पूर्व चिनियाँ नौसेना अधिकारीको ताइवानमा घुसपैठ, स्पीडबोट लिएर ताइपेई नजिक पुगे

डिसी नेपाल
३० जेठ २०८१ १६:४६
52
Shares

काठमाडौं । चिनियाँ नौसेनाका एक पूर्व अधिकारीले आइतबार ताइवानको क्षेत्रीय जलक्षेत्रमा घुसपैठ गरे। उनले आफ्नो स्पीडबोट सिधै राजधानी ताइपेई बाहिर एउटा घाटमा लगे।

चीनसँगको बारम्बार तनाव र उच्च सुरक्षा उपायहरूको बीचमा ताइवानका शीर्ष राजनीतिज्ञहरूले उनीहरूको क्षेत्रमा चिनियाँ व्यक्तिको घुसपैठको कडा आलोचना गरेका छन्। ताइवानमा प्रवेश गर्ने प्रयास गर्ने पूर्व चिनियाँ नौसेना अधिकारीले आफ्नो नाम रुआन खुलाएका छन्।

संदिग्ध चिनियाँ नागरिकले ताइपेई नजिकै तामसुई नदीमा प्रवेश गरेपछि आफ्नो स्पीडबोटलाई डुङ्गासँग ठक्कर दिएको ताइवान कोस्ट गार्डले जनाएको छ। रुआनले एक दिनअघि नै चीनको फुझोउबाट ताइवानको यात्रा सुरु गरेको बताए ।

ताइवान कोस्ट गार्डले उनको स्पीडबोटमा कुनै शंकास्पद वस्तु फेला पारेन। ताइवान कोस्ट गार्डका अनुसार ती व्यक्तिले आफूलाई चिनियाँ अधिकारीहरूले ‘अनुपयुक्त बयान’ गरेको भन्दै यातना दिएको र ताइवान भाग्न चाहेको बताए।

उनीमाथि अध्यागमन ऐन उल्लङ्घनलगायत ताइवानका विभिन्न कानुन उल्लंघन गरेको आरोप लगाइएको छ। ताइवानका रक्षामन्त्री वेलिंग्टन कुओले मंगलबार भने – स्पीडबोट मार्फत हाम्रो क्षेत्रमा घुसपैठ गर्ने पछाडि चीनको केही रणनीति हुनसक्ने सम्भावनालाई नकार्न सकिँदैन।

ताइपेईका मेयर हाउ यु-यीले यसलाई गम्भीर सुरक्षा उल्लङ्घन भने, विशेष गरी स्पीडबोटले घुसपैठ गरेको घाट ताइपेई शहरको डाउनटाउनबाट १० मिनेटको पैदल दूरीमा थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *