एसिसी वुमन्स प्रिमियर कप : नेपालले पायो ९४ रनको लक्ष्य
काठमाडौं। एसिसी वुमन्स प्रिमियर कपअन्तर्गत नेपालले पहिलो खेलमा जितका लागि ९४ रनको लक्ष्य पाएको छ। नेपाललाई हङकङले उक्त लक्ष्य दिएको हो।
मलेसियाको सेलाङ्गुर टर्फ क्लबमा नेपाली टोलीकी कप्तान इन्दु बर्माले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिइन्। हङकङले निर्धारित २० ओभरको खेलमा आठ विकेट गुमाएर ९३ रन बनायो ।
हङकङका लागि कप्तान चान का यिङ क्यारीले सर्वाधिक २१ रन बनाइन्। उनले ३१ बल खेल्ने क्रममा तीन चौका प्रहार गरिन्। यस्तै मर्यम बिबीले १९, यास्मिन दस्वानीले १५ तथा नताशा माइल्सले ११ रन बनाइन्।
बलिङतर्फ नेपालकी पूजा महतो र रुविना क्षेत्रीले दुई दुई तथा कविता जोशी र सीता रानामगरले एक एक विकेट लिइन्। नेपाली टोलीमा इन्दू बर्मा (कप्तान), अप्सरी बेगम, डली भट्ट, कविता जोशी, कविता कुँवर, काजोल श्रेष्ठ, रुविना क्षेत्री, सीता रानामगर, सम्झना खड्का, पुजा महतो र रोमा थापा रहेका छन्।
जारी प्रतियोगितामा नेपाल समूह ‘डी’ मा रहेको छ। उक्त समूहमा हङकङ, भुटान र माल्दिभ्स पनि छन्। एसिसी वुमन्स प्रिमियर कपमा १६ देश सहभागी छन्। सहभागी टोलीलाई चार समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा कुवेत, म्यान्मार, सिङ्गापुर र थाइलैण्ड छन्। समूह ‘बी’ मा चीन, जापान, ओमान र युनाइटेड अरब इमिरेट्स (युएई) रहेका छन् । यस्तै समूह ‘सी’ मा बहराइन, इन्डोनेसिया, कलेसिया र कतार रहेका छन्।
हरेक समूहका शीर्ष दुई टोली क्वाटरफाइनलमा प्रवेश गर्ने छन्। फाइनल खेल्ने दुई टोलीले यसै वर्ष वुमन्स एसिया कप खेल्न पाउनेछन्। सेमिफाइनल पुग्ने चार टोली आगामी वर्ष एसीसी इमर्जिङ टिम्स एसिया कपमा सहभागी हुन पाउने छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment