लडाइँबाट भाग्दै गर्दा सुडानमा २५ जनाको डुबेर मृत्यु

डिसी नेपाल
२१ असार २०८१ ६:३५
40
Shares

काठमाडाैं। सुडानको दक्षिणपूर्वमा सुडानी सेना र अर्धसैनिक बलबीचको लडाइँबाट भाग्न खोज्ने करिब २५ जनाको डुबेर मृत्यु भएको प्रजातन्त्र समर्थक कार्यकर्ताहरूको एक समितिले बताएको छ।

“दक्षिणपूर्वी राज्य सेन्नारमा ब्लु नाइल नदी पार गर्ने क्रममा डुङ्गा डुब्दा करिब २५ नागरिकको मृत्यु भएको छ, मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका छन्”, स्थानीय प्रतिरोध समितिले विज्ञप्तिमा भनेको छ।

गत वर्ष सेना र अर्धसैनिक र्यापिड फोर्स (आरएसएफ) बीच युद्ध सुरु भएपछि प्रजातन्त्र समर्थक प्रदर्शनहरू आयोजना गर्ने र अग्रपङ्क्तिमा सहायता समन्वय गर्ने सुडानभरका सयौँ समितिमध्ये उक्त समिति एक थियो।

सेन्नारमार्फत आरएसएफको भर्खरैको प्रगतिबाट भाग्दै गर्दा भएको दुर्घटनामा ‘सम्पूर्ण परिवारको मृत्यु’ भएको समितिले बताएको छ। पाँच लाखभन्दा धेरैले युद्धबाट बच्नका लागि शरण लिएको सेन्नार राज्यको राजधानी सिन्जामा शनिबार सैन्य आधार कब्जा गरेको आरएसएफले घोषणा गरेको थियो।

प्रत्यक्षदर्शीहरूका अनुसार आरएसएफले छिमेकी गाउँहरूमा घुसपैठ गरेर त्यहाँका बासिन्दाहरूलाई नाइल नदीपारि काठको सानो डुंगाहरूमा भाग्न बाध्य बनाएको थियो। संयुक्त राष्ट्रसंघले सोमबार तीन दिनभित्र सिन्जाबाट मात्र कम्तिमा ५५ हजार मानिस भागेको बताएको थियो।

छिमेकी राज्य गेडारेफमा यसै साता करिब एक लाख २० हजार विस्थापित मानिस आएको स्थानीय अधिकारीहरूले बिहीबार अनुमान गरेका छन्। राज्यका स्वास्थ्यमन्त्री अहमद अल-अमिन एडमले ९० हजार विस्थापितहरूको आधिकारिकरूपमा दर्ता गरिएको बताए।

हाल सम्पूर्ण सुडानमा एक करोडभन्दा बढी मानिस विस्थापित भएका छन्। यसलाई राष्ट्रसंघले विश्वको सबैभन्दा खराब विस्थापन संकट भनेको छ।

सेना प्रमुख अब्देल फतह अल-बुरहानका बफादार सेना र उनका पूर्वडेपुटी मोहम्मद हमदान डागलोको नेतृत्वमा रहेको आरएसएफबीच लडाइँ सुरु भएपछि सन् २०२३ अप्रिलदेखि सडान युद्धको चपेटामा छ।

सुडानमा संयुक्त राज्य अमेरिकाका राजदूत टम पेरिएलोका अनुसार चार करोड ८० लाख जनसङ्ख्या भएको सुडानमा द्वन्द्वले हजारौँ मानिसको ज्यान लिएको छ। केही अनुमानअनुसार मृतकको सङ्ख्या एक लाख ५० हजारसम्म पुगेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *