शंकरप्रसाद रिजालका तीन कविता

डिसी नेपाल
१९ साउन २०८१ ६:४०
112
Shares

दोषी आँखा

आँखाको दाहिने दृष्टिमा हेर, संसारै कति रम्य छ
यही आँखाको आँसुमा हेर, संसारै कति दुःखी छ

राम्रो दृष्टिमा सबको, सोच ठूलो अदम्य छ
नराम्रो दृष्टिमा फेरि, त्यही सोच गरीब छ

हेरौँ हाम्रा यी आँखाले, सबैतिर वरिपरी
हाँसेका छन् सबै जाति, हा!हा! गरी घरिघरी

त्यही आँखाले अरु देख्छ, दुःखी गरीब र निर्धन
रोएका छन् दिनरात निमोठी निमोठीकन गर्धन

कोही धनमा पौडेका छन्, कोहीको खोजी रोटीमा
कोही बासमा दौडेका छन्, कोही एक धोतीमा

समयको चक्रमा यस्तो, जाँतो घुमी रहन्छ नै
यही समयको चक्रमा फेरि, भुलेका छन् सबै सधैं

हाँसोमा हाँस्ने कस्ता, रुने छैनन् कहीँ कतै
रुने हाँस्ने होइनन्, रोएका छन् जताततै

चश्मा लगाई हेर्दामा, उज्यालो रात भेटिने
उही चश्मा फेर्दामा, हरिया सब देखिने

बिपना सपना जस्तो, तर्केर दिन बित्ने
सपना बिपना जस्तो, निद्रामा सब झुलन

माया, विश्वाश जस्तोले, म परेँ रनभुल्लमा
के देखनु पर्यो मैले, आजको यो संसारमा

माया भन्नु केही छैन, सपना सरी भो सबै
विश्वास सबैको गर्दा, धोका मायासरि भो दुवै

सृष्टिमा छैन है दोष, दृष्टिको दोष हो सब
दृष्टिको दोष हुँदामा, निभ्छ दियो सबैतिर

आँखामा आँसु उम्लिन्छ, नसोचौं नमिठो कुरा
त्यही आँखामा मोती बर्सिन्छ, सोचिए मिठा कुरा

आँखा दोषी हुँदै होइन, दृष्टिको सोचमात्र हो
दृष्टिको सत्य सत्तामा, नासिने सब झुठ हो

राजतन्त्रको अवसान र गणतन्त्रको परिणाम

झुक्यो नेपालको झण्डा, राजा दरबारमा ढले
हिउँ हिमालमा पग्लियो, व्यवस्था भिरमा खस्यो

राजतन्त्र ढल्यो देशमा, राजाहीन भए सबै
फर्किन्न फेरि फर्किन्न, राजा अब कसैगरी

राजनीति बन्यो सुस्त, गणतन्त्र नेपालमा
भ्रष्टाचार बढ्यो देशमा, सोझा मरे अकालमा

उद्योग देशका बेचे, उदारी करणको नाममा
नेतासबै पछि लागे ठूलो ब्यापारी काममा

पैसाको बग्यो खोलो निर्माण बेकारमा
आज बनी भोलि भत्के सारा जीर्ण अवस्थामा

नेता बने अहंकारी पैसाको लोभमा फसी
कार्यकर्ता दूराचारी बने दलालीतन्त्रमा फसी

आयात बन्यो देशमा बिदेशी पनि झस्किने
अर्थतन्त्र भयो त्यसमा दिलैदेखि रुवाउने

धर्म थियो एउटा हिन्दु त्यो पनि मासिइकन
सट्टा त्यसमा अर्को निरपेक्ष बनिकन

सारा संस्था बन्यो भ्रष्ट, नियम सबै मिचिमिची
छैन केही काम कसैको सोझा माथि थिचीथिची

ठूलो रगतको खोलोबाट, गणतन्त्रको पर्दा खुल्यो
त्यही गणतन्त्र आज, देशमा घाँडो बनी चल्यो

बन्यो देशमा बिधान पाँच छ र सातपटक
बजाई डमरु मादल देखाई जादुको चटक

सारा नेता बने लोभी, पाखण्डी र अविवेकी
राजनीति भयो देशको, बिश्व हसाउँने धिमही

हुँदैन अब यस्तो पाराले, देश बन्दैन केही गरी
खोजेको देशले मान्छे हैन, खोजेको बिचार सही

विश्वको सुन्दर नेपाल, आज रोइरहेछ धरधरी
आँखा आँखा भरी आँसु, किन आउँछ यसरी

देशको आँसु पुस्दैमा म पुगें बृद्ध उमेरमा
अबकति पुछी बसौं फेरि यो आँसु अन्धेरमा

नेताको भेषमा आउ, नयाँ नेता बनिकन
बनाउँ देश नेपाल, नयाँ शिरा रचिकन

बिबाह महोत्सब

बधाई छ दुलहा दुलैलाई बिबाहको उत्सवमा
मिलोस् मन दुबैको जीवन रहोस् सुखमयमा

दुईको एक होस् बालक भरियोस् गर्भ उत्तम
सुखी रहोस् मन दुबैको रहोस् उत्तम जीवन

चाँदीको सितारामा चम्केकी ती चमचम
कोही जली मरेका छन् त कोही रमरम

ईश्वरले ती मायालाई सधैं उर्बर बनाउन
कोठा भरी चित्र बिचित्रको फोटा सजाउन

बलोस् धपधप श्री तिनको यश फैलियोस जताततै
टुसाओस् तीनमा प्रेमको आँकुर दुखीमाथि दया रहोस्

सारा धर्तीमा तिनको माया गाढा बनी रहीरहोस्
मायाको गाँठोमा उनको माया सधैं रहीरहोस्

लम्बियोस् बर्ष उमेरको सदा सुखी बनी रहोस्
संसारमा उनको प्रेम सदा अमर भइरहोस्

उनको जीवनमा हरपल माया सधैं जागिरहोस्
प्रकाश बालकको नाम राखी भर्खरको प्रभातमा

बत्ती दियोको सधैं बलिरहोस् आनन्दको रातमा
बत्ती दियोको सधैं बलिरहोस् आनन्दको रातमा


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *