कालिज पालनमा रमाउँदै आशिष

डिसी नेपाल
१२ असार २०८० १८:५२
2.1k
Shares

गल्याङ । व्यावसायिक कालिजपालनतर्फ स्याङ्जाका कृषकको आकर्षण बढ्दै गएको छ । कालिजको मासु र अण्डा अत्यधिक माग हुन थालेपछि कालिजपालनलाई व्यावसायिक रुपमा विस्तार गरिँदै लगिएको हो ।

जिल्लाको कालीगण्डकी, गल्याङ, वालिङ, पुतलीबजार लगायतका स्थानमा कृषकले कालिजपालन गरेका छन् । कालीगण्डकी गाउँपालिका–५ जैपातेस्थित सित्मामा आशिष न्यौपानेले ‘आशिष दाइ बहुउद्देश्यीय कृषि फार्म’ दर्ता गरेर कालिजपालनलाई व्यावसायिक रुप दिएका हुन् ।

एक वर्षअगाडि दुई सय कालिजका चल्लाबाट व्यवसाय सुरु गरेका उनले हालसम्म १७ लाख लगानी गरिसकेका छन् । फार्म चार रोपनी जमिनमा फैलिएको छ । कालिजको मासुमा प्रचुर प्रोटिनको मात्रा, बोसो नहुने, जुनसुकै दीर्घरोगीले खान मिल्ने, सुत्केरीका लागि अत्यधिक पोषणयुक्त, स्वादिष्ट र नौलो भएकाले माग धेरै छ ।

फार्ममा कालिज र स्थानीय जातका कुखुरासमेत छन् । एक वर्षमा रु चार लाख मूल्य बराबरको कालिज, स्थानीय जातका कुखुरा र अण्डा बिक्री गरिसकेको कृषक न्यौपानेले बताए । वैदेशिक रोजगारमा पाँच वर्ष र अन्य रोजगारमा १३ वर्ष बिताएका न्यौपानेले सबै पेसाबाट सफलता प्राप्त गर्न नसकेपछि कालिजपालनतर्फ लागेको बताए ।

“सात महिनासम्म कालिज पालनसम्बन्धी अध्ययन र अनुसन्धान गरेपछि कालिज पालन सुरु गरेको हुँ”, उनले भने, “अहिले मेरै फार्मका अण्डा वालिङको ह्याचरीमा लगेर चल्ला उत्पादन गर्छु, यो वर्ष आफ्नै लगानीमा ह्याचरी मेसिन राख्ने र पाँच सय चल्ला पुर्याउने योजना छ ।”

“फार्ममा प्रतिकालिज रु २५ सय र अण्डा रु ५० देखि रु एक सयसम्ममा बिक्री हुने गरेको छ”, उनले थपे, “सामाजिक सञ्जालमा देखेर स्याङ्जा, गुल्मी, पर्वतबाट कालिज किन्न उहाँकोमा ग्राहक आउने गरेका छन् ।” वैदेशिक रोजगारबाट फर्किएकी न्यौपानेकी जीवनसङ्गीनी मिनाक्सीले व्यवसायमा उनलाई सघाइरहेकी छन् ।

कालीगण्डकी गाउँपालिका–५ का वडाध्यक्ष रुकबहादुर थापाले हालसम्म कुनै पनि कृषकलाई राहतलगायत अनुदानका कार्यक्रम दिन नसकिएको बताए । उनले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि कालीगण्डकी गाउँपालिका र हेफर इन्टरनेसनलको साझेदारीमा वडाका कृषकका हितमा काम गर्न लागिएको बताए । साझेदारी कार्यक्रमअन्तर्गत कालिजलगायत अन्य पशुपक्षी पालन गर्ने कृषकको व्यवसाय विस्तारका लागि सहयोग गरिने स्पष्ट पारे ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *