दशौं महाधिवेशनपछि पहिलोपटक भीम रावल र ओलीको भेट किन अर्थपूर्ण ?
काठमाडौं। नेकपा(एमाले) का पूर्वउपाध्यक्ष भीम रावल लामो समयदेखि पार्टीमा भूमिकाविहीन छन्।
एमालेको दशौं महाधिवेशन पछि पदीय भूमिकामा नरहेपनि रावलले समसामयिक र राष्ट्रिय राजनीतिक ज्वलन्त विषयमहरुमा आफ्ना धारणा स्वतस्फुर्त रुपमा राख्दै आइरहेका छन्।
उनले २०७८ मंसिरमा एमालेको दशौं महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीविरुद्ध उम्मेदवारी दिएर पराजित भएपछि पार्टीमा जिम्मेवारीविहीन भएका हुन्। एमाले अध्यक्ष ओलीको आलोचक मानिने रावललाई पार्टीमा कुनै भूमिका दिइएको थिएन।
यद्यपि एमालेले केन्द्रीय सल्लाहकार समितको सदस्यमा मनोनित गरेपनि उनले सार्वजनिक रुपमा अस्वीकार गर्दै आइरहेका थिए।
एमालेले उनलाई पदीय जिम्मेवारी नदिएपनि सुदूरपश्चिम प्रदेश र आफ्नै गृह जिल्ला अछाममा राजनीतिक गतिविधिमा उनको सक्रियता आजसम्म कायमै रहेको छ।
यस अघि मिसन ग्रासरुट अभियानमा रावलको गृहजिल्ला पुगेका एमाले उपाध्यक्ष विष्णु पौडेलले रावलको आलोचना गर्दा उनका समर्थकहरुले नाराबाजी समेत गरेका थिए।
एमालेमा अध्ययनशील र प्रखर वक्ताको छवि बनाएका रावल आजभोली पार्टी जिम्मेवारीमा नरहेपनि आफ्ना अभिव्यक्ति सञ्चारमाध्यम लगायत सामाजिक सञ्जालमार्फत मुखरित गर्दै आएका छन्।
एमालेको दशौं महाधिवेशन भएको करिब दुई वर्ष पुग्नै लाग्दा समेत पार्टीमा जिम्मेवारी नपाएर हिँडेका रावललाई पार्टीमा समाहित गर्न गत चैत १८ गते वार्ता टोली समेत गठन गरिएको थियो।
एमालेका उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा कर्णबहादु्र थापा र लेखराज भट्ट रहेको तीन सदस्यीय वार्ता टोलीले रावलसँग वैशाख ३ गते एक चरणको वार्ता सम्पन्न गरेको थियो।
उक्त वार्ता सकारात्मक भएको वार्तामा संलग्न दुबै पक्षले बताएका थिए। एमालेबाट वार्तामा सहभागी नेताहरुले अध्यक्ष ओलीसँग रावलको भेट गराउने सहमति भएको बताएका थिए।
दशौं महाधिवेशनपछि अध्यक्ष ओलीसँग दाहोरो संवाद नगरेका रावल मंगलबार एमाले पार्टी कार्यालय च्यासल पुगेर अध्यक्ष ओलीसँग भेटवार्ता गरेका छन्।
उनले भेटवार्ता सकारात्मक भएको बताएका छन्। राष्ट्रिय राजनीतिका विविध विषयमा छलफल भएकोर संवादलाई निरन्तरता दिने रावले बताएका थिए।
लामो समयदेखिको संवादहिनतलाई तोड्दै मंगलबार भएको भेटवार्ताले एमालेमा रावल पदीय जिम्मेवारीसहितको भूमिकामा देखिने आँकलन गरिएको छ।
यसबारेमा नेता रावलसँग सम्पर्क गर्दा उनले अध्यक्ष ओलीसँगको भेटवार्ता पार्टीमा जिम्मेवारीको विषयमा कुनै कुराकानी नभएको बताए।उनले डिसी नेपालसँग भने, ‘राष्ट्रिय राजनीतिका कतिपय विषयमा सामान्य छलफल भयो। अरु पार्टीमा भूमिकाको बारेमा केही भएको छैन।’
उनले आगामी दिनमा अध्यक्ष ओलीसँगको छलफललाई निरन्तरता दिने बताउँदै कुराकानी सकारात्मक भएको जानकारी दिए। मंगलबारको भेटमा पार्टीमा आफ्नो भूमिकाको बारेमा कुनै छलफल नभएको रावलको प्रष्टोक्ति छ।







डिसी नेपाल








Facebook Comment