चीनले कोभिड-१९को महामारीसँगै विदेशीमाथि लगाइएको यात्रा प्रतिबन्ध खुला

डिसी नेपाल
१ चैत २०७९ ६:४९
32
Shares

बेइजिङ। चीनले कोभिड-१९ महामारी फैलिएपछि विदेशीमाथि लगाइएको यात्रा प्रतिबन्ध हटाएको छ। आजदेखि विदेशीहरूलाई भिसा जारी गरिने विदेश मन्त्रालयले बताएको छ।

महामारी नियन्त्रण गर्न सरकारले केही महिना अघिसम्म कठोर ‘शून्य कोभिड रणनीति’ अवलम्बन गरेको थियो। सरकारको पछिल्लो निर्णयले बाहिरी संसारका निम्ति चीन पुनः खुलेको छ।

चिनियाँ विदेश मन्त्रालयका अनुसार नयाँ भिसा आवेदनको समीक्षा र स्वीकृतिका साथै सन् २०२० मार्च २८ अघि जारी गरिएका तर म्याद नगुज्रिएका भिसावाहकले पुनः चीनमा प्रवेश गर्न पाउने छन्।

यस्तै सूचना संयुक्त राज्य अमेरिका र फ्रान्समा रहेका चिनियाँ दूतावाससहित विश्वका धेरै देशमा रहेका चिनियाँ कूटनीतिक नियोगहरुले जारी गरेका छन्।

सरकारले जारी गरेको भिसासम्बन्धी अद्यावधिक नीतिले पानी जहाजबाट साङ्घाई आउनेहरूका साथै हङकङ, मकाउ र आसियान क्षेत्रीय समूह भित्रका देशका निश्चित पर्यटक समूहहरूका लागि बिना भिसा यात्राको अनुमति दिएको छ।

बन्दाबन्दीको अवस्थामा महिनौँ घरभित्रै छटपटिका चिनियाँले शून्य कोभिड रणनीतिको विरोधमा देशका विभिन्न भागमा प्रदर्शन गरेका थिए। महामारी नियन्त्रणका नाममा आफ्नो राजनीतिक एवम् वैयक्तिक स्वतन्त्रता हनन भएको प्रदर्शनकारीको तर्क थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *