जब अमेरिकामा जंगली बिरालोको शरीरमा लागुपदार्थको अंश भेटियो

556
Shares

बीबीसी। परीक्षण गर्दा रगतमा कोकेनको मात्रा फेला परेको सर्भल जातको एउटा जंगली बिरालोले अहिले संयुक्त राज्य अमेरिकाको ओहायो राज्यस्थित एक चिडियाखाना तथा बनस्पति उद्यान, सिन्सिन्याटी जू एन्ड बोटनिकल गार्डनमा स्वास्थ्यलाभ गरिरहेको छ।

सामाजिक सञ्जालमा केही मानिसहरूले ठट्टा गर्दै उक्त जनावरलाई कोकेन बिरालो “कोकेन क्याट” को सङ्ज्ञा दिएका छन्। भर्खरै सार्वजनिक एउटा चलचित्र “कोकेन बेअर” को नामको अनुकरण गर्दै उनीहरूले त्यसो भनेका हुन्।

कोकेन खाएर उपद्रो मच्चाउने एउटा कालो भालुको वास्तविक कथामा आधारित भएर उक्त चलचित्र निर्माण भएको थियो। सर्भल जातको बिरालो अफ्रिकामा पाइन्छ। ती बिराला प्रायः सब‍सहारा क्षेत्रका घाँसेमैदान र झाडीमा विचरण गर्छन्। ती बिराला घरपालुवा बिरालोभन्दा ठूला र अग्ला हुन्छन्।

तिनको उचाइ ६० सेन्टिमिटरसम्म पुग्न सक्छ भने तौल आठ केजीदेखि २० केजीसम्म हुन्छ। अर्थात् ती बिरालाको आकार झन्डैझन्डै एउटा सानो कुकुरको जत्रो हुन्छ। एउटा रूखमा “चितुवा” बसिरहेको सूचना पाएपछि गत ज्यानुअरी २८ को दिन बिहान सबेरै ह्यामिल्टन काउन्टी डग वार्डन सर्भिसेजको एउटा टोली खटाइयो। उक्त सेवा सिन्सिन्याटी एनिमल केअरअन्तर्गत पर्छ।

प्रहरीले बाटोमा एक व्यक्तिलाई पक्राउ गर्न लाग्दा उक्त जनावर भागेको सिन्सिन्याटी एनिमल केअरका एक प्रबन्धक रे एन्डर्सनले बताए। सर्भल जातको उक्त बिरालोको नाम “आमिरी” राखिएको छ। उक्त बिरालो ती सन्दिग्ध व्यक्तिको गाडीबाट भागेर रूख चढेको थियो।

एन्डर्सनका अनुसार उसले आफूलाई रूखबाट तल ओराल्न खोजेको रुचाएको थिएन। प्रहरीहरूलाई उक्त बिरालोबारे खासै थाहा थिएन। विषयवस्तुको गम्भीरता बुझेर बिरालोलाई समात्न अलिक ठूलो टोली परिचालन गरेको भए हुन्थ्यो भन्ने एन्डर्सनलाई लागेको छ।

“सुरुमा हामीलाई उक्त बिरालो ‘एफवन सभ्याना’ को ठिमाहा हो भन्ने लाग्यो जुन ओहायोमा पाल्न पाइन्छ। तर हाम्रा विज्ञहरूले उक्त बिरालो सर्भल जातको भएको ठोकुवा गरे र त्यो पाल्नु गैरकानुनी हो,” उनले भने। ‘एफवन सभ्याना’ बिरालो घरपालुवा बिरालो र सर्भलको ठिमाहा हो।

“हाम्रा चिकित्सकहरूको टोलीले आमिरीलाई जाँच्यो, डीएनएको नमुना सङ्कलन गर्‍यो र लागुपदार्थको परीक्षण गर्‍यो। आमिरीको कोकेनसँग संसर्ग भएको पुष्टि भयो र डीएनए परीक्षणबाट ऊ सर्भल जातको बिरालो भएको पनि प्रमाणित भयो।” उद्धार गर्ने क्रममा उक्त बिरालो आत्तिएको थियो र उसको एउटा खुट्टा पनि भाँचियो।

प्रायः घरपालुवा जनावरलाई आश्रय दिने उक्त केन्द्रमा जङ्गली बिरालो राख्ने उपयुक्त साधन थिएन। त्यसैले थप उपचारका लागि उसलाई सिन्सिन्याटी जू एन्ड बोटनिकल गार्डनमा लगियो। “यो केसमा वार्डन तथा चिकित्सा टोलीले गरेको कामप्रति हामी गर्व गर्छौँ अनि आमिरीलाई आवश्यक स्याहार उपलब्ध गराएकोमा हामी सिन्सिन्याटी जूको प्रशंसा गर्छौँ,” एन्डर्सनले भने।
उक्त बिरालोले कसरी लागुपदार्थ सेवन गर्‍यो भन्ने स्पष्ट छैन।

एन्डर्सनका अनुसार उक्त बिरालोका धनीले छानबिनमा सघाइरहेका छन्। स्थानीय पशु नियन्त्रण कार्यालय ‘ह्यामिल्टन काउन्टी डग वार्डन सर्भिसेज’ ले तत्काल कसैविरुद्ध मुद्दा हाल्ने अपेक्षा गरिएको छैन। तर ओहायो कृषि विभागले उक्त विषयबारे छानबिन गरिरहेको छ र मुद्दा बन्द भइसकेको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *