अध्यात्म

सुन किन पवित्र ? 

हरिप्रसाद सोडारी
१ साउन २०८० ६:३४
400
Shares

हाम्रो धर्म वैज्ञानिक छ, हाम्रो संस्कृतिमा जीवन छ, हाम्रो परम्परामा इतिहास छ भने पनि त्यसलाई देखाउने आधारहरु कमजोर हुँदै गइरहेका छन्। तुलसी, शिवलिङ्ग, पीपल, शालग्राम, चन्दनको प्रशंसा गर्छौं तर उपयोगिताको बारेमा मौन छौँ।

तथ्यहरु देखाउन नसक्दा, सत्यतालाई बताउन नसक्दा कैयौँ विषयहरु कथाकुथुरीमा परिणत हुँदै गएका छन्। तीर्थस्थलमा बसेर पढ्दा, देवस्थलमा रहेर लेख्दा, पुजनीय वृक्ष र दर्शनीय पदार्थलाई साथमा राखेर काम गर्दा कति प्रभावकारी हुन्छ भन्नेमा प्रयोग गरिँदैन।

देवीदेवता सम्झेर, मन्त्र पढेर, बुबा आमालाई ढोगर, पूर्व वा उत्तर फर्केर पढ्दा विद्यार्थी वा अनुसन्धानकर्तामा कति प्रगति भयो भन्ने विषयलाई प्रयोगात्मक रुपमा हेर्न आवश्यक छ।

पुर्खाहरुले मानेका, संझेका, प्रयोग गरेका, पूजेका हरेक पदार्थहरुले ऊर्जा दिन्छन्, शक्ति बढाउँछन्, कार्यलाई सहज गराउँछन् भन्ने तथ्यलाई आफैँले उपयोग गरी सन्ततिलाई बुझाउनुपर्छ।

केही शताब्दीयता भएका अत्याधुनिक भौतिक विकाशले जीवनलाई सहज, विश्वलाई सानो गाउँमा रूपान्तरण गरिदिएको छ। पुराण, महाभारत र रामायणलाई हेर्दा प्राचीन कालमा हाम्रा पुर्खाले यसभन्दा अधिक प्राज्ञिक एवं प्राविधिक उन्नति गरेको तथ्य सजिलै पुष्टि हुन्छ।

ज्योतिषबाट अन्तरिक्षको, आयुर्वेदबाट उपचारपद्धतिको, धनुर्वेदबाट हातहतियारको, स्मृतिग्रन्थबाट कानुनको, अर्थशास्त्रबाट आर्थिक वैभवको चरम विकाश गरेका थिए।

उन्नत खेतीबालीदेखि धातु उत्खनन्सम्म, प्रविधिको प्रयोगदेखि आकाशीय पिण्डको परीक्षणसम्म सूक्ष्मरूपले गरे। पारसमणिले फलामलाई छुवाएर सुन बनाउने, कोइलालाई चाप र ताप दिएर हीरा निर्माण गर्ने विधि पुर्खाको उपज हो।

काँसको भाँडामा राखेको घ्यू, तामाको भाँडामा राखेको अमिलो, चरेशको भाँडामा भएको मोही विषसमान हुन्छ भन्ने ज्ञान उनीहरूले नै दिए।

होमको धुँवाले वायुमण्डल शुद्ध हुन्छ, चाँदीले चन्द्रमाको, तामाले सूर्य ग्रहको दोष नियन्त्रण गर्छ भन्ने विषयलाई परीक्षणद्वारा प्रमाणित गरे। उनीहरूमा कुन धातुलाई खाने, कुन धातुलाई लगाउने, कुनलाई पुज्ने भन्ने ज्ञान थियो।

यसकारण ऋषिमुनिहरूले प्राचीन कालदेखि सुनलाई पवित्रतम धातु जानेर विभिन्न गहना बनाई लगाए, भस्म बनाएर खाए। सुन र पित्तल छुट्याउने, गुणस्तर थाहा पाउने विधि पुर्खाहरूले पत्ता लगाए।

आयुर्वेदका ग्रन्थहरूले अत्यन्त उपयोगी औषधिका रूपमा सुनलाई चर्चा गरेको छ। दुःखकष्ट निवारणका लागि सुनको यन्त्र, गहना आदि लगाउने परम्परा थियो। वरुणकी श्रीमती पानी हुन्, जसमा अग्नि रहन्छन्, अग्निको रेत नै सुन हो।

त्यसैले अग्नि रेतः स्वर्ण अर्थात् सुनलाई अग्निको रेत (वीर्य) भनिएको छ। रेतको अर्थ क्षमता, शक्ति, सारतत्व हुन्छ। बिहानको उदाउँदो सूर्यको किरण होस् वा आगोको ज्वाला, त्यसको रड्ड सुनसँग मिल्छ।

सुन वास्तवमा प्रकाश, अग्नि, ज्ञान आदिको प्रतिबिम्ब हो। गाईको गुईंठाले पोलेर खरानी बनाएको स्वर्णभस्मले नशा च्यापिएको, हाड खिइएको, रगतको कमी, धातुक्षय, हात-खुट्टा काम्ने, पागल बनेका रोगीहरूलाई जीवन दिन्छ ।

डाबर, वैद्यनाथ, झण्डुलगायतका आयुर्वेदिक औषधि कम्पनीले खरबौँ पर्ने सुनको भस्म उत्पादन गरेका छन्। पहिलेका राजा, महाराजा, साहूकारहरूले सुन वा चाँदीको भाँडामा खाना खान्थे।

वैज्ञानिकहरूले पनि सुनको भाँडामा राखेको पानी लामो समयसम्म बिग्रिदैन, व्याक्टेरियालगायतका कीटाणु मर्छन् भनेका छन्। शारीरिक शुद्धीकरणका लागि  सुनपानी छर्नु वैज्ञानिक हिसाबले अति उत्तम मानिन्छ। मृत्युशैøयामा रहेकालाई सुनपानी खुवाएर मुक्तिको कामना गरिन्छ।

हाम्रा पुर्खाहरूले कान, घाँटी, नाक, हात आदिमा सुनका गरगहना लगाउँथे। यो सौन्दर्यका लागिमात्र होइन पवित्र र निरोगी हुन लगाइएको हो। सुनको स्पर्शले भूत, प्रेत आदि दुष्टात्मालाई भगाउँछ।

ललितपुरमा सुनको मन्दिर छ, जो ऊर्जाको केन्द्र हो । सुनले शरीरलाई  स्वस्थ, सात्विक, ऊर्जामयसहित दीर्घायु बनाउँछ । सुनपानीले शरीरका रोग र विकारलाई घटाइदिन्छ। दाँत मर्‍यो भने बिहान सुनले घोट्दा पुनः तन्दुरुस्त बन्छ।

सुनले हड्डी बलियो, मांसपेसीलाई कसिलो, मनलाई दरिलो, शरीरलाई रसिलो बनाउँछ । प्रज्ञावान् मनुले सुनको उत्पत्ति सूर्यबाट भएको चर्चा गरेका छन्। सूर्यले गर्दा पृथ्वीको अस्तित्व रहेको छ, प्राणीको जीवन चलेको छ।

सूर्यमा जस्तो औषधि, मनोवैज्ञानिक र जीवन्त राख्ने तागत सुनमा छ। सुनलाई विधिपूर्वक लगाउनेहरू सूर्यजस्तै ओजस्वी र तेजस्वी हुन्छन्, प्रसन्नता र ऊर्जा प्राप्त गरी चिरञ्जीवी बन्दछन्।

आदिम कालदेखि संस्कृति, संस्कार, सम्पत्ति, स्वास्थ्यका लागि सुनको प्रयोग हुँदै आएको छ। अथर्ववेदमा किरात कन्याले सुनको खुर्पा लिएर औषधि खन्न निक्लेको, रामायणमा रावणको भनाईअनुसार विश्वकर्माले लङ्कालाई स्वर्णमय बनाएका प्रसंग छन्।

सुनले आध्यात्मिक, सामाजिक र आर्थिक प्रतिष्ठा बढाउँछ। सुनलाई तुरुन्तै प्रयोगमा ल्याउन मिल्ने, संसारभर चल्ने, अन्तार्राष्ट्रिय मुद्राको रूपमा लिइएको छ।

आभूषणमात्र होइन सुनका यन्त्र, गहनाले नेपाली संस्कृति, कला, पहिरनको परिचय बोकेको छ। ल्हासामा सुन छ कान मेरो बुच्चै भन्ने उखान अहिलेसम्म जनजिभ्रोमा झुण्डिएकैछ।

नेपालका धेरै स्थान र नदीमा सुन पाइने हुँदा केही जातिले बालुवा चालेर जीवन धानेका छन्। सुनले पवित्र बनाइदिएको हुनाले नदी किनारका मन्दिर, घाट र संगमहरू तीर्थस्थल मानिन्छन्।

यसकारण हाम्रा नदीका जल पवित्र हुनाले पितृलाई चढाइन्छ, देवीदेवतालाई अर्पण गरिन्छ, अमृत सम्झेर पिइन्छ। मठमन्दिरको गजुर र छाना सकेसम्म सुनले बनाइन्छ नभए जलप लगाइन्छ।

यद्वेद राजा वरुणो वेद देवो बृहस्पतिः।

इन्द्रो यद्वृत्रहा वेद तत्त आयुष्यंऽभुवत् तत्ते वर्चस्यंऽभुवत् ।।
-अथर्ववेद (१९।२६।४)

अर्थात्, “जुन सुनको तेज वरुण देवताले जान्दछन्, बृहस्पतिले जान्दछन्, इन्द्रले जान्दछन्, त्यसले तिम्रो आयु बढाओस् र तेज प्रदान गरोस्।” यसकारण यज्ञ गर्दा परिस्थितिवश आगो पाइएन भने सुनमा होम गरिन्छ।

सुनमात्र यस्तो धातु हो जसलाई आगोमा पोल्दा त्यसको गुण बढ्दछ। यहीकारण सुनलाई अग्निको बल वा अंशको रूपमा लिइएको हो। धार्मिक दृष्टिले दान दिनका लागि गाईपछिको दोस्रो पवित्रतम वस्तु सुन हो। सुन कहिल्यै अपवित्र हुँदैन।

मृतकको शरीरबाट निकालेको सुनलाई शुद्धीकरण गर्ने परम्परा छैन। सुनको औँठी लगाएको छ भने धार्मिक अनुष्ठान गर्दा कुशको औँठी लगाउनुपर्दैन । कुशलाई अनुष्ठान सकेपछि फुकालेर पवित्र ठाउँमा विर्सजन गर्नुपर्छ तर सुनको औँठीलाई कहिल्यै फुकाल्नु पर्दैन।

हरेक वस्तुलाई धार्मिक अनुष्ठानको निश्चित अवधिसम्म लगाइन्छ तर सुन पवित्र हुनेहुनाले सधैँ लगाइन्छ । चाँदी आदि धातुलाई कल्ली बनाएर खुट्टामा लगाइन्छ तर सुन पवित्र भएकाले कमरभन्दा तल लगाउन हुँदैन।

यत्र यत्रापतन्मत्रां रेतस्तस्य महात्मनः।
तानि रूपयस्य हेम्नश्च क्षेत्राण्यासन्महीपते।।
-श्रीमद्भागवत्पुराण (८।१२।३३)

महादेवको रेतबाट उत्पन्न भएकाले सुन र चाँदीलाई  चोख्याउन पर्दैन, कहिल्यै अशुद्ध पनि हुँदैन । मर्ने बेलामा वा स्थान पवित्र बनाउन सुनपानी प्रयोग गरिन्छ।

विवाहमा स्वयंवर गर्दा सुनको औँठी साटासाट गरी सुखद, पवित्र र दीर्घरूपमा पारिवारिक जीवनको कामना गरिन्छ । शुभ र अशुभ, मन्त्र र तन्त्र, देव र पितृ कर्ममा सुन आवश्यक पर्ने भएकाले परम पवित्र धातु मानिन्छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *