कविता : भ्रष्टाचार

शंकरप्रसाद रिजाल
१३ असोज २०८० ७:१४
124
Shares

नेपाली भै अपमान मात्र सहँदै, बस्ने सबै कायर
यस्तो जीवन बाँच्नुको रहर फेरि, बाँचेर के हुन्छ र
पीडा ग्लानी लिएर मनमा, के बाँच्नुको अर्थ भो?
ज्युँदै लाश भएर बाँच्नु पनि, के नेपालीको धर्म हो?

बाँच्नै पर्दछ शानले यदि भने, नेपाली भई जातले
बाँचे झैं किन जिउनु व्यर्थ यसरी, मर्ने बरु शानले
लाछी कायर भै सधैं यसरी नै, बस्ने पुरा जीवन
धर्तीको किन भार व्यर्थ यसरी, हामी बनी निर्जन

जे गर्छन् सहेर बस्नु अब त, शान्ति भनी ठान्दछौ?
के अन्याय सहेर जीवन भरी, आँशु पिई बस्दछौ
जे हुन्छ कुकर्म ती सब सही, बस्दा नेपाली जीवन
अन्यायी र भ्रष्टहरुले अझ गर्छन् यहाँ शोषण

भ्रष्टाचार गरी हिँड्ने, ठूला नेता भइकन
अन्यायै गरी अर्को हिँड्ने, ठूला न्यायमूर्ति बनिकन
अत्याचार बढ्यो देशमा, अब नेपाली उठौं सबै
बस्ने घरमा होइन, लागौं अब कर्ममा सबै

देख्दैनन् दिलको आगो, बलेको कठै कुनै
सारै पोल्छ भित्र कहिले, हेर्दैनन् कोही बरै
पोखुँ कोसित बेदना सब यी, सुन्दैनन् कोही किन
देखी यी सब दुर्दशा किन अझै, पग्लेन तिम्रो मन

बारम्बार सहेर बस्नु यसरी, केही नबोली मन
के भन्ला मनले यसै गरी बस्दा, आँसु बहाईकन
हामी वीर भनेर बस्नु अब त, हो ब्यर्थ भो भूमिमा
जसको उर्जा र वीरता बखतमा, जाग्दैनन् कैले यहाँ

सारा विश्व नियाली हेरी रहने, यो देशको गौरव

हामी चाहीँ हेरी मात्र बस्ने, झगडा गरी झैं कौरब
आँखाको ज्योतिमा हेर, नेपाल कति सानो छ
त्यही आँखाको नानीमा अट्ने, नेपाल कति रम्य छ

भ्रष्टाचार बढ्यो देशमा, अत्याचार त्यसै गरी
देशमा न्याय खोइ कहाँ गयो, मिचे कै छन् कसैगरी
सक्दिन हेर्न सक्दिन भन्दै हिँड्छिन आमा यताउति
रोइ सन्तानहरु सबै लिइ,आमा रुन्छिन् उठी उठी

हुरीको बेगमा लागौं, भ्रष्टाचार हटाउनमा
त्यसैको साथमा लागौं ,अत्याचार मेटाउनमा
दुवै हटाउनमा लागे, अन्याय स्वतः हट्दछ
यति गर्‍याैं भने हामीले, संसारै छक्क पर्दछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *