आज भारत–पाकिस्तानको खेलमा बन्न सक्छन् ५ ठूला कीर्तिमान

डिसी नेपाल
२४ भदौ २०८० १३:४२
1.9k
Shares

काठमाडौं । आज एसिया कप २०२३ को सुपर-४ मा भारतीय टोलीको पहिलो खेल पाकिस्तानसँग हुँदैछ। यो खेल नेपाली समय अनुसार दिउँसो सवा ३ बजेदेखि श्रीलंकाको राजधानी कोलम्बोमा हुनेछ । यो खेलमा सहभागितासँगै भारतीय कप्तान रोहित शर्माले आफ्नो नाममा कीर्तिमान बनाउनेछन् ।

पाकिस्तानविरुद्धको खेलमा सहभागी भएसँगै रोहित एसिया कपमा सबैभन्दा बढी एकदिवसीय खेल खेल्ने संयुक्ट रुपमा दोस्रो खेलाडी बन्नेछन् । उनले यो रेकर्ड साझा गर्नेछन् ।

बाबर आजमले भारतीय टोलीविरुद्ध शतक बनाए भने नयाँ कीर्तिमान बनाउनेछन् । यो शतकसँगै बाबरले एकदिवसीय ढाँचामा सर्वाधिक शतक प्रहार गर्ने पूर्व पाकिस्तानी लेजेन्ड सईद अनवरको बराबरी गर्नेछन् । अनवरले एकदिवसीयमा २० शतक बनाएका छन् । बाबर हालसम्म १९ शतक बनाएर दोस्रो पाकिस्तानी बनेका छन् ।

भारतीय स्टार स्पिन अलराउन्डर रविन्द्र जडेजाले आफ्नो एकदिवसीय करियरमा अहिलेसम्म १७९ खेल खेलेका छन् जसमा १७२ इनिङ्समा १९७ विकेट लिएका छन् । यदि उनले पाकिस्तानविरुद्ध ३ विकेट लिए भने एकदिवसीयमा २०० विकेट पूरा गर्ने तेस्रो भारतीय स्पिनर बन्नेछन् । जबकि समग्रमा उनी एकदिवसीयमा २०० विकेट पूरा गर्ने सातौं भारतीय बन्नेछन्।

पाकिस्तानविरुद्धको यो खेलमा भारतका पूर्व फास्ट बलर इरफान पठानको कीर्तिमान पनि दाउमा परेको छ । इरफान पठान र रविन्द्र जडेजा एकदिवसीय एसिया कपमा संयुक्त रूपमा सर्वाधिक २२-२२ विकेट लिने भारतीय बलर हुन्। जडेजाले थप एक विकेट लिए भने पठानको कीर्तिमान ध्वस्त हुनेछन् । यससँगै जडेजा एकदिवसीय एसिया कपमा सबैभन्दा बढी विकेट लिने भारतीय बलर बन्नेछन् ।

एकदिवसीय एसिया कपमा अहिलेसम्मकै सर्वाधिक ५०+ स्कोर बनाउने कीर्तिमान श्रीलंकाका पूर्व कप्तान कुमार संगकाराको नाममा छ । उनले १२ पटक यो उपलब्धि हासिल गरेका छन् । जबकि श्रीलंकाका सनथ जयसूर्या र सचिन तेन्दुलकरले ९–९ पटक यो उपलब्धि हासिल गरेका छन् । उनीपछि भारतीय कप्तान रोहित शर्माले एकदिवसीय एसिया कपमा ८ पटक ५०+ स्कोर बनाएका छन् । यदि उनले पाकिस्तानविरुद्ध अर्को अर्धशतक बनाए भने उनी सचिन र जयसूर्याको बराबरीमा पुग्नेछन् ।

भारतीय कप्तान रोहित शर्माले एकदिवसीय एसिया कपमा अहिलेसम्म २४ खेल खेलिसकेका छन् र उनी प्रतियोगितामा सबैभन्दा बढी खेल खेल्ने भारतीय पनि हुन्। तर रोहित समग्रमा सबैभन्दा धेरै खेल खेल्ने आधारमा संयुक्त रूपमा तेस्रो स्थानमा छन्। रोहित बाहेक श्रीलंकाका पूर्व दिग्गज कुमार संगकारा, मुथैया मुरलीधरन र अरविन्द डी सिल्भाले धेरै खेल खेलिसकेका छन् । पाकिस्तानविरुद्धको खेलमा सहभागी भएसँगै रोहित संयुक्त दोस्रो स्थानमा पुग्नेछन् ।

एकदिवसीय एसिया कपमा अहिलेसम्म सबैभन्दा धेरै खेल खेल्ने कीर्तिमान श्रीलंकाका पूर्व कप्तान महेला जयवर्धनेको नाममा छ, जसले २८ खेल खेलेका छन् । दोस्रो स्थानमा रहेका श्रीलंकाका सनथ जयसूर्या र बंगलादेशका मुस्फिकुर रहिमले संयुक्त रुपमा २५–२५ खेल खेलेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.