मदहोस आँखा

शंकरप्रसाद रिजाल
१३ माघ २०८० ७:१४
88
Shares

संसारलाई एकैचोटी पिउन सक्ने यी प्यासी र मदहोसी आँखा जे देख्यो उहीमा मन बस्ने यो बराबी आँखा नजाने यसले मानिसलार्ई कहाँ लगेर ठोक्काउने हो थाहा छैन। अर्काको आखामा आँखा जुधाई आफूलार्ई नै बिर्सने यो आँखा साच्चैमा एउटा मदहोश आँखा नै हुन्।

वास्तवमा भन्ने हो भने यो आँखा आफ्नो ज्यान भन्दा प्यारो छ किनकि यही मदहोस आँखाले मान्छे संसार हेर्छन्। कैयौं यी आँखाले अर्काको आँखा हेरीहेरी लठ्ठिएका पनि छन्। यही मस्त आँखाले मदिरा पिई आफूलार्ई नचाएको र छचल्किएको ती आँखाबाट पोखिएको अर्को मदिराले अर्काको आँखापनि लठ्ठिएको हामी पाउँछौं।

अत्यन्त सुन्दर ती नर्गिसी आँखा निद्राको बोझले झुकेका बेला झन् कति सुन्दर देखिन्छन् आँखै तिल्मिलाउने गरी। सारा संसारलार्ई नचाई नचाई हिँड्ने ती आँखा र चिम्ली मस्त ध्यान गर्दा परमात्माको दर्शन पाउने ती आँखा वास्तवमा मानिसका प्रिय अंग हुन् र दिव्य दृष्टि पनि हो।

तसर्थ जबसम्म आकाशमा चन्द्र सूर्यको उज्यालो रहिरहन्छ, तबसम्म यी मदहोश आँखामा उज्यालो छाइरहोस्। ज्योतिका ताराहरु चम्की रहुन्। आँखाका परेला बेलाबेलामा झिम्काउँदा पनि ज्योति रही नै रहोस्।

निद्राको गहिरो निन्द्रामा पनि ती आँखाहरु सधैं खुलिरहुन्। यो आँखा कसैको पनि बन्द नहोस्। आँखा खुलोस् र होस पनि सधैं खुलोस्। दृष्टिको बृष्टिमा हेर संसार कति रम्य छ र कति उल्लासमय छ।

तसर्थ छुट्ट्याउ यी आँखालार्ई, आजैदेखि बिबेकमा
लैजाउ यी आँखालार्ई आजैदेखि स्वकर्ममा
आँखाको ज्योति खुल्दा राम यहीँ रम्नेछन्
यही आँखाको ज्योति बढ्दा श्याम यहीँ नाच्नेछन्

तसर्थ आँखा छोपी नरोउ भन्छु रुनेलार्ई घरीघरी
देखिन्छ दिव्य संसार आँखा खोल्दा खोल्दा थरीथरी
आँखा मै सर्ब आख्यान, आँखा मै नयनामृत
आँखा मै मदहोशिता, आँखा मै समानता

रहिरहोस् यी आँखाको दृष्टि सधैं अजर अमर
बनिरहोस् यी आँखाको दृष्टि सधैं कुशल असर
आँखाको मोतीमा हेर धेरै मोह छचल्किने
आखाको ज्योतिमा हेर धेरै माया छ अल्झिने

हामी देख्छौं यै आँखाले सबैलार्ई सधैंभरी
हामी हेर्छौं यही आँखाले सबैलार्ई अघिसरी
आँखा आँखामा आँखा छन् चारैतिर वरिपरी
यही आँखा किन छोपिन्छ, अन्त्यमा कसैगरी

दृष्टि उघ्रिन्छ आँखामा आँखै बन्द भएपनि
तर न आँखा उघ्रिन्छ अन्त्यमा सारा शिर झुकेपनि
आँखैले गर्छ महायात्रा आखिर, आँखामा आँखा जुधेपनि
आखिर आँखाको दूर नानीमा छोडी सबै मरे सरी
आशाका तारका जीव छर्रा बनी उडेसरी


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *