चिन्तन

चोरी

शंकरप्रसाद रिजाल
१६ मंसिर २०८० ६:२९
108
Shares

‘चोरी’ एक समाजको कलंकित शब्द हो। यसलाई मन पराउने केवल यही पेशामा लागेका मात्र हुन्छन्। यो पेशा संसारका सभ्य भनाउँदाहरु र धर्मशास्त्रका ज्ञाता, समाजका प्रतिष्ठित व्यक्ति, ठूल्ठूला लेखक, राजनेताले पटक्कै मन पराउँदैनन्। तसर्थ यो शब्द आफैंमा एउटा अत्यन्त पर सारिएको अपहेलित शब्द हो।

तर सुक्ष्म आलोकले विश्लेषण गर्दै जाने हो भने यहाँ सबैजना चोरी र ठगी पेशामा आँफूभित्रै नाग पासोमा बेरिइरहेका देखिन्छन्। कसैले नदेख्ने, कसैले थाहै नपाउने र पत्तै नपाउने गरी कसैको ठग्नु, कसैको कुरा काट्नु, कसैको स्वामित्वमा रहेको कुनै चीज हडप्नु,फकाई फुल्याइ प्रलोभनमा पारी सम्पत्ति हत्याउनु, छोरी बुहारीलाई खुसुक्क उडाई लानु, अर्काको किताबबाट खुसुक्क एक हरफ चोरी आफ्नो किताबमा सामेल गराउनु, मास्टरले किताबबाट नोट बनाइ विद्यार्थीलाई सार्न दिनु, एउटाको भाषा अर्कोले चोर्नु आदि काम समाजमा ठूलादेखि सानासम्मले हरपलमा संसारभर गरिनै रहेका हुन्छन्।

तसर्थ संसारमा को त्यस्तो व्यक्ति छ जसले चोरीको काम नगरेको होस्। यो सत्य युगदेखि हाल कलियुगसम्मपनि लुकीछिपी अस्तित्वमा रही रहेको छ।

सत्य युगमा समुद्र मन्थन गर्दा सागरको गर्भबाट ज्ञानको भण्डार वेदको चोरी भयो। चोरिएको वेदमा पनि फेरि एउटा वेद लुकाउने प्रयत्न गरियो। बाँकी अमूल्य चीजलाई भित्र भित्रै लुकाई एक भयानक वेद ग्रन्थलाई विद्वान ऋषि महर्षिहरुले ४ वेदमा विभाजन गरी आफ्ना मनमा लागेका कुराहरु पनि थपथाप गरि संसार समक्ष प्रस्तुत गरे। कति कुरा छिपे होलान् र कति कुरा थपिए होलान्। यो कुरा कसले बुझ्ने र बुझाउने?

समुद्रको गर्भबाट चोरी गरी मन्थन गर्दा भेटिएको भनी नाटक गरी पाएको ज्ञान र प्रज्ञा चोरी नभए अरु के हुन सक्तछ? बस यहीबाट चोरीको सुरुवात भयो।

एक वेदलाई चार वेदमा बिभाजन गर्दा झन भाषाहरु कति फुटे होलान्, कति टुटे होलान्, कति कमी भयो होला र कति बढाइयो होला भन्न सकिन्न। यो पनि एउटा चोरीको लुकामारीको पारखी नै हो। यस्तै चोरी जालझेल गरी भगवान विष्णुले शिवजीको लागि भनी आफूलाई दक्षप्रजापतिसँग पार्वती मागी छलकपटको अनावश्यक नाटक गरी दक्षलाई मोहजालमा पारेर शिवजीलाई सुटुक्क कन्यादान गराउनु के त्यो चोरी र छलकपटको पराकाष्टा होइन?

त्यस्तै सृष्टिकर्ता भनिएका ब्रह्माजीले आफ्नै छोरी सरस्वतीलाई खुसुक्क व्यभिचार गरिएको के त्यो चोरी हैन? नभए किन आज ब्रम्हाजीको पुजा संसारमा गरिँदैन? गरिँदैन भने फेरि किन भारतको पुष्करमा ब्रम्हाजीलाई स्थान दिइ फेरि पवित्र स्थल मानिएको? यो सबै छलकपट नभए अरु के हुन सक्तछ र। छलकपट पनि चोरी नै हो। यस्ता शंकास्पद चोरीका कुरा पुराणमा प्रशस्त पाइन्छन्।

कसैलाई बिगार्नु छ भने श्राप दिइ सखाप बनाउनु, अर्काको मन दुखाउन अलिकति पनि नहिच्किचाइ दया र माया जस्ता आदर्शका कामलाई लुकाइ देवाधिदेव माहादेबले बिचरी पिताजीको सत्काममा लागेकी गोमालाई आफूतिर तान्न अचानक श्राप दिइ जीवनमा दुख दिनु के त्यो चोरी हैन? तसर्थ चोरी ठगी काम गर्न सत्ययुग पनि पछि परेको छैन।

त्रेता युगमा मर्यादा पुरुष रामचन्द्र जस्ता परमात्मालाई अनेक छलछाम गरी अनाहकमा १४ वर्षको कठोर जीवन बिताउन लगाउनु के सबैको गल्ती थिएन? के सबैको ठगिपना थिएन? ज्ञानका सागर दशरथजीले त्यति जाबो कुरा नमिलाइ राजा हुने छोरालाई वनवास जानबाट रोक्न नसक्नु ज्ञानको चोरी नै हो, ठगी नै हो भन्नुमा कुनै अत्युक्ति नहोला।

यो सब लिखतमा विवसमा परेको भनिएता पनि आखिर निर्णय अगतिलो र छलछाम, ठगी र चोरीको बिषय नै हो। त्यस्तै मर्यादा पुरुष श्री रामचन्द्रजीले बालीलाई छल गरी वाण हत्या गरेको वर्णन के कुन चाहिँ चोरले गर्ने कामभन्दा कम थियो र?

त्यस्तै रावणले रामको मन चोर्न सीताजीलाई अपहरण नै गरी लंका पुर्याउनु के त्यो चोरी डकैती र अपहरण हैन र? ठूलो मान्छेले अपराध गर्दा चोरी नहुने र साना मान्छेले सानो कुरा चोर्दा मात्र चोरी हुने हो र? अवश्य होइन।

त्यस्तै द्वापर युगमापनि कंस जस्ता महाकुख्यात चोर र हत्त्यारा नभएका होइनन्। आफ्ना भान्जाहरुलाई चोरी चोरी हत्या गर्ने षड्यन्त्र पनि कहाँ नभएको हो र। बिचरा अन्तिम छोरा श्रीकृष्णलाई बचाउन बासुदेवले ठूलो सागर पार गर्नु परेको थियो।

यदि चोरी र चोर, जाली र फटाहा कंस नजन्मिएको भए कृष्ण लीला कति सुखमय हुन्थ्यो होला। सम्पूर्ण कथा कति रोचक हुन्थ्यो होला। कथाको चरितार्थ लेखकको कलाकारिता नै हो। तर पनि कुनियतको पराकाष्टालाई लेखकले लुकाउन सक्तैनन्।

चोरी चोरी नै हो, ठग ठग नै हो र बदमास बदमासै हो। त्यस्तै द्रौपदीको चीर हरणमा सबै आफ्ना मान्यवरले नतमस्तक भै भारी सभामा दुर्योधनबाट चीर हरण भइरहेको बेला कसैलेपनि नबोली बस्नु के त्यो आचरणको चोरी हैन र?

फेरि त्यस्तै मायाजालमा मस्त बनाइ सारा गोपिनीलाई आफ्नो बनाउनु के त्यो चोरी हैन? त्यसै कारणले त उनको नाम ‘चित्तचोर’ पनि राखिएको पाइन्छ। त्यस्तै कनडु ऋषिले स्वर्गबाट झरेकी अप्सरालाई ९० दिनसम्म लगातार भोग बिलाश गरिरहनु के यो प्रेमको बलात्कार र चोरी हैन?

देवयुगको पालामा पनि जाली फटाहा चोर चरित्रका मानवको कुनै कमी थिएन। कुनै न कुनै रुपमा आफ्नो स्वभाव र असभ्यताको चरित्र प्रदर्शन गरी फेरि ठूलो मान्छे भइ बाचेकै छन्। तसर्थ कसलाई चोर भन्ने र कसलाई सज्जन भन्ने यो गर्भको नै बिषय बनेको छ।

आजको यो कलियुगमा पनि ढाँट र चोरीको संसारभर बोलवाला छ। यहाँ बिषय चोरी गरी लेखकले आफ्नो लेख र किताबका ठेली तयार गर्दछन्। साधुलाई चोर बनाउँदछन् र चोरलाई साधु।

हजारौं बर्षदेखिआजसम्म पनि यो कलियुगमापनि सबै जसो ज्ञानको चोरी गर्ने, कोही सभ्यताको चोरी गर्ने, कोही धर्मको चोरी गर्ने र ध्येय र उद्देश्य एकै राखी नाम फरक गर्ने, सरकार लुकीछिपी भ्रष्टाचार गर्ने, ब्यापारीले आफ्नो लागतमा कुस्त नाफा जोडी मूल्यको चोरी गर्ने, लेखकले अर्काको लेखनको चोरी गरी आफ्नो किताबको ठेली तयार गर्ने, महाज्ञाताका चोरहरु यहाँ धेरै छन्।

उसले उसको चोर्ने, उसको उल्ले चोर्ने काम यहाँ सदियौंदेखि चली आइरहेको छ। उत्पादक निकासी र पैठारीमा चोरी गर्ने, लेखक किताबको पाना चोर्ने, दार्शनिक अर्काको दर्शन चोरी अर्को आफ्नै नयाँ दर्शन निर्माण गर्ने, धर्मशास्त्रीहरु धर्मको कुरा खुसुक्क कहींबाट चोरी गरी आफ्नै साँचोमा ढाली आफैंले स्वयम बुझेको जस्तो गरी पण्डित्याइँ छाँट्ने र भोला भाला र ज्ञानबाट अन्जान भएकालाई ठूला कण्ठष्थ श्लोकहरु घोकाइ ज्ञान सागरमा झन् गुमराह बनाउने, कविहरु आफूभन्दा अघिका कविका कविता घोकी राम्रो एक दुई हरफ भएपनि सुटुक्क चोर्ने, त्यस्तै प्रत्येक युवकले युवतीको मन चोर्ने र युवतीले युवकको मन चोर्ने, छोराले बाबुको कोटको खल्तीको पैसा चोर्ने जस्ता काम भएपछि दुनियामा चोरी नगर्ने को रहेछ र? यहाँ प्रत्येक प्रत्येकलाई ठग्ने र चोर्ने काम भएको छ।

फरक के छ भने हाँसीहाँसी चोर्ने, कहिले रुवाइ रुवाइ चोर्ने, कोही दिनदहाडै चोर्ने, कोही रातमा चोर्ने। तर जहिले जहाँ जुनबेला जसले जे चिज चाहे त्यो तन, मन र धन किन नहोस् त्यो झर्रा शब्दमा चोरी नै हो भन्नेमा कसैको पनि दुईमत रहदैन।

तसर्थ संसारमा सदियौंदेखि एउटा चोरले अर्को चोरबाट चोरी गरेर नै हरेक विधामा आ–आफ्नो धाक जमाएका छन्। यहाँ एक सज्जनको अर्को सज्जनसँग सम्मान र तारिफ के भएको छ र? भएपनि बिरलै।

तर हरेक बिहानैदेखि एक चोरले अर्को चोरको भण्डाफोर गर्ने काम भने संसार भरी नै चलेको पाइन्छ। चोरको खुट्टा काट भन्दा आज संसार भरिका मानिसले एकैचोटी खुट्टा उचाल्ने कुरा निश्चित छ भने यहाँ सज्जन र सत्यताको कुनै गुन्जायस नै छैन। अतः चोरीको काम सबैबाट हुने भएकोले सबैलाई चोरीको बर्गीयातामा राख्दा केही फरक नपर्ला। सुन्दा अचम्म लागेपनि सत्यता यहि हो।

चोरी नभएको कुरा खोज्ने हो भने एकमात्र चिज हामी ज्ञानको खोजीमा भेट्टाउँछौं। त्यो हो ‘मूल वेद तथा वेदमन्त्र’ यो त्यस्तो ज्ञानको सागर हो जुन परमात्माको पनि चेतनाको लहरतलाबाट चुहिएका अमर वाणी हुन्, जसको ज्ञानको महत्व न कहिले घट्छ न कहिले बढ्दछ।

जे उल्लेख भयो त्यो भयो भयो। अतः बिशुद्ध चिज भनेपनि, विशुद्ध ज्ञान भनेपनि त्यही एक सत्य र सदाचारमा रही आएको छ। अरु सबै चोरीका ज्ञान, सामान, सम्पत्ति तकनिकी र सोच आफैंमा एक चोरी हो जुन क्षणभर मै नाश हुने छ।

तसर्थ कोही भलाद्मी चोर, कोही आचरणका चोर कोही पेशेवार चोर, कोही बुद्धिका चोर, कोही स्वभावका चोर त कोही देखासिकीका चोरीका नाइके हुन्। केवल भनाइ, देखाइ, हेराइ र गराइमा मात्र फरक हो।

अतः यो समाजमा म लेखक पनि एक चोरीको नाइके सरहनै हो जो हर कुरा चेतनबाट चोरी चोरी समाजमा पस्किइ रहेको छु। यसैमा मेरो चेतनाको दियो बलिरहनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *