विश्वकप क्रिकेट : न्युजिल्यान्डसँग नेदरल्यान्ड्स ९९ रनले पराजित

डिसी नेपाल
२२ असोज २०८० २२:१३
132
Shares

काठमाडौं । आइसिसी विश्वकप क्रिकेट, २०२३ अन्तर्गत आजको खेलमा न्युजिल्यान्डले नेदरल्यान्ड्सलाई ९९ रनले पराजित गरेको छ । न्युजिल्यान्ड लगातार दोस्रो खेलमा विजयी भएको हो । न्युजिल्यान्डले यसअघि पहिलो खेलमा इङ्ल्यान्डलाई नौ विकेटले पराजित गरेको थियो । नेदरल्यान्ड्स भने यसअघि पहिलो खेलमा पनि पाकिस्तानसित ८१ रनले पराजित भएको थियो ।

भारतको हैदरावादमा नेदरल्यान्ड्सले टस जितेर पहिला फिल्डिङ रोज्यो । न्युजिल्यान्डले ब्याटिङ गर्ने क्रममा निर्धारित ५० ओभरमा सात विकेट गुमाएर तीन सय २२ रन बनायो । तीन सय २३ रनको विजय लक्ष्य पछ्याउने क्रममा नेदरल्यान्ड्सको पारी ४६ दशमलव तीन ओभरमा दुई सय २३ रनमा समेटियो ।

न्युजिल्यान्डका लागि ब्याटिङ गर्ने क्रममा विल योङले सर्वाधिक ७० रनको योगदान दिए । उनले ८० बलमा दुई छक्का र सात चौका हाने । यस्तै कप्तान टम लाथमले ४६ बलमा एक छक्का र ६ चौकासहित ५३, रचिन रविन्द्रले ५१ बलमा तीन चौका र एक छक्कासहित ५१, डार्यल मिचेलले ४७ बलमा दुई छक्का र पाँच चौकाको मद्दतमा ४६ तथा मिचेल शान्टनरले अविजित ३६ रन बनाए । उनले १७ बल खेल्ने क्रममा दुई छक्का र तीन चौकासमेत हिर्काए । यसैगरी डेभन कन्वेले ४० बल खेल्दै एक छक्का र पाँच चौकाको मद्दतमा ३२३ रनको योगदान दिए ।

बलिङतर्फ नेदरल्यान्ड्सका आर्यन दत्त, पाउल भान मार्केन र रोइलोफ भान डेर मेर्वेले दुई दुई तथा बास डी लिडेले एक विकेट लिए ।

दुई सय २३ रन बनाउने क्रममा नेदरल्यान्ड्सका कोलिन एक्रिमनले ६९ रन बनाए । उनले ७३ बल खेल्ने क्रममा पाँच चौका प्रहार गरे । कप्तान स्कट एडवार्डस्ले ३०, शाइव्रान्ड इन्जिेलव्रेच्डले २९, तेजा निदाममनरुले २१, बास डी लिडेले १८, म्याक्स ओडाउडले १६, विक्रमजित सिंहले १२ तथा आर्यन दत्तले ११ रन बनाए

बलिङतर्फ मिचेल शान्टनरले पाँच, म्याट हेनरीले तीन तथा रचिन रविन्द्रले एक विकेट लिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.