कविता : सबै भन्दा मीठो सपना
सब भन्दा मीठो सपना कस्तो हुन्छ?
सायद यस्तो हुन्छ-
गोल्टिन धागोले आमाले बुनिदिनु भएको
किताब बोक्ने झोला हुन्छ
झोलाभित्र क्रमैसँग
हात छिराउँदा पालैपालो
निस्कन्छ पाँच रुपैयाँको नोट
निस्कन्छ पिलिक पिलिक बल्ने ‘पेन लाइट’
निस्कन्छ मयुरको एउटा प्वाँख
निस्कन्छ निरुता सिंहको पोस्टकार्ड
ऊ बालक हुँदा
– दिनभर मुठ्ठीमा कसेर राखेको पाँच रुपैयाँ
उसले कतै फ्याँकि पठाएको थियो
– काठमाडौबाट आपाले ल्याइदिएको
लोभलाग्दो मिनि टर्च लाइट
सिरान घरमा धामी बसेको हेर्न जाँदा
कसैले उडाइदिएको थियो
– गणित किताबको चेपमा
बच्चा काढ्ला कि भनेर राखेको
एक सग्लो मयुरको प्वाँख
बाटोमा कतै खसाइ पठाएको थियो
– क्लासको सबैभन्दा सुन्दर केटीले
नयाँ वर्षको शुभकामनामा पठाएको
निरुता सिंहको एउटा पोस्टकार्ड
इगल कापीसँगै कतै हराएको थियो
हो,
हराएका ती जम्मै सामानहरु
अचानक एक दिन ,एकै पटक
एक एक गरेर भेटिएको
माथिको रोमाञ्चकारी सपना
जिन्दगीको तीसौं वसन्तहरुपछि पनि
उसलाई
जति पटक देख्यो
उति पटक मीठो लाग्छ
सायद सबभन्दा मीठो सपना
यस्तै केही हुन्छ।
No ads found for this position


Facebook Comment