सन्दीप लामिछानेविरुद्धको मुद्दामा किशोरीको जन्मदर्ताको सक्कल झिकाउन आदेश

डिसी नेपाल
७ जेठ २०८० १८:५९
1.7k
Shares

काठमाडौं। नेपाली क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेविरुद्धको मुद्दामा काठमाडौं जिल्ला अदालतले पीडित भनिएकी किशोरीको दुई वटा जन्ममिति देखिएपछि जन्मदर्ताको सक्कल मगाउन आदेश दिएको छ।

जिल्ला अदालतका न्यायाधीश फणिन्द्रप्रसाद पराजुली इजलासले प्रमाण बुझ्नका लागि जन्मदर्ताको सक्कल माग गरेको हो।

अस्पतालबाट प्राप्त कागजात र स्थानीय निकायबाट प्राप्त कागजातमा जन्ममिति फरक देखिएकाले प्रमाण बुझ्न सक्कल जन्मदर्ता माग गरेको काठमाडौं जिल्ला अदालतका सूचना अधिकारी दीपक दाहालले जानकारी दिए।

सन्दीपविरुद्ध गत भदौ २१ गते प्रहरी वृत्त गौशालामा जबरजस्ती करणीको उजुरी परेको थियो। भदौ २३ गते काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेकोमा असोज २० मा सन्दीप त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए।

उनलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि केन्द्रीय कारागार सुनधारामा थुनामा पठाएकोमा पुस २९ गते उच्च अदालत पाटनले २० लाख धरौटीमा सर्तसहित रिहा गर्न आदेश दिएको थियो।

उनीविरुद्धको जबरजस्ती करणीसम्बन्धी मुद्दाको सुनुवाइ काठमाडौं जिल्ला अदालतमा चलिरहेको छ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *