बेमौसमी वर्षाले किसान दुःखी

डिसी नेपाल
३० असोज २०८० ८:५९
72
Shares

टीकापुर (कैलाली)। कैलालीमा बेमौसमी वर्षा भएपछि किसान दुःखी भएका छन्। धानबाली भित्र्याउने समयमा हावाहुरीसहितको वर्षाले किसानलाई चिन्तित बनाएको हो। सोमबार दिउँसोबाट वर्षा सुरु भएपछि धान पाकेर भित्र्याउ जुटेका किसान बाली नोक्सान हुने पीरले चिन्तामा छन्।

टीकापुरका किसान निर्मल विकले काटेर सुकेको धान पानीमा भिजेको छ। पानी पर्ने सूचना पाएपछि धान थ्रेसिङ गर्ने (दाउने) तयारी गरे पनि ट्रयाक्टर नपाउँदा निर्मलको सुकेको धान खेतमै भिज्यो।

“ट्रयाक्टर आउँछ भनेर बाटो कुरेर बसेँ, आएन, समयमै धान घर भित्र्याउन पाइएन”, उनले भने, “हावाहुरीले धान यत्रतत्र छरिएको छ । अझै वर्षा भएमा धानबाली खेतमै सड्ने चिन्ता बढेको छ।”

अर्का किसान पदम ओलीको खेतमा धान पाकेर बाला झुलेका छन्। वर्षाको डरले धान नकाटेका पदमको खेतमा सोमबारको हावाहुरीसहितको वर्षाले क्षति पुर्याएको छ। “हिजोको वर्षा र हावाहुरीले धान भाँचेको छ”, उनी भन्छन्, “अझै वर्षा भएमा धानबालीमा धेरै क्षति हुन्छ। धान घर भित्र्याउने बेलामा हरेक वर्ष किन वर्षा हुन्छ होला?”

कैलालीको किसानले हरेक वर्ष आउने बेमौसमी वर्षाका कारण पछिल्ला तीन वर्षयता धानबाली राम्ररी भित्र्याउन पाएका छैनन्। कैलालीमा अधिकांश किसानले धान काटेको, अधिकांशको काट्न बाँकी छ। यस्तो बेलामा आएको वर्षाले किसान खुसी हुनसकेका छैनन्।

“विसं २०७८ मा आएको वर्षापछिको बाढीले तीन बिघा धानबाली बगेर गयो, गत वर्ष पूर्वसूचना पाएर बाली काटेनौं, गत वर्ष पनि आधामात्रै जोगियो”, टीकापुर-५ का किसान हरि चौधरीले भने, “यस वर्ष पनि मौसमसम्बन्धी सूचना हेरेर धान काटेका छैनौँ, तर हावासहितको पानी आएकाले आधा नोक्सान भइसक्यो, अझै वर्षा भएमा यस वर्ष पनि धानबाली भित्र्याउन नपाइनेजस्तै छ।”

किसान पार्वती चौधरीले पानी आउन थालेपछि बोक्दाबोक्दै काटेको धान भिजेको बताए। “मौसम परिवर्तन हुन थालेपछि हतार-हतारमा काटेको धान बोक्यौं तर सकिएन”, उनले भने, “आधाआधी बोक्याैं, बाँकी धान खेतमै भिज्यो।”

टीकापुर-४ का किसान विपीन चौधरीले किसानले काटेको धान खेतमै थुप्रो लगाएका बताए। “किसान दिनभरि तनाबमा रह्यौँ, अधिकांशले काटेको धान खेतमै थुप्रो लगाएका छन्”, उनले भने, “अब यसरी राखिएको धान फेरि मुठा खोलेर सुकाउनुपर्छ, किसानको काम पनि बढ्यो, बालीमा समेत क्षति भयो।”

वर्षा अझै हुने भएकाले कृषि प्राविधिकले किसानलाई केही दिन धान बाली नकाट्न सल्लाह दिएका छन्। कैलालीको टीकापुर नगरपालिका र जानकी गाउँपालिकाले सूचना प्रकाशित गरेर किसानलाई बाली नकाट्न सल्लाह दिएका छन्। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *