कविता : दशैंको खुशी र रोदन
दशैं त आयो कतिलाई उस्तै, रुने र हाँस्ने दिन रात जस्तै धनी
रमायो सब चीज खाई,गरीब रोयो ऋण लगाइ लगाइ
कति छ यसको महिमा अपार, हिन्दुहरुको यो ठूलो छ चाड
रमाई हिँड्ने दिलदेखि सारा, दुर्गा भवानी सबको सहारा
मान्छेहरुको घरमा छ बास, दुर्गा भवानी पूजिएर खास
चंगा उडाइ र पिङ चढाई, बसेर रम्छन् सब यी दिनैमा
हिमाललाई हिउँनै छ प्यारो, गरीबलाई अति नै छ गाह्रो
लाग्दैन कैले उसलाई घाम, तीर्थ घुमाए पनि चारधाम
धनी रमाउँछन् महलमा जमेर, गरीब चाहिँ झोपडी कुरेर
रम्यो रमायो यसले तमाम, तर, बडादशैं नहोस् बेलगाम
जुवा र तास धनीको भतेर, गरीब रुने मन भित्र हेर
टीका लगाई जमरा जमाइ, खुसी छन् सारा जगतै रमाइ
निधार शोभा अति भिन्न लाग्छ, मानौं सबैको सब भाग्य जाग्छ
टीका छ यसको अति भाग्यमानी, लगाउनु सबैले अति मूल्य जानी
टीका र सँगै आशिषको बहार, भाग्य र भविष्यको ढोका उघार
परम्परा यो सबलाई मिष्ठ, रमाउँछन् सबै रिष्टपुष्ट
हाँसेर रम्छन् हरपल घडीमा, बसेर खान्छन् सब आफ्नो घरमा
बडाहरुको उपदेश अर्ती उम्रिरहन्छन् सब बुद्धि शक्ति
पाइन्न यो भुलेर फेर, अखण्ड बत्ति यसको बलेर
जलेर सारा दुःख पाप हानि जन्मिरहन्छन् सुख शान्त ज्ञानी
दुर्गा भवानी सत सप्तचण्डी पूजा र पाठ सुन शंख घण्टी
आओस् मनैमा सबको बहार, सर्वत्र फैलिउन बिजयको उपहार
न क्लेश आओस् मनमा कसैको, न दम्भ आओस् जगमा कसैको
धनी धनी हुँदै जाउन, गरीब धनी धनी झैं बनी
नरहुन् कोही दुखी, जोगी सन्यासी केही पनि
दुर्गा भवानीले गरुन् रक्षा, सबैको भाग्यमा पनि
बलोस् धप धप “श्री” सबको, यश फैलियोस् जताततै
टुसाओस् प्रेमको आंकूर दुखी माथि दया रहोस्
राष्ट्र र अन्तर्राष्ट्रमा सबैको नाम सधैं रहोस्
म गर्दछु यही कामना, बडादशैं सुखी रहोस्।
No ads found for this position


Facebook Comment