वैशाख ३१ मा बालबालिकाका लागि ‘बृहत खोज र खोप अभियान’

डिसी नेपाल
१९ वैशाख २०८१ १३:३७
28
Shares

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित खोप लगाउन छुटेका बालबालिकालाई आगामी वैशाख ३१ गते खोप लगाउने भएको छ।

मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले नियमित खोप लगाउन छुटेका बालबालिकाका लागि ‘बृहत खोज र खोप अभियान’ सञ्चालन गरिने बताए। उनका अनुसार १५ महिनामा नियमित खोप लगाउन छुटेका पाँच वर्ष मुनिका बालबालिकालाई १३ प्रकारका खोप दिइने छ।

सरकारले रोग, अपांगता र मृत्युबाट बचाउनका लागि जन्मेदेखि पाँच वर्ष उमेर समूहका बाललालिकालाई विभिन्न १३ प्रकारका खोप निःशुल्क प्रदान गर्ने गर्दछ ।

नेपालमा अहिले पनि ८० प्रतिशत बालबालिकाले पूर्णमात्रा र २० प्रतिशत बालबालिकाले सबै खोप र चार प्रतिशत बालबालिकाले कुनै पनि खोप लगाएका छैनन्।

केही जिल्लामा खोप लगाउन छुटेका बच्चाको संख्या बढ्दै गई दादुरा रुवेलाको महामारीसमेत देखा परेकोले छुटेका बालबालिकालाई खोप दिन थालिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले नजिकैको स्वास्थ्य कार्यालयमा गई आफ्ना बालबालिकालाई छुटेका खोप लगाउन र छिमेकमा रहेका त्यस्ता बालबालिकालाई पनि खोपकेन्द्रसम्म जाने अवस्था बनाउनका लागि सहयोग गर्न अनुरोधसमेत गरेको छ।

पूर्णखोप नलगाउँदासम्म कोही पनि सुरक्षित नहुने भएकोले सबै बालबालिकालाई पूर्णखोप लगाउन आवश्यक रहेको मन्त्रालयको आग्रह छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *