सुशासन र समृद्धिको क्षेत्रमा महत्वपूर्ण उपलब्धी : प्रधानमन्त्री

डिसी नेपाल
१ माघ २०८० १४:१२
44
Shares

अर्घाखाँची। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पछिल्लो कार्यकालमा सामाजिक न्याय, सुशासन र समृद्धिको क्षेत्रमा महत्वपूर्ण उपलब्धी भएको बताएका छन्।

सोमबार नेपाल पत्रकार महासंघ अर्घाखाँचीद्वारा सन्धिखर्कमा आयोजित अर्घाखाँची पर्यटन प्रवर्धन कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले आफ्नो एक बर्षमा देश र जनतासामु विद्यमान चुनौतीहरू सम्बोधन भएको र सामाजिक न्याय, सुशासन र समृद्धिको क्षेत्रमा महत्वपूर्ण उपलब्धीहरु भएको बताएका हुन्।

आफ्नो तेस्रो कार्यकालको पहिलो एक वर्षमा केही नयाँ मानक स्थापित भएकाले त्यसको आधारमा टेकेर दोस्रो वर्ष थप उपलब्धीमुलक बनाउने उनले बताए। प्रधानमन्त्री प्रचण्डले पछिल्लो एक वर्षमा अर्थतन्त्रको क्षेत्रमा राम्रो सुधार हुँदै गएको बताउँदै उद्योगी व्यवसायीलाई उत्साही भएर काम गर्न आग्रह गरे।

बैंकको ब्याजदरमा कटौती, सहकारी र लघुवित्तका समस्याको सम्बोधन, भुक्तानी सन्तुलन, विप्रेषणमा वृद्धिका साथै शिथिल भएको उद्योग-व्यवसाय क्षेत्र क्रमशः चलायमान हुन थालेको उनको भनाइ छ।

प्रधानमन्त्री प्रचण्डले सुशासनका क्षेत्रमा नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण, अवैध सुन तस्करी प्रकरण लगायतका अनियमितताको छानविन गरी कानुनी कार्वाही अगाडि बढाइएको जिकिर गरे।

त्यस्तै प्रधानमन्त्री प्रचण्डले अर्घाखाँचीको विकास र समृद्धिका निम्ति आफ्नो ठाउँबाट सम्भव योगदान गर्दै आएको बताए। जिल्लामा बढ्दै गएको बसाइसराई रोक्न र जिल्लामा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन कार्यक्रम आयोजना गरिएको पत्रकार महासंघ अर्घाखाँचीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *