाल
२३ माघ २०७९ २२:३१
12
Shares

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले जातीय भेदभाव तथा छुवाछूतका घटनामा पीडितको न्यायमा पहँुच सुनिश्चित गर्न सरकार तथा सम्बन्धित निकायसँग आग्रह गरेको छ ।

जातीय भेदभाव तथा छुवाछूत विरुद्ध भइरहेका घटना सम्बन्धमा समयमै प्रभावकारी अनुसन्धान हुन नसक्दा न्याय प्राप्त गर्ने अधिकारबाट पीडितहरू वञ्चित हुनु परेको अवस्थाप्रति ध्यानाकर्षण जनाउँदै उक्त आग्रह गरेको हो । आयोगका प्रवक्ता डा टीकाराम पोखरेलका अनुसार अमानवीय र आपराधिक घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीलाई कानूनी दायरामा ल्याउन र पीडितको न्याय प्राप्तिको अधिकार सुनिश्चित गर्न आयोगले तीनै तहका सरकार एवं सबै सरोकारवाला आग्रह गरेको छ ।

हालै रामेछाप जिल्ला लिखु तामाकोशी गाउँपालिका–५ का गणेश दमाई (परियार) को निर्मम कुटपिटबाट मृत्यु भएको भनिएको तथा जुम्ला जिल्ला सिञ्जा गाउँपालिका–२ घोडेङ्गका एक व्यक्तिले आफ्नो सामाजिक सञ्जालमा ‘गाइखाने डुम र मह खाने बाहुन कदापि एउटै हुन सक्दैन’ लेखेको भनिएको घटनाका दोषीलाई प्रभावकारी कानूनी कारबाहीको माग गर्दै आयोगमा ज्ञापनपत्र आएको बताइएको छ ।

आयोगका अनुसार विगतमा आयोगमा जातीय विभेद र छुवाछूतका घटनाबारे उजुरी र ज्ञापनपत्र प्राप्त हुने गरेका छन् । फेसबुक, युट्युब जस्ता सामाजिक सञ्जालमा दलित समुदायका व्यक्तिको मानमर्दन हुने गरी गालीगलौज गर्ने, मानसिक तनाव दिने एवं जातीय भेदभाव तथा छुवाछूतजन्य क्रियाकलापलाई बढावा दिने खालका कार्य हुने गरेको आयोगको अनुगमनबाट पाइएको उल्लेख छ ।

अनुगमनबाट प्राप्त तथ्यका आधारमा आयोगले पीडितको न्यायमा पहुँच सुनिश्चित गर्न पटकपटक आह्वान गर्दै आएको छ ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *