ठूलो आइसीसी प्रतियोगितामा भारतले फेरि दादागिरी देखाउन सक्ने

डिसी नेपाल
१० पुष २०८० १६:४४
1.2k
Shares

काठमाडौं । भारतीय क्रिकेट कन्ट्रोल बोर्डले फेरि अन्तर्राष्ट्रिय क्रिकेटमा दादागिरी देखाउने प्रयास सुरु गरेको छ । पाकिस्तानले २०२५ च्याम्पियन्स ट्रफीको आयोजनाको अधिकार पाएको छ । त्यसको तयारी पनि तिब्र रुपमा भइरहेको छ । यही बीचमा भारतले पाकिस्तानमा हुने प्रतियोगितामा हलो अड्काउन खोजेको छ ।

हालै अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को दुबईको मुख्यालयमा बैठक बसेको छ । जसमा २०२५ को च्याम्पियन्स ट्रफी आयोजनाका लागि पीसीबीसँग सम्झौता पनि भएको छ । यस्तो अवस्थामा पाकिस्तानको होस्टिङ पक्का भएको छ । तर, भारतले हलो अड्काउने संकेत पनि देखिएको छ ।

एसिया कप २०२३ को आयोजना पनि पाकिस्तानसँग थियो । तर त्यसका लागि बीसीसीआईले आफ्नो टोली पाकिस्तान पठाउन अस्वीकार गरेको थियो। त्यसपछि पीसीबी हाइब्रिड मोडलमा एसिया कप आयोजना गर्न बाध्य भएको थियो ।

हाइब्रिड मोडल भनेको भारतको खेल अर्को देश (श्रीलंका) मा आयोजना गर्नुपर्थ्यो। त्यतिबेला एसिया कपका १३ खेलमध्ये ४ मात्र पाकिस्तानमा भएको थियो । फाइनल सहित ९ खेल श्रीलंकामा भएको थियो ।

पाकिस्तानी मिडिया रिपोर्टका अनुसार हालै पीसीबी अध्यक्ष जाका अशरफ र एमिरेट्स क्रिकेट बोर्ड (ईसीबी) का उपाध्यक्ष खालिद अल जोरानीबीच कुराकानी भएको थियो। यस क्रममा भारतीय टोलीले पाकिस्तान भ्रमण नगरे युएइमा च्याम्पियन्स ट्रफीका केही खेलहरू आयोजना गर्न सकिने पनि चर्चा भएको छ ।

मिडिया रिपोर्टका अनुसार अशरफ र खालिदबीचको भेटमा च्याम्पियन्स ट्रफीको खास उल्लेख गरिएको थिएन, तर पाकिस्तानले आयोजना गर्ने केही क्रिकेट प्रतियोगितामा युएईले सहयोग गर्ने निश्चित रूपमा छलफल भएको थियो ।

क्रिकेटपाकिस्तानको एक रिपोर्टका अनुसार यदि भारतले आफ्नो टोली पाकिस्तान भ्रमणमा नपठाउने हो भने त्यो अवस्थामा आईसीसीले आफैंले अतिरिक्त खर्च व्यहोर्नुपर्ने हुनसक्छ। च्याम्पियन्स ट्रफीका केही खेलहरू युएईमा आयोजना गर्नेबारे अझै पनि चर्को बहस भइरहेको छ ।

पीसीबीले विशेष गरी सुरक्षा मामिलाहरूमा कडा अडान लिएको छ र यदि कुनै टोलीले पाकिस्तान भ्रमण गर्न अस्वीकार गरेमा आईसीसीले निष्पक्ष निर्णय लिनुपर्नेमा जोड दिएको छ। अन्तर्राष्ट्रिय सङ्गठनले एकपक्षीय निर्णय लिनबाट जोगिनु पर्ने पाकिस्तानको अडान छ । आईसीसीले पनि यसलाई स्वीकार गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.