कोशी प्रदेश: क्रिकेट प्रतियोगिताको उपाधि आर्मीलाई

डिसी नेपाल
३ चैत २०८० १९:५२
20
Shares

बेलबारी। विराटनगरमा जारी कोशी प्रदेश टी–२० च्याम्पियन सिपको उपाधी त्रिभुवन आर्मी क्लबले हात पारेको छ।

आर्मीले रु पाँच लाखसहित ट्रफी हात पारेको छ। त्यसैगरी उपविजेता कर्णाली प्रदेशले रु तीन लाखमा चित्त बुझाएको छ। आज भएको खेलमा आर्मी क्लबले कर्णाली प्रदेशलाई नौ विकेटले पराजित गरेको छ। जारी सिजनमा तेस्रो पटक फाइनलमा प्रवेश गरेको आर्मीले पहिलो उपाधि चुमेको हो। यसअघि आर्मी क्लब प्रधानमन्त्री कपमा नेपाल पुलिस र केपी ओली कपमा मधेस प्रदेशसँग पराजित भएको थियो।

कोशी प्रदेश ट्रफीको पहिलो संस्करणको उपाधि हात पार्ने क्रममा टस हारेर आर्मीले फिल्डिङको निम्तो पाएको थियो। यस क्रममा कर्णाली प्रदेशले २० ओभरमा अल आउट हुँदै एक सय १० रनको योगफल तयार पारेको थियो। आक्रामक सुरूआत गरेको कर्णालीका लागि विपिन रावलले २७ र क्याप्टेन रविन्द्र शाहीले २१ रन बनाए। पहिलो विकेटमा कर्णालीले ३३ रनको साझेदारी गरेको थियो। दिनेश अधिकारीले १२ रन बनाए। कर्णालीलाई धरासायी बनाउने क्रममा आर्मीका त्रितराज दास, वसिर अहमद, सहाव आलम र सुमित श्रेष्ठले समान दुई/दुई विकेट लिए।

आर्मीले निर्धारित लक्ष्य १२ दशमलव दुई ओभरमा एक विकेटको नोक्सानीमा पूरा गरेको थियो। लक्ष्य पछ्याउने क्रममा आर्मीका ओपनर सन्तोष कार्की र इमरान शेखले २५ रनको साझेदारी गरेका थिए। सन्तोष २१ रनमा क्याच भएपछि मैदानमा प्रवेश गरेका त्रितराज दासले आक्रमक शैलीमा जित सुनिश्चित गरे।

आर्मीको जितमा शेखले ३० बलमा अविजित ३८ र त्रितराजले ३३ बलमा ५० रन बनाए। च्याम्पियनसिपमा पहिलो अर्धशतक बनाएका दासले दुई छक्का र पाँच चौका प्रहार गरेका थिए। च्याम्पियनसिपमा ‘प्लेयर अफ दि टुर्नामेन्ट’ र ‘प्लेयर अफ द फाइनल’को पुरस्कार आर्मीका दासले हासिल गरे।

विजेता टोलीलाई कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पुरस्कार वितरण गरेका थिए। गत फागुन २२ गतेबाट सुरू भएको प्रतियोगितामा तीन विभागीय र सात प्रदेशको सहभागिता रहेको आयोजक नेपाल क्रिकेट संघ मोरङका अध्यक्ष मोहम्मद साद कुरैसीले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *