यस्तो छ मुगुको एकमात्र नगरपालिकाको नीति तथा कार्यक्रम

डिसी नेपाल
२२ साउन २०७६ १९:०१

मुगु। मुगु जिल्लाको एकमात्र नगरपालिका छायाँनाथ रारा नगरपालिकाले आफ्नो नीति तथा कार्यक्रम र बजेट बुधवार सार्वजनिक गरेको छ।

गत असार १० गते उद्घाटन भै ३१ गते समापन भएको छायाँनाथ रारा नगरपालिकाको पाँचौ नगरसभाले सर्वसम्मत पारित गरेको नीति तथा कार्यक्रम र बजेट बुधवार सार्वजनिक गरिएको हो।

नीति तथा कार्यक्रम नगर प्रमुख हरिजंग शाही र बजेट उपप्रमुख सुन्तला रोकायाले सार्वजनिक गरे। संविधानअनुसार प्रदान गरिएको सूचनाको हकअनुसार आमजनतालाई नगरसभाले पारित गरेका निर्णयहरु र नगरपालिकाका गतिविधि पारदर्शी हुन् भनेर नगरसभाले नीति तथा कार्यक्रम र बजेट आमजनता र सरोकारवालहरुको माझमा सार्वजनिक गरेको नगर प्रमुख शाहीले बताए।

नगरसभाबाट पारित भै साउन महिनाबाट कार्यान्वयनमा आएको छायाँनाथको आ.व २०७६/०७७को बजेट, कार्यक्रम पारदर्शी र गुणात्मक रुपमा कार्यान्वयन होस र कोहीकसैले बदमासी गर्न नपाओस भनेर सार्वजनिक गरिएको उपप्रमुख सुन्ताला रोकायाले बताइन्।

नेकपा मुगु जिल्ला कमिटी सदस्य सन्तोस मल्लले कार्यक्रम जनमुखी एका र सफल कार्यान्यनका लागि आफ्नो पार्टीको साथ रहने बताए। नेपाली काँगे्रस मुगुका उपसभापति खगेन्द्र बहादुर मल्लले कार्यक्रम, बजेट बाँडफाड राम्रो भएपनि कार्यान्वयनमा आफुलाई शंका लागेको बताए।

नगरको यो आबको कुल ५२ करोड बजेटमा सबैभन्दा बढी शिक्षामा र सबै भन्दा कम कृषिमा विनियोजन गरिएको छ।

बजेट वडा स्तरबाट छनौट गरिएर आएका योजना, नगरका गौरवका योजना नियमित र विगत बर्षमा नगरले अबलम्बन गर्दै आएका कार्यक्रममा विनियोजन गरिएको छ।

नगरपालिकाले नगर क्षेत्रमा विद्युत अनियमिताको समस्यालाई समाधान गर्न नगरपालिका र वैकल्पिक ऊर्जा प्रर्वधन केन्द्रको समन्वयमा यो आर्थिक बर्षबाट १ मेगावाट क्षमतााको विद्युतउ त्पादन गर्न २ करोड रकम छुटाएको छ भने मुगु जिल्लामा रहेको नेपाकै ठूलो र गहिरो ताल रारा हेर्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई जिल्ला सदरमुकाम गमगढीमा बसाउन र धार्मिक स्थल छायाँनाथको दर्शन गराउन गमगढी–बालै–राताचौर सडकलाई वहुवर्षीय योजना सडक बनाउन ५० लाख रकम विनियोजन गरिएको छ।

यस्तै मेयर स्वरोजगार कार्यक्रम, गरिवसंग मेयर कार्यक्रम, मेयर कप प्रतियोगिता, कवर्डहल निमार्ण, छायाँनाथ सभाहल निमार्ण, गमगढीमा मेयर पार्क निमार्ण, डम्पिङ्ग साईड निमाण, पत्रकार महासंघ भवन निर्माण, सडक बत्ती, गमगढी विपी मार्ग हुँदै मुल सडकसम्म सडक निमार्णलाई नगरपालिकाले गौरवका योजना भनी रकम विनियोजन गरेको छ।

नगरसभाले अनुमोदन गरेर कार्यविधि बनाई चालु अवस्थामा रहेका कार्यक्रमहरु एक छोरी एक खाता, एकल पुरुष प्रोत्साहन भत्ता, दुई सन्तान स्थायी बन्ध्याकरण गर्ने दम्पती प्रोत्साहन भत्ता, प्रारम्भिक बालविकास कक्षाा शिक्षक प्रोत्साहन भत्ता, स्वास्थ्य स्वयंसेविका संचार खर्च, नगर साक्षरता कार्यक्रम, विपन्न, दलित विद्यार्थी शैक्षिक सहयोग कार्यक्रमलाई निरन्तरता दिइएको छ।

राराको सल्लेरीमा सवारी साधन पार्किङ्ग स्थल निमार्ण, रारामा आउने पर्यटकका लागि फोहर संकलन झोला निमार्ण, स्वयमंसेविका प्रोत्साहन भत्ता, समुदाय सुरक्षा निकाय साझेदारी कार्यक्रम, कानुनी सहायता कक्ष, लोकसेवा तयारी कक्षा, जेष्ठ नागरिक सम्मान कार्यक्रम जस्ता नयाँ कार्यक्रम पनि समावेस गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *