यार्सा संकलनमा गएका दुईजनाको लेक लागेर मृत्यु, एक सिकिस्त
मुगु। यार्सागुम्बा टिप्न गएका दुईजनाको लेक लागेर मृत्यु भएको छ। पाटन ठूलो कोइकिमा लेक लागेर बिरामी परेपछि उपचारका लागि मुगु गाउँ ल्याइएका छायानाथ रारा नगरपालिका– १२ शोभा गाउँका २९ वर्षीय मानबहादुर बुढा र सोही नगरपालिकाको कम्फा गाउँका शोभान बुढाको मृत्यु भएको सशस्त्र प्रहरी जवान तिलक बढुवालले मुगु गाउबाट जानकारी दिएका हुन्।
जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले पनि यार्सा संकलनमा गएका दुई जनाको लेक लागेर मृत्यु भएको र एक जना सिकिस्त बिरामी भएका बताए। सिकिस्त बिरामी भएका कम्फा गाउँका राजबहादुर सावतलाई उपचारका निम्ति मुगुपाटनबाट मुगुगाउँतर्फ ल्याउँदै गरेको बताए।
गत वर्ष यार्सा टिप्न पाटन पुगेका तीन जनाको हिउँ पहिरोमा परेर र एक जनाको लडेर मृत्यु भएको थियो। मुगुका २४ भन्दाबढी क्षेत्रमा यार्सा संकलन गर्न मुगुमकार्मारोंग गाउँपालिकाले गत वैशाख २५ गते प्रवेश खुला गरेको हो।
No ads found for this position


डिसी नेपाल
Facebook Comment