कविता : धर्मकर्म र पाप
हे विश्वबन्धु सिक कर्म पाठ, अज्ञानले भो रिस राग आज
पलाउँदो यो मनको सुभाष, कहाँ गयो त्यो मनबाट आज।।
लाग्यो डढेलो मनमा अघोर, जलेर सारा मन भो कठोर
बली आकासमा आगो, धर्तीमा माटो पग्लियो।
हुरी हुत्तिइ आयो, पानीको बेग उर्लियो
पूर्णिमा रात औंसी भो, दिनमा सूर्य अस्तझै।
बर्सियो बालुवा उग्र, के भयो लौन धर्तीमा
निलो आकास भो रातो, सुक्यो धर्ती माटो भो खरानी।
आकास खस्दा मन चित्त के भो, पृथ्वी भास्सिँदा मनभित्र के भो
जे भएपनि मन भित्र नै भो।
पानी उठी दौडिन आज थाल्यो, सागरको लहर म भित्र आयो
इच्छा मरिगो कर्म ढलिगो, जलेर सारा सब मन खसी गो।
के निभ्छ आगो मनको दियालो, जलेर सारा सब पोल्न थाल्यो
यो विश्व आज किन भो अध्याँरो, कहाँ गयो त्यो मनको उज्यालो।
के देख्नु पर्याे यस्तो, पानीमा आगो सल्कियो
के लेख्नु पर्याे यस्तो भावना बिपरित भो।
फुट्यो पापको घैंटो धर्तीमा अब फैलियो
कलिको युग फैलियो तर्कियो धर्मको मति।
सारा मश्तिश्क सुकेझैं मनुष्य पल्टियो तब
उठी पो के त गर्ने हो छैन जीबनमा अब।
चुसीचाटी नपुगे टोकी, निल्ने सब दुधको थुन
मनुष्यको जुनी हेर, होइन पशुको दिन।
चुसौं रगत आउने भो, टोकेमा मासुको गरा
पल्टियो मासुका फाला, उल्टियो मनका जरा।
तसर्थ जुनी नै फेर, पापको कर्म बासना
धर्मैमा पुण्यको बास कर्मैमा छ आराधना।
पुण्य कर्म गरौँ सबले, गरौँ रक्षा स्वधर्मको
नराखौं मनमा भेद, पखालौं पाप कर्मको
नराखौं मनमा भेद,पखालौं पाप कर्मको।।
No ads found for this position




Facebook Comment