कविता : प्रेमको महिमा

शंकरप्रसाद रिजाल
२० साउन २०८० ७:२१
164
Shares

प्रेमको फूल कहाँ छ र कुन्नि, थाहा छैन मलाइ
नौलाख तारा बीचमा पनि, भेटिन्न तिनीलाई।

प्रेमको ज्वाला देखेको थिएँ, प्रेमको लिलामा
श्रीकृष्ण पनि लोभिए होलान्, त्यो मोहजालमा।

प्रेमको जीवन प्रेमको मिलन, श्रीपेच टल्केको
जलको बर्षा आकाश चंगा, मुहार झल्केको।

त्यो फूल हरे मलाइ देउ, नफाल त्यसरी
सजाई राख्छु मनमा हेर, आफ्नो जसरी।

प्रकाश सूर्य अस्ताए पछि, चन्द्रमा उदाए
प्रेमीको प्रेम प्रेमको प्रेमी, मनमा रमाए।

आकाश गंगा डुलेर हेर्दा, संसार बिशाल
प्रेमको गंगा डुबेर हेर्दा, म देख्छु संसार।

रहेन एक मनमा विकार, संसार रम्ने मन यो अपार
पुराण सागर सबमा छ त्यही, वन फूल रम्ने माहुरी हजार।

माया प्रेमको चर्चा ,कहाँ छैन र विश्वमा
खोजी हिँड्ने हिँड्यै छन्, यही धर्ती र भूमिमा।

प्रेमको दीप बलेको थियो, त्यो सेतो महलमा
प्रेमकै आगो दन्केको थियो, त्यै लैला भूमिमा।

हाँसनेहरु हाँसेकै छन्, यो जल कुण्डमा
चित्कार छोडी रोएकै छन् ती यो प्रेम कुण्डमा।

कथा प्रेमको भन्छन शिव कथा अमरको
त्यहीबाट सुरु हुन्छ कथा प्रेम सुगन्धको।

राम रुन्छन् “सीते” भन्दै, कृष्ण रुन्छन् त्यसैगरी
कलियुग पनि रुन्छिन्, यही प्रेममा बेशरी।

लडाइँ प्रेममै हुन्छ, क्लियोपात्राको खोजीमा
हीररान्जा पनि रुन्छन् यही प्रेमको खोजीमा।

शहन्शाह पनि रुन्थे बेगमको प्रेममा परी
रोइ रोइ बिताएथे, रातदिन घरी घरी।

प्रेमको रुप नै यस्तो, रोइ हाँसी रुवाउने
यही प्रेममा डुब्दै, सबै जीवन बिताउने।

तसर्थ आँखाको डीलमा हेर, प्रेमको रस झर्दछ
त्यही आँखाको डिलमा हेर, खुसीको जल भर्दछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *