राष्ट्रियसभा निर्वाचन : ग्रामथान गाउँपालिकाका अध्यक्ष उपचारका लागि अस्पताल भर्ना
काठमाडौं। राष्ट्रियसभाको निर्वाचन शुरु पूर्व कोशी प्रदेश मोरङ जिल्लाको ग्रामथान गाउँपालिकाका अध्यक्ष बेहोस भएपछि उपचारका लागि अस्पताल भर्ना भएका छन्। बुधबार साँझ साढे ७ बजेतिर ५६ वर्षीय जयप्रकाश गच्छदार थारु बेहोस भएर ढलेपछि तत्कालै उपचारका लागि अस्पताल भर्ना गरिएको थियो।
अध्यक्ष गच्छदार राष्ट्रियसभा निर्वाचनका मतदाता हुन्। निर्वाचनका लागि विराटनगरस्थित होटल स्टर्न स्टारमा नेपाली कांग्रेसले आयोजना गरेको छलफलपछि खाना खाने बेलामा गच्छदार अचानक बेहोस भएका थिए। त्यसपछि उपचारका लागि उनलाई स्थानीयपारस अस्पताल लगिएको थियो।
वडा प्रहरी कार्यालय विराटनगरका डीएसपी विजय श्रेष्ठ नेतृत्वको टोलीले उद्धार गरेर उनलाई अस्पताल पुर्याएको थियो। त्यहाँ सम्भव नभएपछि थप उपचारका लागि विराटनगरकै नोबेल शिक्षण अस्पताल लगिएको छ।
नोबेलको भेन्टिलेटरमा राखेर उपचार भइरहेको र अझैसम्म अचेत अवस्थामै रहेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद भट्टराईले जानकारी दिए। उनले अध्यक्ष गच्छदारको अवस्था गम्भीर रहेको बताए ।
उपचारमा संलग्न चिकित्सकले गच्छदारलाई उच्च रक्तचापका कारण समस्या भएको हुनसक्ने अनुमान गरेका छन्। उनको टाउकोमा रगत जमेको र शल्यक्रिया गर्नुपर्ने अवस्था आउनसक्ने जानकारी अस्पतालले परिवारलाई गराएको छ। राष्ट्रियसभा निर्वाचन आज हुँदैछ। गच्छदार नेपाली काँग्रेसबाट गाउँपालिका अध्यक्षमा निर्वाचित हुन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment