अध्यात्म

नेपालमा ६४ शिवलिंग किन ? 

हरिप्रसाद सोडारी
१७ साउन २०८० १०:३७
376
Shares

नेपालको वल्लोकिरात क्षेत्रमा रहेका ६४ शिवलिंगको सम्बन्ध सतीदेवीको अंगपतनसँग जोडिएको छ। एकपटक सतीदेवीका बुबा दक्षप्रजापतिले आयोजना गरेको यज्ञमा महादेव र सतीदेवीबाहेकका सबै देवीदेवता र आफन्तहरूलाई निमन्त्रणा दिए।

“भूलवश नबोलाइएको हुन सक्ने” भन्दै महादेवसँग सतीले बुबाको यज्ञमा सहभागी बन्न हठ गर्नुभयो। नबोलाएको ठाउँ र आमन्त्रण नगरिएको यज्ञमा जान हुँदैन भन्दै महादेवले रोक्न खोज्दा पनि सतीदेवी जानुभयो।

माइत पुगेपछि महादेवलाई बोलाउन बुबा दक्षप्रजापतिलाई अनेकौँ अनुरोध गर्दा सफल नभएपछि यज्ञको अग्निमा हाम्फालेर देहत्याग गर्नुभयो। देवीदेवताबाट संरक्षित दक्षप्रजापतिको घमण्डले यो घटना घटेको थियो।

वीरभद्र तथा कालीलाई उत्पन्न गरी महादेवले दक्षप्रजापतिको गर्व, उन्माद र मपाइत्व तोड्न निर्देशन दिनुभयो। सोही आज्ञाअनुसार उनीहरूले देवीदेवतालाई पराजित गरी दक्षको शिर छेदनसहित यज्ञ नष्ट गराई सम्पूर्ण आमन्त्रितहरूलाई भगाई दिए।

सतीदेवीको वियोगलाई थाम्न महादेवलाई गाह्रो भयो। सांसारिक प्राणीले जस्तै गरी  भोलेबाबाले दक्षप्रजापतिको यज्ञकुण्डबाट सतीदेवीको शव निकाली बोकेर हिँड्नुभयो। शंकरको स्पर्शले सतीदेवीको शरीर गलेन।

यस दशाबाट मुक्त गराउन देवताहरू मिलेर सतीदेवीको शरीर कुहाउने प्रयास गरे। सतीदेवको अंगपतन जहाँ भयो त्यहाँ शिव र शक्तिको स्वरूप उत्पन्न भई तीर्थस्थलमा रूपान्तरण भए।

काठमाडौँ वरपरका ६४ स्थान जहाँ सतीको अंगपतन भए त्यहाँ ऋषिमुनिहरूले शिवलिंग स्थापना गरेकाले यसको नाम चौसठ्ठी शिवलिंग हुन पुग्यो। नेपालका दोलखा, सिन्धुली, सिन्धुपाल्चोक, काभ्रे, मकवानपुर, धादिङ, काठमाडौँ, भक्तपुर, ललितपुर, नुवाकोट जिल्लामा ६४ शिवलिंग रहेका छन्। यी स्थलहरू साधना, दर्शन, पूजन आदिका दृष्टिले महत्वपूर्ण हुन पुगे।

पशुपति र गुह्येश्वरी ६४ शिवलिंगका मियो हुन्, देवस्थलका मुटु हुन्, सिद्धहरूको आश्रयस्थल हुन्, तीर्थहरुको मेरुदण्ड हुन्। पाशुपत क्षेत्रमा महादेवको बासस्थान, सतीको निवासस्थान (गुह्येश्वरी) भएकाले यसकै वरपर ६४ शिवलिंगसहित अनेकौँ शक्तिपीठको स्थापना गरियो।

६४ अंकको सम्बन्ध साधना, कला, उपसना, तन्त्र, शिव आदिसँग रहेको छ। श्रीकृष्णले ६४ दिनमा सान्दिपिनि गुरुसँग ६४ कला सिके। ६४ योगिनी, ६४ आम्नायका चर्चा तन्त्रग्रन्थहरूमा पाइन्छन्।

नेपालको सिमाना जुन कालखण्डमा पूर्वमा दोलखा, दक्षिणमा सिन्धुली र मकवानपुर, पश्चिममा धादिङ, उत्तरमा नुवाकोटदेखि गोसाइँकुण्डसम्म थियो त्यही समयमा ६४ शिवलिंग स्थापना गरेको देखिन्छ।

झट्ट हेर्दा आराध्यदेव पशुपतिलाई केन्द्रमा राखेजस्तै गरी त्यसका वरिपरि तन्त्र, मुद्रा, यन्त्र र वास्तुलाई ध्यान दिई चौसठ्ठी शिवलिंगको स्थापना गरियो।

पूर्वमा कोशी र हलेशी, दक्षिणमा नटारम्भेश्वर, पश्चिमा असितेश्वर र त्रिशूलीनदी, उत्तरमा गोसाइँकुण्डजस्ता शिवधामका बीचमा ६४ शिवलिंग स्थापित गरियो। रामायणकालसम्म शिवधनुष जनकपुरमा थियो।

भष्मासुरले लखेट्दा, कालकुट विष पिउँदा, पाण्डवले केदारमा भैँसीको रुपमा दर्शन गर्दा महादेव यही भूमिमा आए। हिमवत्खण्ड र नेपालमाहात्म्य नामक ग्रन्थअनुसार विरूपाक्षलाई नेमुनिले पहिलोपटक ६४ शिवलिंगको दर्शन र पूजा गराए।

शैव र शाक्त क्षेत्र दर्शनका कृपाले मातृगमनको पाप र त्यसबाट उत्पन्न रोगबाट विरूपाक्षले मुक्ति पाए। महाभारतका अनुसार अर्जुनले ६४ शिवलिंगमध्येको किरातेश्वर दर्शन आजभन्दा झण्डै ५ हजार वर्षपहिले गरेका थिए।

तात्कालिक राजाले शैव तन्त्र, शिवलिंगको महत्व बुझेका थिए। राज्यमा दैवी र मानवीय विपत्ति नआओस्, राष्ट्रमा सुख–शान्ति रहोस्, जनतामा शत्रु र शैतानको प्रकोप नहोस् भनी ६४ शिवलिंग स्थापना गरे।

यी शिवलिंगको आशीर्वादले जनतामा श्रद्धा बढ्यो, साधकको अनुष्ठानस्थल बन्यो, दर्शनार्थीको भीड वृद्धि भयो। नेपालका अन्य स्थानमा पनि सतीदेवीका अंगपतन भएका छन् तिनको खोज हुन बाँकी छ।

दक्षप्रजापतिले पहाडीक्षेत्रमा यज्ञ गरेका थिए। महादेवको बसोबास हिमालमा रहेकाले आर्यावर्तका पहाडी क्षेत्रमा सतीदेवीको धेरै अंग पतन भएको हुनुपर्छ। नेपालमा सतीको अंगपतन भएको हुन सक्छ।

उपत्यकाको आसपासमा धर्म, संस्कृतिप्रति आस्थावान् शासक एवं राष्ट्रियताप्रति सचेत नागरिक बसेकाले यी विषय लिपिबद्ध भए, शिवलिंगहरू निर्माण हुन पुगे, तीर्थस्थलहरूको परिचय खुले। राज्यको उदासिनताले गर्दा अन्य स्थानका सामग्रीहरू हराए, इतिहासकै गर्भमा बिलाए।

राजा हरिदत्त वर्माले उपत्यकाको चार दिशामा चार नारायणको स्थापना गरेका थिए। चार नारायण, चार गणेश, चार बराह आदिका मूर्तिहरू स्थापना गरी चारै दिशाबाट काठमाडौँउपत्यकाको सुरक्षित गरेझैँ कुनै शासकद्वारा शिवलिंगलाई आफ्नो राज्यको सुरक्षा कवच बनाएको देखिन्छ। सबैलाई आफ्नै भूमि, भाषा, कला, देवस्थल, तीर्थस्थल प्रिय लाग्छन्।

नेमुनिले यसकारण आफ्नो देशका ६४ शिवलिंगको दर्शन विरूपाक्षलाई गराए। स्वस्थानी कथा लेखिनुपूर्व नेपालमा ६४ शिवलिंगको स्थापना भइसकेको थियो।

स्वस्थानीव्रतकथाले काठमाडौँउपत्यका र आसपासका नदीनाला, पर्वतश्रृङ्खला, तीर्थस्थलको अधिक बयान गरेको छ। पहाडीक्षेत्रमा देवीमन्दिर र शिवालय प्रशस्त पाइन्छन्। तिनीहरूको इतिहास र आध्यात्मिक सम्बन्ध महादेव, पार्वती (दुर्गा वा काली)सँग जोडिएको छ।

शिवलिंग नभएका डाँडा, देवी नबसेका पहाड, गणेश र भैरव नरहेका बस्ती, नाग नभएका जलस्रोत, ऋषि नबसेका वृक्ष, सिद्ध नहिँडेका मार्ग नेपालमा छैनन्।

भारतको आसामस्थित कामाख्य देवीमा सती देवीको प्रजनन् अंग र नेपालको गुह्येश्वरीमा गुह्येस्थान (दिसा गर्ने अंग) पतन भएको पुराणहरु बताउँछन्।

धरानस्थित दन्तकालीमा सतीदेवीको दाँत झरेको थियो। पशुपतिलाई अग्निकारक (आगो) र गुह्येश्वरीलाई जलकारक रूपमा लिइन्छ। यी दुईसँग ६४ शिवलिंग एवं देवीपीठको अन्तरंग सम्बन्ध छ।

पशुपति र गुह्येश्वरी ६४ शिवलिंगका मियो हुन्, देवस्थलका मुटु हुन्, सिद्धहरूको आश्रयस्थल हुन्, तीर्थहरुको मेरुदण्ड हुन्। पाशुपत क्षेत्रमा महादेवको बासस्थान, सतीको निवासस्थान (गुह्येश्वरी) भएकाले यसकै वरपर ६४ शिवलिंगसहित अनेकौँ शक्तिपीठको स्थापना गरियो।

नेपालमा उपलब्ध साधनासँग सम्बन्ध हस्तलिखित ग्रन्थहरूलाई अध्ययन गर्दा यहाँका देवीदेवतालाई मान्त्रिक, तान्त्रिक, मिश्रित र स्थानीयपद्धतिबाट पूजा उपासना गरेको पाइन्छ। नेपालका कुण्ड, पोखरी, नदी, गुफा, खोँच, देउराली आदि अद्भूत स्वरूपका छन्।

यहीँ ऊर्जावान् मूर्ति, अनुपम देवस्थल र मोक्ष मिल्ने तीर्थस्थल पाइन्छन्। कतिपय स्थानमा अहिलेसम्म साधकहरू गुप्त रूपमा बसेर साधना गर्छन्, ध्यानीहरू ब्रह्मचिन्तन गर्छन्, देवीदेवताहरू अनेक रूप लिएर भ्रमण गर्छन्, देवदूतहरूले परिक्रमा लगाउँछन्।

केही व्यक्तिसँग अप्रकाशित पुराना ग्रन्थहरू छन्, केहीसँग कुलपरम्पराअनुसार पुज्दै आएका मूर्ति छन्, यसलाई प्रकाश पार्न सके ६४ शिवलिंगको महत्व अझै झल्कने थियो।

नेपालका मूर्तिकलासँग अनेक आख्यान जोडिएका छन्। एक मूर्तिकारले काभ्रेजिल्लास्थित पलाञ्चोकभगवतीको मूर्ति बनाए। अर्को त्यस्तै मूर्ति बनाउलान् भन्ने डरले त्यहाँका राजाले मूर्तिकारको दाहिने हात काटिदिए।

ती मूर्तिकारले देब्रेहातबाट काठमाडौँस्थित नक्सालभगवतीको मूर्ति बनाए। अर्को त्यस्तै मूर्ति नबनाओस् भनी यहाँका राजाले मूर्तिकारको देब्रेहात काटिदिए। दुबै हात गुमाएका मूर्तिकारले खुट्टाद्वारा शोभाभगवतीको मूर्ति बनाए।

यस कथनले शासकको मनोवृत्ति एवं नेपाली मूर्तिकारको क्षमता प्रष्ट हुन्छ। कतिपय मूर्तिमा देवीदेवता विलीन भएपछि दर्शनार्थ भक्तजनको संख्या वृद्धि भएको, सपनामा साधकले देखेर उत्खनन् गर्दा अलौकिक मूर्ति भेटिएको, कतिलाई ऋषिमुनिले स्थापना गरेको, केहीमा सतीदेवीको अंगपतन भई बनेको रहस्यले ती मूर्तिको गरिमा बढाएको छ। यस्ता मूर्तिले मानिसका इच्छा, साधकका साधना, भक्तको भावलाई पूरा गरिदिन्छन्।

नेपालमा रहेका ६४ शिवलिंकहरूमध्ये अधिकांशलाई ऋषिमुनिहरूले स्थापना गरेको तथ्य मानसखण्ड, हिमवत्खण्ड आदि ग्रन्थहरुले बताएका छन्। नेपालका अधिकांश पुराना मूर्तिमा कतै न कतै चोट लागेको वा टुटेका पाइन्छन्। यस्तो हुनको कारणबारे सबैमा एउटै भनाइ भेटिन्छ।

“कुनै किसानले जोत्दै गर्दा हलोको फालीले ढुङ्कालाई ठोक्दा रगत बहन थाल्छ। उत्खनन् गर्दा देवीदेवताको मूर्ति वा शिवलिङ्ग भेटियो। क्षमापूजापछि यसलाई नियमितरूपमा पूजा गर्न थालियो।” गोरखा मनकामनाको मूर्तिमा पनि यस्तै कथन जोडिएको छ।

हाम्रो भूगोलले अद्वितीय क्षमताका मनुष्यमात्र जन्माएन दुनियाँको रहस्य बताउने, दैवी ऊर्जा भएका, देवीदेवतालाई बसाउन सक्ने ढुंगा उत्पादन गरायो। नेपालले अद्भूत मूर्ति, मन्दिर, चित्र बनाउने साधक जन्मायो।

आधुनिककालमा यस्ता ऊर्जावन् मूर्ति बनाउनेहरूको नेपालमा मात्र होइन आर्यावर्तमा नै खरेडी परेको छ। हाम्रा तीर्थस्थल, देवस्थलले दैवी शक्ति प्रवाह गर्ने हुँदा तिथि र पर्वमा घुँइचो लाग्छ। शिवलिंगले जमिनमुनि, जमिनसतह र आकाशीय ऊर्जाबीच समन्वय गर्दछ।

जमिनमुनिको खण्डले पूर्वजन्म, जलहरीले यस जन्म र महादेवभागले मृत्युपछिको ज्ञान गराउँछ, मुक्ति दिलाउँछ। बनोटअनुसार शिवलिंगले हामीलाई दिने शक्ति फरक फरक छन्।

यसलाई ध्यानमा राखेर तात्कालिक राजाले विद्वान् र साधकसँग सल्लाह गरी जनता एवं राष्ट्रको श्रीवृद्धिमा ध्यान दिई ६४ शिवलिंगको स्थापना गरे। यिनीहरूमा फरक योगिनीको निवास छ, भिन्न शक्तिको सञ्चार, अनेकौँ तरङ्गको प्रवाह छ।

चाँगुनारायण क्षेत्र हल्लिएर जनता आजित भएपछि किलेश्वरशिवलिंगको स्थापना गरियो। महादेव नाचेपछि नटारम्भेश्वरको स्थापना गरियो। हृदयमा आस्था, इतिहासको गौरव, धर्मप्रति गर्व, संस्कृतिप्रति सम्मान, तन्त्रका ज्ञान, वास्तुको अध्ययन एवं इतिहासप्रति चासो भएकाहरूले विधिपूर्वक ६४ शिवलिंगको स्थापना गरे।

शिवरात्रि, सोमवार, श्रावण महिना चतुर्दशी तिथि पारेर ६४ शिवलिंगको पूजा, परिक्रममा गर्न सके अनेक लाभ प्राप्त हुन्छ। यही गरिमा बुझेर  तात्कालिक शासकले शैव धर्मप्रति श्रद्धा देखाई, राष्ट्रको गौरव बढाउन, शिवतत्वलाई जोगाउन, ६४ शिवलिंगको स्थापना गरेका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *